काठमाडौं । राइड शेयरिङ सेवाको लागि चर्चित कम्पनी उबरले अब आफ्नै विद्युतीय सवारी निर्माण गर्ने भएको छ । राइड शेयरिङ र डेलिभरीका लागि उपयोगी हुने गरी कम्पनीले विशेष डिजाइन सहितको विद्युतीय सवारी निर्माण गर्न विभिन्न कार निर्माता कम्पनीहरूसँग पनि सहकार्य गरिरहेको छ ।
कम्पनीका अनुसार राइड शेयरिङका लागि प्रयोग हुने कारहरूमा लागत कम गर्नको लागि उच्च गति प्रदान गर्ने फिचर हुनेछ भने यात्रु सिटहरू एकअर्का आमनेसामने हुने गरी राखिनेछ । यसले गर्दा राइड शेयर गर्दा यात्रुहरूबिचमा कुराकानीका लागि सहज हुने कम्पनीको विश्वास छ ।
त्यसैगरी डेलिभरी सवारी साधनहरूमा दुई वा तीन पाङ्ग्राको हुनेछन् । साथै यसमा नेभिगेसनको फिचर सहित पछाडीको भागमा ठूलो धेरै स्पेस हुनेछ ।
उबरले कुन कार कम्पनीसँग मिलेर यी कारहरू तयार गर्नेछ भन्ने विषयमा भने अहिले नै कुनै आधिकारिक जानकारी दिइसकेको छैन । यद्यपि कम्पनीले आफ्नो डिजाइनमा भने काम गरिरहेको जनाएको छ ।
कम्पनीले लामो समयदेखि आफ्नो सेवामा विद्युतीय सवारीको प्रयोग गरिरहेको छ । अब भने कम्पनीले आफ्नै डिजाइनमा कारहरू तयार गर्न लागेको हो । कम्पनीले आउने दिनहरूमा आफ्नो सेवालाई पूर्ण रुपमा विद्युतीय सवारीमा मात्र निर्भर बनाउने योजना बनाएको छ ।