close

नेपाली बजारमा आउँदैछन् सामसङका यी फ्ल्यागशिप फोन

टेकपाना टेकपाना

पुस २९, २०७९ ११:५४

नेपाली बजारमा आउँदैछन् सामसङका यी फ्ल्यागशिप फोन

काठमाडौं । नेपाली बजारमा सामसङका नयाँ स्मार्टफोन भित्रिने भएका छन् । कम्पनीले यही जनवरीको अन्त्यसम्ममा विश्वबजारमा चर्चा कमाइसकेका फ्ल्यागशिप स्मार्टफोनहरू उपलब्ध गराउन लागेको हो । यसअन्तर्गत सामसङ ग्यालेक्सी ए७३, सामसङ ग्यालेक्सी एस२० सिरिज, सामसङ ग्यालेक्सी जेड फोल्ड फाेर र सामसङ ग्यालेक्सी जेड फ्लिप फोर रहेका छन् ।

सामसङ ग्यालेक्सी ए७३ फाइभजी फोन ८ जीबी र्‍याम २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । सुपर एमोलेड प्लस डिस्प्ले भएको फोन एन्ड्रोइड १३ मा आधारित छ भने वनयूआई फाइभद्वारा सञ्चालित छ ।

यस मोडेलमा क्वालकमको एसएम ७३२५ स्न्यापड्रागन ७७८जी (Qualcomm SM7325 Snapdragon 778G 5G (6 nm) चिपसेट प्रयोग गरिएको छ । १०८ मेगापिक्सेलको मुख्य क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा, ५ मेगापिक्सेलको म्याक्रो र ५ मेगपिक्सेलको डेफ्थ सेन्सर रहेको फोनमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

त्यस्तै ५००० एमएएच ब्याट्री क्षमताका भएको फोनमा २५ वाटको चार्जर पाउन सकिन्छ । नेपाली बजारमा यो फोन ७५ हजार ९९९ रुपैयाँमा उपलब्ध हुने अनुमान गरिएकाे छ ।

त्यस्तै कम्पनीले ल्याउन लागेको अर्को सिरिज हो, एस२२ । सामसङका अनुसार यो सिरिज अल्ट्रा र बेस मोडेलमा उपलब्ध हुनेछ । ६.१ ईन्च डाइनामिक एमोलेड डिस्प्ले रहेको फाेनमा क्वालकमको एसएम ८४५० स्न्यापड्रागन ८ जेन वान (SM8450 Snapdragon 8 Gen 1)  चिपसेट प्रयोग गरिएको छ ।

५० मेगापिक्सेलको मुख्य क्यामेरा, १० मेगापिक्सेलको टेलिफोटो र १२ मेगापिक्सेलको अल्ट्रावाइड सेन्सर रहेको फोनमा १० मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएकाे छ ।

अल्ट्रा र बेस मोडेलमा नेपाल आउन लागेको बताइए पनि र्‍याम तथा स्टोरेज भेरियन्टबारे कम्पनीले केही खुलाएको छैन ।

यसैगरी कम्पनीले भित्र्याउन लागेको अर्काे फ्ल्यागशिप फोन हो, सामसङ ग्यालेक्सी जेड फोल्ड फाेर । यो फाेल्डेबल फोन अन्तर्राष्ट्रिय बजारमा गत अगस्टमा सार्वजनिक भएको थियो । ७.६ ईन्चकाे मुख्य डिस्प्ले भएको फाेनमा फोल्डेबल डाइनामिक एमोलेड डिस्प्ले प्रयोग गरिएको छ ।

क्वालकम एसएम८४७५ स्न्यापड्रागन ८ प्लस जेन चिपसेटमा आधारित फोन वनयूआई फाइभमा उपलब्ध हुनेछ ।  यो फाेनका लागि पनि कम्पनीले र्‍याम भेरियन्ट र मूल्य खुलाएको छैन ।

५० मेगापिक्सेलको मुख्य क्यामेरा, १० मेगापिक्सेलको टेलिफोटो र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा रहेको फोनमा १० मेगापिक्सेल र ४ मेगापिक्सेलका दुई ओटा सेल्फी क्यामेरा समावेश छ । ४४०० एमएएच ब्याट्री क्षमता भएको फोनमा २५ वाटको चार्जर उपलब्ध गराइएको छ, जसले आधा घण्टामै फोन फुल चार्ज गर्ने कम्पनीको दाबी छ ।

त्यस्तै यो फोनले १५ वाटको वायरलेस चार्जर र ४.५ वाटको रिभर्स वायरलेस चार्जर सपोर्ट गर्ने बताइएको छ ।

र, कम्पनीले नेपाल भित्र्याउन लागेको अर्को फ्ल्यागशिप फोन हो, सामसङ ग्यालेक्सी जेड फ्लिप फोर । ६.७ ईन्च फोल्डेबल डाइनामिक एमोलेड डिस्प्ले भएको यो फोनको सुरक्षाका लागि सुपर एमोलेड गोरिल्ला ग्लास उपलब्ध छ ।

क्वालकम एसएम८४७५ स्न्यापड्रागन ८ प्लस जेन चिपसेटद्वारा सञ्चालित फोन एन्ड्रोइड १२ र वन यूआई फाइभमा आधारित छ । १२ मेगापिक्सेलको वाइड सेन्सर र १२ मेगापिक्सेलको अल्ट्रावाइड सेन्सर रहेको यो फोनमा १० मेगापिक्सेलको सेल्फी क्यामेरा समावेश छ ।

फोनमा ३७०० एमएएच क्षमताको ब्याट्री उपलब्ध गराइएको छ, जसलाई चार्ज गर्न कम्पनीले २५ वाटको चार्जर उपलब्ध गराउने छ । त्यस्तै यस फोनले १५ वाट वायरलेस र ४.५ वाट रिभर्स वायरलेस चार्जर सपोर्ट गर्नेछ । कम्पनीले यस मोडेलको पनि र्‍याम भेरियन्ट र मूल्य खुलाएको छैन ।

पछिल्लो अध्यावधिक: पुस २९, २०७९ १५:११