close

टिकटकमा जुवा खेलाउने अर्का युवक पक्राउ, १५ दिनमै साढे ८ लाख रुपैयाँको खेल

टेकपाना टेकपाना

माघ ५, २०७९ ११:२४

टिकटकमा जुवा खेलाउने अर्का युवक पक्राउ, १५ दिनमै साढे ८ लाख रुपैयाँको खेल

काठमाडौं । टिकटकमा जुवा खेलाएको आरोपमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर हरिसिद्धी २८ बस्ने ३५ वर्षीय हरिसचन्द्र मल्ल रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मल्ल आफ्नो ई-सेवा लगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिलाई रकम जम्मा गर्न लगाउथे । त्यसपछि टिकटमा सुरु हुन्थ्यो उनको जुवाडे धन्दा ।

प्रयोगकर्ताले जितेमा उसको वालेटमा पैसा जम्मा गर्ने र हारेको खण्डमा पुनः आफ्नो ईसेवा वालेटमा जम्मा गर्न लगाउँथे । यसरी टिकटक लाइभमार्फत जुवा खेलाइरहेको सूचना प्रहरीकहाँ पुगेपछि प्रहरीले ती व्यक्तिको निगरानी गर्न थाल्यो । निगरानी गरिरहेको अनुसन्धान कार्यालयका प्रहरीले मंगलबार मल्ललाई जुवा खेलाइरहेको अवस्थामा पक्राउ गर्यो ।

प्रारम्भिक अनुसन्धानमा मल्लले जम्मा १५ दिनको अवधिमा आठ लाख ५३ हजार ३३१ रुपैयाँ बराबरको जुवा खेलाएको देखिएको छ ।

"मल्लले क्वीक क्याश नामक टिकटक आईडी खोली दुईवटा ईसेवा अकाउन्टमा विभिन्न व्यक्तिलाई रकम जम्मा गर्न लगाएको देखिन्छ," प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

पक्राउका क्रममा प्रहरीले मल्लको कोठाबाट जुवा खेलाउन प्रयोग भएको एउटा स्मार्टफोन, तास खेल्ने विभिन्न व्यक्तिका नाम, मोबाइल नम्बर र रकम उल्लेख भएको एउटा रजिस्टर र जुवा खेलाउन प्रयोग भएका तीन बुक तास बरामद गरेको छ ।

मल्ललाई मूलकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिमको कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: माघ ५, २०७९ ११:२४