close

पाइरेटेड लिंक पठाई कलाकारहरूको फेसबुक अकाउन्ट ह्याक, रकम ठग्न खोज्दा प्रहरी फन्दामा

टेकपाना टेकपाना

माघ ५, २०७९ १७:३१

पाइरेटेड लिंक पठाई कलाकारहरूको फेसबुक अकाउन्ट ह्याक, रकम ठग्न खोज्दा प्रहरी फन्दामा

काठमाडौं । सामाजिक सञ्जालमा अनधिकृत पहुँच बनाई ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट घर भई हाल काठमाडौं बस्ने १७ वर्षीय एक किशाेर र रसुवा घर भई हाल काठमाडौं बस्ने १९ वर्षीय विवेक आचार्य रहेका छन् ।

पक्राउ परेका दुवैजनाले सामाजिक सञ्जालका च्याटमार्फत विभिन्न व्यक्तिलाई ठगी गरेकाे साइबर ब्यूराेले जनाएकाे छ । ''विशेषत: उनीहरूले चलचित्र क्षेत्रमा काम गर्ने व्यक्तिलाई आफू मोडल भएको झुट्टा पोस्ट तथा फिल्मका लिङ्कमा क्लिक गर्न लगाउँथे,'' ब्यूराेका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति कुमार रायले​ भने, ''पीडितहरूले त्यस्ता लिङ्कमा क्लिक गर्दा अकाउन्ट नै ह्याक हुन्थ्याे । यसपछि ह्याक भएका अकाउन्टबाट विभिन्न व्यक्तिलाई ठगी गर्थे ।''

ह्याक गरिएका त्यस्ता अकाउन्टबाट ठगी गरेको सूचना पाएपछि यी दुई व्यक्ति पक्राउ परेकाे रायले जनाए । "उनीहरूले यसरी पचासौँ मान्छेको अकाउन्ट ह्याक हरेको आशंका छ," उनले टेकपानासँग भने ।

''यति मात्र नभई उनीहरू पीडितलाई सामाजिक सञ्जालमा एड गर्थे । एड गरेर भिडिओ कल गरी कलमा आफैँ नाङ्गो भई सो भिडिओ रेकर्ड गर्थे । त्यसबाहेक पीडितलाई पनि विभिन्न प्रलोभनमा पारेर भिडिओ पठाउन लगाउँथे । त्यही भिडिओको आडमा सम्पूर्ण परिवार तथा साथीलाई पठाइदिन्छु भन्दै पीडितहरूको गोप्य सूचना (युजरनेम, पासवर्ड र ओटीपी कोड) लग्थे,'' उनले भने ।

सामाजिक सञ्जालमार्फत ठगी गरेकाे उजुरी परेपछि गत पुस २९ गते उनीहरूलाई पक्राउ गरिएकाे उनले जानकारी दिए ।

दुवै आरोपितलाई सामाजिक सञ्जालको दुरुपयोग गरी भएको ठगी अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेकाे छ ।

पछिल्लो अध्यावधिक: माघ ५, २०७९ १७:३१