close

टेलिकमले बाँड्यो प्रति शेयर ४० रुपैयाँ नगद लाभांश

टेकपाना टेकपाना

पुस २८, २०७९ १५:३९

टेलिकमले बाँड्यो प्रति शेयर ४० रुपैयाँ नगद लाभांश

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को पन्ध्रौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार राजधानीमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७८-७९ को मुनाफा रकम मध्येबाट प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

साधारणसभाले पारित गरे बमोजिमको लाभांश रकम बिहीबारदेखि नै एनएमबि बैंकमार्फत सर्वसाधारण शेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था गरिएको कम्पनीका सूचना अधिकारी शोभन अधिकारीले जानकारी दिए । 

९१ प्रतिशत बढी शेयरधनीको उपस्थिति रहेको साधारणसभाले आर्थिक वर्ष २०७८-७९ को लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८-७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७९-८० को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड अकाउन्टेन्ट महेशकुमार गुरागाईं र चार्टर्ड अकाउन्टेन्ट पियुष आनन्दलाई लेखापरीक्षक नियुक्त गरेकाे छ ।

पछिल्लो अध्यावधिक: पुस २८, २०७९ १६:३५