close

विद्युतीय सवारीको चार्जर अब नेपालमै बन्ने, इन्डोक्सन चुलो पनि उत्पादन गर्ने तयारी

टेकपाना टेकपाना

माघ ५, २०७९ १८:२२

विद्युतीय सवारीको चार्जर अब नेपालमै बन्ने, इन्डोक्सन चुलो पनि उत्पादन गर्ने तयारी

काठमाडौं । नेपाली बजारमा घरेलु तथा विभिन्न विद्युतीय उपकरणहरु उत्पादन तथा बिक्री वितरण गर्दै आएको डिजिटल होम इन्टरनेसनल (डीएचआई)ले स्वदेशमै विद्युतीय सवारीकाे चार्जर निर्माण गर्ने भएको छ ।

डिशहोमको भगिनी संस्था रहेकाे डीएचआईले यसका लागि ताइवानको स्यान्डमार्टिन इन्टरनेसनल होल्डिङसँग सहकार्य गरेकाे छ । यी दुई कम्पनीबीच बुधबार भएको सम्झौतामा विद्युतीय सवारीकाे चार्जर नेपालमै तयार पार्ने विषय पनि समेटिएकाे हाे ।

''अहिले सेट-टप बक्स र होम अप्लायन्सको एसेम्बल नेपालमै गरिरहेका छौं,'' डीएचआईका निर्देशक सुमन पाैडेललले टेकपानासँग भने, ‘होम अप्लायन्समा हाम्रो आफ्नै प्रविधि नभएको अवस्था छ । यस्तोमा उनीहरु (स्यान्डमार्टिन इन्टरनेसनल होल्डिङ)को प्रविधि र अनुभवलाई यहाँ ल्याउने र यहाँ भएका प्राविधिकलाई उता लैजानेगरी सम्झौता भएको छ ।''

योसँगै स्मार्ट होम र विद्युतीय गाडीको चार्जर नेपालमै तयार पारिने उनले बताए । ''अब सेट-टप बक्स, होम अप्लायन्स, स्मार्ट होम र विद्युतीय सवारीका लागि चार्जर गरी चार फरक भेरियन्टमा काम हुनेछ,'' उनले भने ।

यसले पेट्रोललाई विस्थापित गरी हरित ऊर्जालाई समेत प्रोत्साहन गर्न मद्दत पुग्ने अपेक्षा उनले राखे । यसका साथै नेपालमै इन्डक्सन चुलो उत्पादनका लागि समेत उक्त ताइवानी कम्पनीसँग सहकार्य गर्ने तयारी भइरहेकाे उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: माघ ५, २०७९ १८:२६