close

बालेन भन्छन्: पब्जीमा ३ करोड जितेपछि रुटिने जिस्किन थाल्यो, इन्कम ट्याक्स चाहिँ तिर्नु है

टेकपाना टेकपाना

पुस २५, २०७९ २१:४४

बालेन भन्छन्: पब्जीमा ३ करोड जितेपछि रुटिने जिस्किन थाल्यो, इन्कम ट्याक्स चाहिँ तिर्नु है

काठमाडौं । आइतबार अनलाइन मोबाइल गेम पब्जीको विश्वकप अर्थात् पीएमजीसी सम्पन्न भएको छ । जसमा नेपाली टिम डीआरएस गेमिङ उपविजेता बन्न सफल भयो । इन्डोनेसियाको जकार्तामा सम्पन्न फाइनल खेलमा सहभागी नेपाली टिमलाई समर्थन गर्न काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह त्यहीँ पुगेका थिए ।

नेपाली टिम डीआरएस गेमिङलाई देश-विदेशबाट बधाई आइरहेका बेला अभिनेत्री आँचल शर्माले फेसबुक पेज 'रुटिन अफ नेपाल बन्द'को पोस्ट शेयर गर्दै डीआरएसलाई बधाइ दिइन् । यसअघि कोभिड कहरमा पब्जीभन्दा टिकटक राम्रो भनेकै कारण आँचल ट्रोलको शिकार भएकी थिइन् ।

अहिले भने पब्जीमा ऐतिहासिक जित निकालेको डीआरएसको फोटो शेयर गर्दै उनले बधाइ दिइन् । रूटिन अफ नेपाल बन्दले शर्माको पोस्टको स्क्रिनशट राख्दै 'अन्ततः, हाम्री अभिनेत्री आँचल शर्माले पब्जी मोबाइललाई अप्रुभ गरेकी छिन्' भन्दै स्टाटस राख्यो ।

सोही पोस्टमा कमेन्ट गर्दै बालेन लेख्छन्, ''तीन करोड जितेपछि रुटिने पनि जिस्किन थाल्यो । बि सिरियस मिस्टर रुटिने, इन्कम ट्याक्स चाहिँ तिर्नुपर्छ ।''

रूटिन अफ नेपाल बन्दका एडमिन एवं संस्थापक भिक्टर पौडेल २०७७ चैतमा डीआरएस गेमिङको लगानीकर्ताका रूपमा जाेडिएका थिए । यसपछि डीआरएस कानूनी रूपमा दर्ता हुने नेपालकै पहिलो पब्जी टिम बनेको थियो ।

पछिल्लो अध्यावधिक: पुस २५, २०७९ २१:५४