close

भारतको यूपीआई नेपाल ल्याउनुहोस्, डिजिटल भुक्तानीमा कमिसन लाग्दैनः अश्नीर ग्रोभर

टेकपाना टेकपाना

पुस २७, २०७९ १७:१

भारतको यूपीआई नेपाल ल्याउनुहोस्, डिजिटल भुक्तानीमा कमिसन लाग्दैनः अश्नीर ग्रोभर

काठमाडौं । भारत पेका सहसंस्थापक तथा पूर्व शार्क (चर्चित रियालिटी शो शार्क ट्याङ्क इन्डियाका जज) अश्नीर ग्रोभरले डिजिटल भुक्तानी गर्दा ग्राहकले कमिसनबापत शुल्क तिर्नु नपर्ने भारतको यूपीआई सिस्टम नेपाल भित्र्याउन सुझाव दिएका छन् ।

मङ्गलबार काठमाडौंमा आयोजित पीएसपी समिट २०२३ मा प्रमुख वक्ताको रूपमा सहभागी ग्रोभरले यूपीआई नेपाल ल्याउन एनपीसीआई (नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया) सँग कुरा गर्न सल्लाह दिएका हुन् । 

आर्किटेक्चर विकास गर्ने र त्यसलाई स्थायित्व दिने कार्यले निकै समय लिने भन्दै ग्रोभरले भारतको यूपीआई आर्किटेक्चरको चर्चा गरे । उनका अनुसार भारत सरकार इच्छुक अन्य देशलाई आफ्नो यूपीआई (युनिफाइड पेमेन्ट इन्टरफेस) सिस्टम उपलब्ध गराउन चाहिरहेको छ ।

“एनपीसीआईलाई यूपीआई आर्किटेक्चर अन्य देशमा निर्यात गर्ने म्यान्डेट पनि छ,” उनले भने, “केही देशहरूले त एनपीसीआईसँग सहकार्य गर्न थालिसकेका पनि छन् । यस्तोमा म तपाईँहरूलाई एनपीसीआईसँग कुरा गर्न र यूपीआई नेपाल ल्याउन सल्लाह दिन चाहन्छु ।”

यूपीआई नेपाल ल्याउँदा रेडिमेड (तम्तयार) आर्किटेक्चर प्राप्त हुने र ग्राहक तथा मर्चेन्ट विस्तार गर्ने कार्यमा केन्द्रित भए पुग्ने उनको भनाई थियो । 

“भारत, नेपाल जस्ता देशमा मानिसहरूले डिजिटल भुक्तानीको सन्दर्भमा उपभोक्ताले आफ्नो पैसा छुट्टै वालेट खातामा रहनु भन्दा बैंक खातामै रहनुमा सुरक्षित ठान्छन्,” पहिलो पटक नेपाल आएका ग्रोभरले भने ।

त्यस्तै खुद्रा व्यवसायमा नाफा (मार्जिन) एकदमै  थोरै हुने भएकाले कमिसन तिर्नुपर्ने डिजिटल भुक्तानी सर्वस्वीकार्य हुन नसक्ने तर्क समेत ग्रोभरको थियो । “ग्राहकले डिजिटल भुक्तानीका लागि कमिसन तिर्नुभन्दा नगद नै रोज्छ,” ग्रोभरले भने । 

भारतमा आफूहरूले मर्चेन्ट र ग्राहक कसैलाई पनि शुल्क नलिने मोडालिटीमा भुक्तानी सेवालाई नयाँ स्तरमा लगेको अनुभव उनले सुनाए ।

"यदि तपाईँले कुनै पसलेलाई डिजिटल माध्यमबाट एक हजार रुपैयाँ तिर्नु हुन्छ भने उसले पनि एक हजार रुपैयाँ नै पाउँछ । भारतको भुक्तानी प्रणाली नगद कारोबारसँग एकदमै नजिक हुनुको त्यो एउटा कारण हो । नगद कारोबारमा पनि यदि तपाईँले कसैलाई हजार रुपैयाँको नोट दिनु हुन्छ भने अर्को व्यक्तिले हजार रुपैयाँ नै पाउँछ । यस्तोमा दुई रुपैयाँ वा २० रुपैयाँ अर्को कुनै तेस्रो पक्षलाई तिर्नु पर्दैन । यो नै भारतमा विश्वस्तरको भुक्तानी प्रणाली तयार हुनुको एउटा कारण हो ।"

नेपाल, भारत, पाकिस्तान, बङ्ग्लादेशको बजार सांस्कृतिक रूपमा समान प्रकारको रहेको भन्दै ग्रोभरले रिटेल व्यवसाय अव्यवस्थित किसिमको रहेको बताए ।

"म नेपाल आउँदा सडकको दुवैतर्फ पसलहरू देखेँ । भारतका हरेकजसो सहरमा पनि ठीक यस्तै अवस्था देखिन्छ । भुईँतल्लामा जहिल्यै पसल राखिएको हुन्छ । तर अमेरिका जस्तो देशमा हेर्ने हो भने रिटेल (खुद्रा) व्यवसाय व्यवस्थित प्रकारले  सञ्चालित हुन्छन् ।"

उदाहरण दिँदै उनले सुनाए, "तपाईँ दुई तीन हप्तामा कार चलाएर वालमार्ट जानुहुन्छ । त्यहाँबाट तपाईँले ग्रोसरीदेखि सबै प्रकारका सामानहरू किनेर ल्याउनु हुन्छ । तर हाम्रो यस क्षेत्रमा दैनिक जसो पसल जानुपर्ने किसिमको छ । तपाईँ जहाँ हुनुहुन्छ, त्यहीँ स्थानीय स्तरमै अनेकौँ पसलहरू हुन्छन् । यसरी खुद्रा व्यवसायले धेरैलाई रोजगारी पनि दिएको छ । यस्तोमा रिटेल व्यवसायमा त्यति धेरै नाफा मार्जिन हुँदैन ।"

मुस्किलसँग १५ प्रतिशत मार्जिन राखेर सञ्चालित मर्चेन्टहरूले अनलाइन भुक्तानीका लागि दुई प्रतिशत कमिसन तिर्नु भन्दा नगद लिन रूचाउने अश्नीरको बुझाई छ । “त्यसैले म भुक्तानी कार्यबाट आम्दानी गर्न सकिन्छ भन्ने कुरामा मलाई विश्वास छैन,” अश्नीरले भने, “यस्तोमा एउटा भुक्तानी कम्पनीले अन्य तौरतरिकाबाट आम्दानीको बाटो खोज्नुपर्ने हुन्छ ।”

अश्नीरले सह-स्थापना गरेको भारत-पेले भुक्तानी निःशुल्क गरी मर्चेन्टहरूलाई ऋण दिने उपाय ल्याएको थियो । यसरी ऋण दिएर ब्याजमा आम्दानी गरेको भारत पे स्थापनाको छोटो समयमै एक अर्ब अमेरिकी डलर मूल्यको कम्पनी बन्न सफल भएको थियो । 

पछिल्लो अध्यावधिक: पुस २७, २०७९ १७:१