close

यस्तो छ लेक्ससको सानदार ईभी कन्सेप्ट, कहिले होला सार्वजनिक ?

टेकपाना टेकपाना

माघ ३, २०७९ १५:४६

यस्तो छ लेक्ससको सानदार ईभी कन्सेप्ट, कहिले होला सार्वजनिक ?

काठमाडौं । अटाे उद्योगमा विद्युतीय सवारीको दबदबा बढ्दै गएको छ । कार निर्माता कम्पनीहरू भविष्यलाई लक्षित गरी विभिन्न फिचरसहितका कन्सेप्ट कार (भविष्यमा सार्वजनिक हुनसक्ने सम्भावित कारको प्रोटोटाइप)बारे जानकारी दिइरहेका छन् ।

यसैबीच तीन वर्षअघि भिजुअलमार्फत सार्वजनिक भएको लेक्सस (lexus)को पूर्ण विद्युतीय कार 'एलएफ थर्टी' (LF-30) कारको प्रदर्शन भारतको नोएडामा जारी 'अटो शो'मा गरिएको छ ।

यो कार लेक्ससको कन्सेप्ट कार हो । पहिलो पटक सन् २०१९ मा जापानमा भएकाे 'टोकियाे मोटर शाे'मा याे कारकाे प्रदर्शनी गरिएकाे थियो ।

टोयोटा अन्तर्गत रहेको लेक्ससको भारतीय कम्पनी 'लेक्सस इन्डिया'ले यो कार 'अटो शो'मा राखेकाे छ ।

सुन्दर डिजाइनमा देख्न सकिने कार उन्नत प्रविधियुक्त छ । बाहिरी डिजाइनसँगै भित्री इन्टेरियरको डिजाइन पनि निकै विलासी देखिन्छ ।

यसको छत सिसाले बनाइएको छ भने यसमा गलपिन (चराको पखेटाजस्तै फिजिएर खुल्ने) ढोका छ । सिसाको छतलाई भोइस असिस्टेन्ट प्रयोग गरेर नियन्त्रण गर्न सकिन्छ ।

साथै उक्त छतमा 'स्काइगेट' नामक डिस्प्ले विन्डो प्रयोग गरिएको छ, जसलाई हातको हाउभाउमार्फत प्रयोग गर्न सकिन्छ भने यसमा एआर प्रविधि प्रयोग गरिएको छ ।

उक्त प्रविधिले चालक तथा सवार यात्रुलाई विभिन्न जानकारी दिनुका साथै आफूलाई मनपर्न भिडिओ हेर्न, म्याप हेर्न लगायतका सुविधा पनि दिन्छ । कारको लम्बाइ पाँच मिटरभन्दा बढी छ ।

यसको तौल २४०० किलोग्राम रहेको छ ।

कारमा चार ओटा विद्युतीय मोटर जडान गरिएको छ । यसको अर्थ यो कार 'अल-ह्विल ड्राइभ' पनि हुनसक्छ ।

यो कारले अधिकतम ७०० एनएम पिक टर्क प्रदान गर्ने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार गाडीले ३.८ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति पकड्न सक्छ ।

कारमा ११० किलोवाट प्रति घण्टाको ब्याट्री प्याक दिइएको छ । राेचक कुरा के छ भने यो कार चालकको हातको हाउभाउले नै चलाउन सकिने बताइएको छ ।

यसको स्टेरिङ गोलो नभएर कुनै हवाइजहाजको जस्तै छ । गाडीको अगाडिको भाग ककपिट जस्तै देखिन्छ ।  

यसमा मार्क लेभिनसनको अडियो सिस्टम प्रयोग गरिएको छ । यो गाडीलाई ड्रोनबाट पनि नियन्त्रण गर्न सकिने बताइएकाे छ । उदाहरणका लागि तपाईँले आफ्नो सामान घरमै भुल्नुभयो भने आफ्नो अफिसमै बसेर ड्रोनमार्फत कारलाई घरमा पठाएर सामान ल्याउन सक्नुहुन्छ ।

यो कार सन् २०३० सम्ममा सार्वजनिक हुने अनुमान छ ।

पछिल्लो अध्यावधिक: माघ ३, २०७९ २१:४०