close

विदेशबाट उपहार पठाएको प्रलोभन देखाएर ठगी गर्ने २ जना पक्राउ, यस्तो थियो धन्दा

टेकपाना टेकपाना

पुस २४, २०७९ २०:५४

विदेशबाट उपहार पठाएको प्रलोभन देखाएर ठगी गर्ने २ जना पक्राउ, यस्तो थियो धन्दा

काठमाडौं । डर त्रास देखाएर अनलाइन ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्जिलिङका ४० वर्षीय मोहम्मद हाकिम र मेचीनगर झापा वडा नं. ८ बस्ने ३७ वर्षीया बिममाया मगर रहेका छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा दुई जना मिलेर १९ जनाभन्दा बढीलाई ठगी गरेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरोका अनुसार अनलाइन ठगीमा संलग्न हाकिम पीडितलाई लक्षित गरेर आफू सिरियामा कार्यरत आर्मी भएको बताउँथे ।

आफूसँग धेरै अमेरिकन डलर छ भन्दै प्रमाण स्वरूप फोटो पठाएर पीडितलाई प्रलोभनमा पार्थे । "उपहार पठाइ दिएको छु," कतिपय पीडितलाई प्रलोभनमा पार्न हाकिम मेसेज लेख्थे, "एक दुई दिनपछि आइपुग्छ । रिसिभ गर्नु होला ।"

पीडितलाई उपहार पठाएको भान पार्न उनले भर्पाई समेत पठाउने गरेको प्रहरीले जनाएको छ । पीडितले आफूलाई त्यस्तो पैसा आवश्यक नभएको भन्दै जवाफ दिँदा हाकिम विभिन्न ठगी कार्यमा फोटो दुरुपयोग गरिदिने धम्की दिन्थे ।

यसरी पीडितलाई डर देखाइसकेपछि उनको ठगी धन्दा सुरु हुन्थ्यो । "पीडितले मलाई तपाईँको रकम आवश्यक छैन भनी जवाफ फर्काउँदा उल्टै तपाईँलाई इन्टरनेसनल मनिटरी फन्ड (आईएमएफ) को फन्ड अप्रुभल सर्टिफिकेटमा फोटो दुरुपयोग गरी मनी लाउन्डरिङ गरेको केसमा फसाएको जवाफ फर्काउँथे," प्रहरीले भनेको छ ।

"यदि उक्त केसबाट छुटकारा पाउन चाहनु हुन्छ भने तपाईँको ह्वाट्सएपमा आएको बैंक खातामा रकम जम्मा गरी दिनु भनि डर त्रासमा पार्थे ।" यही बैंक अकाउन्टमा जोडिन्थिन बिममाया मगर ।

उनी हाकिमलाई आफ्नो नामको बैंक अकाउन्ट पठाउँथिन् । हाकिम त्यही बैंक अकाउन्टमा पीडितलाई पठाउन लगाउँथे । त्यसपछि आफ्नो बैंक अकाउन्टमा आएको पैसाबाट मगर केही रकम आफूसँग राखेर बाँकी हाकिमलाई पठाउने गर्थिन् । 

साइबर ब्युरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक पशुपति कुमार रायले पीडक दुवै जना सामाजिक सञ्जालबाट जोडिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

उनले भने, "महिलाले आफ्नै बैंक अकाउन्ट दिएर संलग्न भएको पाइएको छ । अहिलेसम्म १९ जना बढीलाई ठगी गरेको देखिन्छ । यस विषयमा अनुसन्धान भइरहेको छ ।"

हाकिम र मगरमाथि विद्युतीय माध्यम सम्बद्ध ठगी, अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: पुस २४, २०७९ २०:५५