close

अझै घटेन राहदानीको भीड

टेकपाना टेकपाना

माघ ५, २०७९ ९:२४

अझै घटेन राहदानीको भीड

काठमाडौं । राहदानी विभागको सक्रियता दोब्बर गराएर सेवा दिने तयारी सुरु भए पनि जनशक्ति अभावले त्यो सक्रियता अन्योलमा परेको छ । विभागमा देशैभरका सेवाग्राही द्रुत सेवा लिन आउने भएकाले पनि हरेक दिन विभाग परिसर सेवाग्राहीको भीडले तनावयुक्त रहने गरेको छ ।

सेवा विस्तारको पहल थालिए पनि जनशक्ति अभाव सेवा प्रवाहको सहजतामा बाधा बनेको विभागले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, चालक अनुमतिपत्रलगायतका अत्यावश्यक कागजपत्र सम्बद्ध सेवा द्रुत गतिमा दिन लिखित निर्देशन दिएका थिए । सोहीअनुसार विभागले भएकै कर्मचारीलाई केही सुविधा थप गरेर वा दोब्बर सेवा सञ्चालन गरेर सेवा प्रभावकारी बनाउन सकिने गरी आफ्नो कार्ययोजना बनाएर प्रधानमन्त्री कार्यालयमा पेस गरिसकेको छ । 

कसरी अघि बढ्ने भन्ने सम्बन्धमा प्रधानमन्त्री कार्यालयबाट कुनै जवाफ नआएको विभागले जनाएको छ । तत्काल सेवा विस्तारका लागि सामान्य प्रशासन मन्त्रालयसँग कम्प्युटर अपरेटरसहितका प्राविधिकको माग एक महिनाअघि गरिए पनि नआइदिँदा समस्या परेको गुनासो विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवले बताए ।

उनले भने, “तत्काल सेवा दोब्बर गर्न नसके पनि भएकै कर्मचारीलाई थप केही घण्टाको आर्थिक सुविधा दिएर काम गराउन सके दैनिक कम्तीमा थप ५०० जनालाई अतिरिक्त सेवा दिन सकिन्थ्यो, त्यो हुँदा पनि विभागमा भीड कम हुन्थ्यो भन्ने सोच हो ।” तर आवश्यक प्राविधिक जनशक्ति भने बाहिरबाटै ल्याउनुपर्ने बाध्यता यथावत् छ । 

विभागको स्थायी र करार गरेर कुल १०६ जनाको जनशक्तिले देशव्यापी राहदानी वितरणको भार थेगिरहेको छ । विभागका प्रवक्ता दुरपदा सापकोटाले भनिन्, “किनभने अहिलेको जनशक्तिले एक सिफ्टमा मात्र सेवा दिन सक्छ, दोहोरो सिफ्ट सञ्चालन गर्न अहिलेको जत्तिकै दोहोरो जनशक्ति आवश्यक पर्छ ।”

उनका अनुसार सामान्य सेवाका लागि नै कर्मचारी अभाव छ त्यसमाथि विभागलाई कुशलदेखि अति कुशल प्राविधिक जनशक्तिको टड्कारो आवश्यकता छ । थप जनशक्तिका लागि विभागसँग आफ्नै दरबन्दी खाली छैन । यसअघि मेसिनले पढ्ने राहदानी वितरणको साङ्गठनिक संरचनामै विद्युतीय राहदानी वितरणको संरचना रहेकाले पनि द्रुत सेवा दिन विभागलाई ढुङ्गा चपाएजस्तै कठिन देखिएको  हो । विभागले विद्युतीय राहदानी वितरण सहज बनाउनकै लागि यसअघि नै झन्डै ४० जना कर्मचारी र प्राविधिक करारमा राखेको छ । 

अहिलेको तुलनामा ठ्याक्कै दोहोरो सेवा दिने गरी कार्ययोजना निर्माण गर्न विभाग सक्रिय रहेको जनाएको छ । त्यसका लागि आवश्यक जनशक्ति अन्यत्रबाट तानतुन गरेर मिलाउनुको विकल्प विभागसँग छैन । सेवा दोब्बर गर्न दुई सिफ्ट चलाउनै पर्छ । त्यसका लागि पनि अहिलेको जनशक्तिमा थप गर्न विभागले सामान्य प्रशासनसँग जनशक्ति सापटी मागेको हो । 

कम्प्युटर अपरेटरको अटेरी 

राहदानी विभागको मागअनुसार १८ जना कम्प्युटर अपरेटरलाई सामान्य प्रशासन मन्त्रालयले विभागमा सरुवा गरेको छ । तर हालसम्म चार जना मात्र विभागमा हाजिर हुन पुगेका छन् । अरू कम्प्युटर अपरेटर अझै विभाग नपुगेको जानकारी प्रवक्ता सापकोटाले दिइन् । 

विभागमा सेवाग्राहीको भीडभाड घट्नुको सट्टा दिनानुदिन बढ्दो छ । त्यो चाप व्यवस्थित गरेर सेवा द्रुत बनाउन पहिलो लटमा कम्प्युटर प्राविधिक सापटी मागिएको हो । प्रवक्ता सापकोटाले भनिन्, “हाम्रो आफ्नै स्थायी दरबन्दी खाली छैन, थपेर बढाउन एक/दुई वर्ष लाग्छ, त्यसैले पनि अन्यत्रबाट व्यवस्थापन गर्न खोजिएको हो ।”

सामान्य प्रशासन मन्त्रालयले भने विभागले मागेभन्दा पनि उपलब्ध भएअनुसार कम्प्युटर अपरेटर सरुवा गरी त्यहाँ पठाइएको जनाएको छ । पुस १७ गते भएको सरुवाको निर्देशनअनुसार कम्प्युटर अपरेटर विभागमा हाजिरी हुन नगएपछि मन्त्रालयको पनि टाउको दुख्न थालेको छ । कडाइसाथ निर्णय कार्यान्वयन गराउन मन्त्रालयले माघ ३ गते मङ्गलबार विभागमा सरुवा गरिएका कम्प्युटर अपरेटरको नामावलीको सूची नै सार्वजनिक गरेर विभागमा काम गर्न जान भनेको छ ।

मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले सरुवा भइसकेपछि पनि केही बुझबुझारथ बाँकी हुनेहरू जान बाँकी रहेको हुनसक्ने दाबी गरे । उनले भने, “रवानाको पत्र थामिसकेपछि सरुवा भएका ठाउँमा जानैपर्छ, केही कर्मचारीको मन्त्रालयमा कार्य बुझबुझारथ भएमा भन्नुपर्छ ।”

कतिपय जानै नसक्ने अवस्थाका छन् भने उनीहरूको थमौती हुनसक्ने सम्भावना रहेको उनले औँल्याए । तथापि सरुवा गरेको २१ दिनभित्र जान भनेर तोकिएको कार्यालयमा हाजिरी नजनाएमा विभागीय कारबाही हुने उनले बताए । 

थमौती हुनसक्ने सम्भावना कायमै रहेकाले पनि धेरै कम्प्युटर अपरेटर राहदानी विभाग नआउने मनसायमा मन्त्रालयमै रहेको हुनसक्ने अनुमान विभागले गरेको छ । यस्तो कार्य दोहोरिँदै गएमा आगामी दिनमा विभागको सेवा प्रभावकारी बनाउने पहलमै असर पर्ने विभागले जनाएको छ । विभागमा दैनिक पाँच हजार बढीले विद्युतीय राहदानीसम्बन्धी सेवा लिँदै आएका छन् । 

-गोरखापत्र

पछिल्लो अध्यावधिक: माघ ५, २०७९ ९:२४