close

नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नासिट) गठन

टेकपाना टेकपाना

माघ ६, २०७९ १६:३१

नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नासिट) गठन

काठमाडौं । नेपालमा सफ्टवेयर तथा सूचना प्रविधि सेवाको विस्तार, व्यवस्थापन एवं प्रवर्द्धनमा काम गर्ने उद्धेश्यसहित नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नासिट) गठन भएको छ । ३३ संस्थापक सदस्यसहित औपचारिक रूपमा याे संगठन दर्ता प्रक्रियाका लागि अगाडि बढेको हाे ।

"नेपालको आईटी इकोसिस्टमलाई विस्तार गर्न संगठन खाेलेका हौं," नासिटका अध्यक्ष रिचन श्रेष्ठले भने,  "यसले नेपालकाे आईटी बजारको दायरा बढाउने अपेक्षा छ ।"

सूचना प्रविधि क्षेत्रमा काम गर्ने व्यवसायीका लागि नीतिगत हिसाबले काम गर्न सहज वातावरण नभएकाले संगठनको आवश्यकता महसुस गरिएको उनले बताए ।

"आईटी बजार विस्तार गर्न हामीले सरकारसँगको 'एडभोकेसी'लाई लिएर काम गर्नुपर्नेछ," अध्यक्ष श्रेष्ठले टेकपानासँग भने, "कम्पनी सञ्चालनका लागि आईटीमैत्री नीतिहरू चाहिएको छ । समग्र आईटी क्षेत्रको आवश्यकतालाई हेरेर सरोकारवालासँग नजिक रही काम गर्नेछौं ।''

सूचना प्रविधिमा आधारित सेवाको निर्यात बढेपनि यससम्बन्धी राज्यले स्पष्ट नीति ल्याउन नसकेको उनको बुझाइ छ ।

"हाम्रा आईटी कम्पनीहरू धेरै 'एक्स्पाेर्ट ओरियन्टेड' (निर्यात सम्बन्धी) छन् । त्यो नै सबैभन्दा ठूलो बजार हो,'' उनले भने, ''तर, एक्स्पाेर्ट गर्न हामीले बजार विस्तार गर्न सक्नुपर्‍यो । सेवाग्राही भएकै ठाउँमा गएर अफिस खोल्न सक्नुपर्‍यो । त्यहाँ आवश्यकता अनुसार लगानी गर्नुपर्‍यो । तब मात्र हामीलाई क्लाइन्टले पत्याउँछ । यी कुरा गर्ने सजिलो बाटो छैन । अहिलेको नीतिले त्यो काम गर्न हामीलाई रोकिरहेको छ ।"

नेपालमा आईटी कम्पनीको बौद्धिक सम्पत्तिको उचित संरक्षण गर्ने, आईटी क्षेत्रमा पर्याप्त जनशक्ति उत्पादन एवं परिचालन गर्ने, आई​टी उद्योग र शैक्षिक संस्थाबीच सहकार्य गराउने लगायतका याेजनामा नासिटले काम गर्ने उनले सुनाए ।

"कुनै कार्यक्रमभन्दा पनि यस्ता सहकार्य परिणाममा आधारित हुनेगरी तयार पार्छौं," उनले थपे ।

संगठनमा नेपालका मात्र नभई अन्तर्राष्ट्रिय कम्पनी एवं व्यवसायहीहरू पनि जोडिने उनले उल्लेख गरे ।

 "धेरै अन्तर्राष्ट्रिय कम्पनीहरू आफ्ना विचार, अनुभव र प्रविधि हामीमाझ शेयर गर्न चाहनुहुन्छ । तर, उपयुक्त माध्यमको अभाव छ । नासिटबाट उनीहरू सोझै जोडिनसक्ने कुरामा हामी विश्वस्त छौं," उनले भने ।

नासिटकाे पहिलो अन्तरिम सञ्चालक समितिमा श्रेष्ठकाे अध्यक्षतामा ३३ सदस्यीय कार्यकारी बाेर्ड गठन गरिएकाे छ, जसमा विभिन्न आईटी कम्पनीका प्रतिनिधिहरू समेटिएका छन् ।

पछिल्लो अध्यावधिक: माघ ६, २०७९ १६:५०