close

च्याटजीपीटी जस्तै एआईमा आधारित आफ्नै च्याटबट ल्याउने तयारीमा गुगल

टेकपाना टेकपाना

माघ ७, २०७९ १८:५

च्याटजीपीटी जस्तै एआईमा आधारित आफ्नै च्याटबट ल्याउने तयारीमा गुगल

काठमाडौं । ओपनएआईले तयार गरेको च्याटजीपीटीको लोकप्रियतासँगै गुगलले पनि आफ्नै एआईमा आधारित च्याटबट सार्वजनिक गर्ने संकेत गरेको छ । आफ्नो सर्च इन्जिनका लागि च्याटजीपीटी चुनौती बन्न सक्ने कुरालाई गुगलले पनि स्वीकार गरेको छ । यसै अनुरुप कम्पनीले आफ्नो सर्च इन्जिनलाई थप सुधार गर्ने कामलाई पनि तीव्रता दिइरहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा सार्वजनिक भएअनुसार कम्पनीका सीईओ सुन्दर पिचाईले "कोड रेड" घोषणा गरेका छन् र एआई विकासलाई तीव्रता दिएका छन् । गुगलले यस वर्ष कम्तीमा २० एआईमा आधारित उत्पादनहरू र यसको सर्च इन्जिनको लागि च्याटबट सार्वजनिक गर्ने तयारी गरेको छ ।

केही उत्पादनहरू त यही आउँदो मे महिनामा सार्वजनिक हुने अनुमान गरिएको छ । गुगलले काम गरिरहेको एआई प्रोजेक्टहरूमध्ये एउटा इमेज जेनेरेट टुल, एआई टेस्ट किचेनको अपग्रेडेड भर्सन, युट्युबको लागि टिकटक शैलीको ग्रिन स्क्रिन मोड लगायत अन्य कुराहरू रहेका छन् ।

साथै पाइपलाइनमा शपिङ ट्राई-अन, पिक्सेल फोनहरूका लागि वालपेपर जेनेरेटर र एआईमा आधारित अन्य टुलहरू रहेका छन् । यीमध्ये सबैभन्दा सुरुमा भने सर्च च्याटबट सार्वजनिक हुने अनुमान गरिएको छ । यसले प्रयोगकर्तालाई सही र आवश्यक सूचनाहरू प्रदान गर्ने तथा गलत सूचनालाई रोक्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: माघ ८, २०७९ ११:५८