close

भोलिदेखि नेपाली बजारमा वनप्लस टेन टी, यस्ता छन् मुख्य फिचर

टेकपाना टेकपाना

पुस २८, २०७९ ९:२५

भोलिदेखि नेपाली बजारमा वनप्लस टेन टी, यस्ता छन् मुख्य फिचर

काठमाडौं । नेपाली बजारमा वनप्लसले भोलि शुक्रबार 'वनप्लस टेन टी' (Oneplus 10T) सार्वजनिक गर्दैछ । विश्वबजारमा सन्तोषजनक व्यापार गरेको यो मोडेललाई कम्पनीले २०२२ को फ्ल्यागशिप फोनका रुपमा प्रचार गरेको थियो ।

नेपालमा महँगा फोनमाथिको प्रतिबन्ध हटेसँगै 'वनप्लस टेन टी'  भित्रिन लाग्दा यसका महत्त्वपूर्ण फिचरमा धेरैको ध्यान गएको छ ।

यो फोनको समग्र डिजाइन वनप्लस टेन प्रो जस्तै रहेको छ, जसको पछाडि भागमा ठूलो आयातकार क्यामेरा बम्प राखिएको छ । तर आन्तरिक रूपमा भने यो नयाँ फोनमा अनेकौँ अपग्रेडहरू पाउन सकिन्छ । जसमा सबैभन्दा रोचक विषय यसको चार्जिङ प्रविधि हो ।

यो फोनमा ४८०० एमएएच क्षमताकाे ब्याट्री दिइएकाे छ, जसअन्तर्गत १५० वाटको फास्ट चार्जिङबाट १९ मिनेटमै फुल चार्ज हुने कम्पनीको दाबी छ । वनप्लस टेन टीमा क्वालकमको स्न्यापड्रागन ८ प्लस जेन वान चिपसेट राखिएको छ । जुन ब्याकग्राउन्डमा ३५ ओटा एप्लिकेसन सञ्चालनका लागि पर्याप्त हुने कम्पनीले जनाएको छ ।

वनप्लसका अनुसार यसमा स्मार्टफोन बजारमै सबैभन्दा ठूलो र आधुनिक कुलिङ प्रविधि राखिएको छ, जसले गर्दा फोनमा हरेक चिज सहज तरिकाले चलाउन सकिनेछ । फोनको अगाडि भागमा ६.७ इञ्चको ओलेड डिस्प्ले राखिएको छ । जसले ९० हर्ज देखि १२० हर्जसम्मको रिफ्रेश रेटमा डाइनामिक किसिमले व्यवस्थापन गर्दछ ।

फोनको पछाडि भागमा ५० मेगापिक्सेलको मेन क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा दिइएको छ । त्यसैगरी फोनको अगाडितर्फ डिस्प्लेको माथि बीचतिर १६ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ ।

नेपाली बजारमा १६ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुने यो स्मार्टफोनको मूल्य एक लाख १४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: पुस २८, २०७९ ९:२९