close

१० हजार कर्मचारीलाई निकाला गर्दै माइक्रोसफ्ट

टेकपाना टेकपाना

माघ ७, २०७९ ११:५२

१० हजार कर्मचारीलाई निकाला गर्दै माइक्रोसफ्ट

काठमाडौं । माइक्रोसफ्टले आउँदो मार्च महिनाको अन्त्यदेखि कर्मचारी निकाला गर्ने भएको छ । आम्दानी कम भएको बताउँदै कम्पनीले आफ्ना १० हजार कर्मचारीलाई बर्खास्त गर्ने निर्णय लिएको हो ।

हालैका केही दिनमा अल्फाबेट, अमेजन, सेल्सफोर्स लगायतका ठूला प्रविधि कम्पनीले पनि कर्मचारी संख्या कटौती गरेका छन् । कोभिड महामारीपछि कम्पनीहरूले अर्थव्यवस्था सुधार गर्ने तथा लागत व्यवस्थापन गर्ने नाममा कर्मचारी कटौती गर्दै आएका छन् ।

साथै प्रविधि कम्पनीको घट्दो शेयर मूल्यले पनि कम्पनीहरूलाई केही हदसम्म लागतलाई लिएर सचेत गराएको छ । त्यसमाथि लगानीकर्ताले लागतमा भएको अधिक खर्चको विषयमा पनि प्रश्न उठाउँदै आएका छन् । यसले पनि कम्पनीलाई लागत घटाउन दबाब दिइरहेको छ ।

गत वर्ष पनि माइक्रोसफ्टले आफ्नो एक प्रतिशतभन्दा कम कर्मचारी संख्या कटौती गर्ने घोषणा गरेकाे थियो । सो समयमा कम्पनीले एक हजार कर्मचारीलाई मात्र निकाला गरेको थियो ।

तर अब भने कम्पनीले १० हजार कर्मचारी निकाल्ने निर्णय गरेको छ । 

पछिल्लो अध्यावधिक: माघ ७, २०७९ १२:१२