close

नयाँ सञ्चारमन्त्री आएकै दिन टेलिकमको नेटवर्कमा समस्या, भन्छिन्ः सेवा सुधार गर्छौँ

टेकपाना टेकपाना

माघ ३, २०७९ १६:२४

नयाँ सञ्चारमन्त्री आएकै दिन टेलिकमको नेटवर्कमा समस्या, भन्छिन्ः सेवा सुधार गर्छौँ

काठमाडौं । माओवादी केन्द्रकी नेतृ रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएकी छन् । मङ्गलबार भएको मन्त्रिपरिषद् विस्तारका क्रममा दाङ क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित शर्मा सञ्चार मन्त्रालयको नेतृत्वमा आएकी हुन् । 

मन्त्रालय पुगेर पदबहाली गर्दै उनले मोबाइल नेटवर्क नपुगेको ठाउँमा सेवा विस्तार गर्ने निर्णयमा हस्ताक्षर गरेकी छिन् ।

टेकपानासँग संक्षिप्त कुरा गर्दै नवनियुक्त मन्त्री शर्माले जिम्मेवारी सम्हालेकै दिन नेपाल टेलिकमको नेटवर्कमा समस्या आउँदाको तीतो अनुभव समेत व्यक्त गरिन् ।

“मैले मन्त्रालय सम्हालेकै दिन पनि संयोगवश टेलिकमको नेटवर्कमा समस्या देखियो,” उनले भनिन्, “दूरसञ्चार सेवा नपुगेका स्थानमा टावरहरू खडा गरेर सेवा पुर्‍याउने र मोबाइल सेवाको गुणस्तर बढाउने विषयमा पहिलो निर्णय लिएका छौँ ।”

सूचना तथा सञ्चार प्रविधि क्षेत्र आफ्ना लागि चुनौतीपूर्ण रहेको भन्दै उनले सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने बताइन् । 

यसअघि २०७० र २०७४ मा दुवै पटक समानुपातिक तर्फबाट निर्वाचित सांसद शर्माले गएको मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक प्रत्यक्ष तर्फबाट उम्मेदवारी दिएकी थिइन् ।

एमाले महासचिव शङ्कर पोखरेललाई पराजित गर्दै महत्त्वपूर्ण जित हात पारेकी उनी माओवादी नेता कृष्णध्वज खड्काकी श्रीमती हुन् । २०५१ सालमा उनीहरूबीच विवाह भएको थियो ।

द्वन्द्वकालमा टाउकोको मूल्यसमेत तोकिएकी मन्त्री शर्मा ०५८ सालमा आफ्ना श्रीमानसँगै चाबहिलबाट पक्राउ परेकी थिइन् । 

सैनिक हिरासतमा चरम यातना भोगेकी शर्मा एक वर्षपछि मात्रै छुटेकी थिइन् । अखिल क्रान्तिकारीबाट राजनीति सुरु गरेकी उनी यसअघि पार्टीको तर्फबाट संसदमा प्रमुख सचेतकका साथै ०७२ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री समेत रहेकी थिइन् । 

स्नातक तहसम्म अध्ययन गरेकी शर्मा युद्धकालदेखि नै माओवादी अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'की विश्वासपात्र मानिन्छिन् ।

पछिल्लो अध्यावधिक: माघ ३, २०७९ १७:२०