close

हराएको ब्लुबक तथा लाइसेन्सका लागि अब अनलाइनबाटै सिफारिस लिन सकिने

टेकपाना टेकपाना

पुस २१, २०७९ १०:१०

हराएको ब्लुबक तथा लाइसेन्सका लागि अब अनलाइनबाटै सिफारिस लिन सकिने

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिँदै आएको सवारीसाधनको कागजपत्रको प्रतिलिपि सिफारिस अब अनलाइनमार्फत पाउन सकिने भएको छ । कार्यालयले सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै अङ्ग्रेजी नयाँ वर्ष २०२३ बाट यो सेवा सञ्चालनमा ल्याएको हो ।

यसअन्तर्गत सवारी चालक अनुमतिपत्र (लाइसेन्स), सवारी दर्ता किताब (ब्लु बुक) र सवारी इजाजतपत्र हराएमा सेवाग्राहीले ट्राफिक प्रहरीको आधिकारिक वेबसाइटमार्फत सम्बन्धित व्यक्तिको परिचयपत्रको प्रतिलिपिसहित अनलाइन फारम भर्नुपर्ने हुन्छ ।

अनलाइन फारम भरेको ७२ घण्टापछि अनलाइनमार्फत नै हराएको कागजपत्रको सिफारिस उपलब्ध गराइने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । प्रविधिको उच्चतम प्रयोग गरी सेवाग्राहीलाई सहज सेवा, समयको बचत र स्मार्ट ट्राफिक सेवा प्रदान गर्ने उद्देश्यले यो सुविधा लागू गरिएको महाशाखाको भनाइ छ ।

पछिल्लो अध्यावधिक: पुस २१, २०७९ १०:१४