close

१६ जीबी र्‍याम भएको 'वनप्लस टेन टी' नेपाली बजारमा, १९ मिनेटमै फुल चार्ज हुने

टेकपाना टेकपाना

पुस ३०, २०७९ १९:४१

१६ जीबी र्‍याम भएको 'वनप्लस टेन टी' नेपाली बजारमा, १९ मिनेटमै फुल चार्ज हुने

काठमाडौं । नेपाली बजारमा वनप्लसको १६ जीबी र्‍याम भएको स्मार्टफोन सार्वजनिक भएको छ । वनप्लसको नेपालस्थित आधिकारिक बिक्रेता स्मार्ट टक प्रालिले शुक्रबार 'वनप्लस टेन टी' (Oneplus 10T) भित्र्याएको हो ।

यो फोनको समग्र डिजाइन वनप्लस टेन प्रो जस्तै रहेको छ । जसको पछाडि भागमा ठूलो आयातकार क्यामेरा बम्प राखिएको छ । तर आन्तरिक रूपमा भने यो नयाँ फोनमा अनेकौँ अपग्रेडहरू पाउन सकिन्छ । जसमा सबैभन्दा रोचक विषय यसको चार्जिङ प्रविधि हो ।

वनप्लस १० प्रो अधिकतम ८० वाट फास्ट चार्जिङमा सीमित रहेकोमा वनप्लस टेनटीमा भने १५० वाटको फास्ट चार्जिङ पाउन सकिन्छ । जुन यसअघि वनप्लस टेन आर र बीबीके इलेक्ट्रोनिक्सको रियलमी ब्रान्डको फोन जीटी नियो थ्रीमा देखिएको थियो ।

यो फोनमा ४८०० एमएएच क्षमताको ब्याट्री दिइएको छ, जसअन्तर्गत १५० वाटको फास्ट चार्जिङबाट १९ मिनेटमै फुल चार्ज हुने कम्पनीको दाबी छ । वनप्लस टेन टीमा क्वालकमको स्न्यापड्रागन ८ प्लस जेन वान चिपसेट राखिएको छ । जुन ब्याकग्राउन्डमा ३५ ओटा एप्लिकेसन सञ्चालनका लागि पर्याप्त हुने कम्पनीले जनाएको छ ।

वनप्लसका अनुसार यसमा स्मार्टफोन बजारमै सबैभन्दा ठूलो र आधुनिक कुलिङ प्रविधि राखिएको छ, जसले गर्दा फोनमा हरेक चिज सहज तरिकाले चलाउन सकिनेछ । फोनको अगाडि भागमा ६.७ इञ्चको ओलेड डिस्प्ले राखिएको छ । जसले ९० हर्ज देखि १२० हर्जसम्मको रिफ्रेश रेटमा डाइनामिक किसिमले व्यवस्थापन गर्दछ ।

फोनको पछाडि भागमा ५० मेगापिक्सेलको मेन क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा दिइएको छ । त्यसैगरी फोनको अगाडितर्फ डिस्प्लेको माथि बीचतिर १६ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ ।

फोन अक्सिजन ओएस १२.१ सहित बजारमा आउनेछ । जुन गत वर्ष आएको एन्ड्रोइड १२ मा आधारित रहेको छ । जसले तीन ओटा मुख्य एन्ड्रोइड अपडेट र चार वर्षको सेक्युरिटी अपडेट प्राप्त गर्नेछ ।

एन्ड्रोइड १३ मा आधारित अक्सिजन ओएस १३ यो वर्षको अन्त्यतिर आउने अपेक्षा गरिएको छ । जुन वनप्लसका फ्ल्यागशिप मोडेल वनप्लस एट र नोर्ड तर्फ नोर्ड सीई पछिका डिभाइसले पाउनेछन् । फोनसँगै वनप्लसले ८० वाटको कार चार्जर समेत सार्वजनिक गरेको छ, जसबाट वन प्लस टेन टी २९ मिनेटमै फुल चार्ज हुने बताइएको छ । 

नेपाली बजारमा १६ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुने यो स्मार्टफोनको मूल्य एक लाख १४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: पुस ३०, २०७९ १९:४१