close

विमान दुर्घटनाः सत्य भिडिओलाई किन 'फेक' भन्दैछ उड्ड्यन प्राधिकरण ?

हिक्मत आचार्य हिक्मत आचार्य

माघ ३, २०७९ २२:०

विमान दुर्घटनाः सत्य भिडिओलाई किन 'फेक' भन्दैछ उड्ड्यन प्राधिकरण ?

काठमाडौं । आइतबार साँझदेखि फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालका प्लेटफर्ममा एउटा भिडिओ भाइरल छ । यती एयरलाइन्सकाे विमान दुर्घटना हुनुअघि यात्रुले खिचेकाे भनिएकाे भिडिओ भाइरलका साथै विवादास्पद र रहस्यमयी बन्दै गएको छ ।

विभिन्न सञ्चारमाध्यमले उक्त भिडिओ भारतीय नागरिक सोनु जैसवालले दुर्घटना हुनुभन्दा केही अगाडि मात्र लाइभ राखेको भिडिओमा सत्यता भएको पुष्टि गरेका छन् । त्यसलाई पुष्टि गर्ने आधार पनि थुप्रै छन् । तर नागरिक उड्ययन प्राधिकरणका पदाधिकारी भने उक्त भिडिओ सो घटनाको नभएको दाबी गर्छन् ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले फेसबुकमा लाइभ गरिएको भनिएको उक्त भिडिओ भ्रम फैलाउन सार्वजनिक गरिएको दाबी गरे ।

"सामाजिक सञ्जालमा आएका भिडिओ हामीले पनि हेर्‍यौं," उनी भन्छन्, "तर, त्यसमा कुनै सत्यता छैन । फेसबुकमा लाइभ भएको भिडिओ दुर्घटनामा परेको जहाजको नभइकन अन्य कुनै जहाजको भएको बुझिन्छ ।"

उनले सो भिडिओ सञ्चारमाध्यमले भ्रम फैलाउन सार्वजनिक गरेको आरोप लगाएका छन् ।

"यस घटनालाई जोडेर भ्रम फैलाउने हिसाबले कसैले गलत सूचना सम्प्रेषण गरेको देखिन्छ । यसमा सत्यता छैन । र, नेपाल नागरिक उड्डयन प्राधिकरणले अब यो घटना घटिसकेपछि छानबिन समितिले यसको स्वतन्त्र र निष्पक्ष चाहिँ यसको अनुसन्धान गरेर रिपोर्ट बाहिर ल्याउने हुन्छ," उनी थप्छन् ।

प्रवक्ता निराैलाले सोनु जैसवालले खिचेको भनेको भिडिओ भ्रामक भएको दाबी गरेपनि यो भिडिओ सोही घटनाको भएको प्रमाणित गर्ने धेरै आधार छन् ।

प्रवक्ता निरौलाले सो भिडिओ सो जहाजको नभएको दाबी गरेका छन् । सामाजिक सञ्जालमा भाइरल उक्त भिडिओको ५०औँ सेकेन्डमा यती एयरलाइन्सको लोगो प्रस्ट देखिन्छ ।

अगाडि ट्रेमा एनआईसी एसिया बैंकको प्रचार पोस्टर देख्न सकिन्छ । एनआईसी एसियाको फेसबुक पेज हेर्ने हो भने उक्त पेजमा सोही विज्ञापन राखिएको छ । र, त्यो विज्ञापनका लागि फोटो फेब्रुअरी २४, २०२२ मा खिचिएको छ ।

यो अवधिमा यती एयरको विमान पहिलो पटक आइतबार दुर्घटनामा परेको हो । सो भिडिओमा देखिएको बाहिरको दृश्य र पोखरा उपत्यकाको स्याटलाइट भ्युबाट उही दृश्य देखिन्छ । त्यसबाट पनि उक्त भिडिओ सोही दुर्घटनामा परेका व्यक्तिले खिचेको पुस्टि हुन्छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले सोनुको परिवारलाई नै सम्पर्क गरेर उक्त भिडिओ सोनुले नै लाइभ राखेको पुष्टि गरेको छ । भाइरल भिडिओ सोही दुर्घटनाको हुने अनेक आधार हुँदाहुँदै पनि नागरिक उड्डयन प्राधिकरण भने उक्त भिडिओ भ्रामक भन्दै पन्छिन खोजेको छ ।

पछिल्लो अध्यावधिक: माघ ४, २०७९ ९:५३