close

नागरिक एपमा लाइसेन्स देखाउँदा मान्य हुँदैन: ट्राफिक प्रहरी

टेकपाना टेकपाना

माघ ६, २०७९ १०:२८

नागरिक एपमा लाइसेन्स देखाउँदा मान्य हुँदैन: ट्राफिक प्रहरी

काठमाडौं । नागरिक एपमा लाइसेन्स देखाउँदा मान्य नहुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्पष्ट गरेको छ । पछिल्लो समयमा नागरिक एपमा दर्ता भएका लाइसेन्स किन मान्य नहुने भन्ने प्रश्न उठेसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै आवश्यक परेको खण्डमा नागरिक एपमा हुने लाइसेन्स मान्य नहुने बताएको हो । 

ट्राफिक प्रहरीका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३१ बमोजिम यातायात निरीक्षक वा नेपाल प्रहरीले जाँचबुझको सिलसिलामा कुनै सवारी चालकको सवारी चालक अनुमति पत्र सवारी दर्ता किताब सवारी इजाजत पत्र हेर्न खोजेमा देखाउनु पर्ने व्यवस्था रहेको छ । 

सोही ऐनको दफा १६४ को १(न) मा सवारी चालक अनुमति पत्र साथमा नराखी सवारी चलाएमा कसुर मानिने व्यवस्था रहेको बताइएको छ । साथै सोही ऐनको दफा ६० अनुसार ५ पटक भन्दा बढी सवारी नियम उल्लंघन गर्ने चालकको सवारी चालक अनुमति पत्र अधिकार प्राप्त अधिकारीले ६ महिनासम्मको लागि निलम्बन गर्न सक्ने व्यवस्था भएकोले निलम्बनमा रहेको सवारी चालक अनुमति पत्र सम्बन्धी जानकारी नागरिक एपबाट नहुने उक्त सूचनामा उल्लेख गरिएको छ ।  

त्यस्तै सवारी नियम उल्लंघन गरेमा कारबाही गर्नको लागि अनिवार्य सक्कल कागजात लिएर मात्र २४ घण्टे पुर्जी जारी गरिने भएकोले नागरिक एपमा हेरेकै आधारमा २४ घण्टे पुर्जी जारी गर्न नमिल्ने ट्राफिक प्रहरीले जनाएको छ । यसकारण सवारी चालकले सवारी चालक अनुमतिपत्र लगायत सवारीसँग सम्बन्धित कागजातहरू अनिवार्य रुपमा साथमै राखि सवारीसाधन चलाउनु पर्ने सूचनामा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: माघ ६, २०७९ १०:३१