close

व्यक्ति मात्रै हैन, कम्पनीले गर्ने अनलाइन पेमेन्ट पनि उच्च, महिनामै २ खर्बको भुक्तानी

टेकपाना टेकपाना

माघ ८, २०७९ १५:१४

व्यक्ति मात्रै हैन, कम्पनीले गर्ने अनलाइन पेमेन्ट पनि उच्च, महिनामै २ खर्बको भुक्तानी

काठमाडौं । कर्पोरेट-पे प्रणालीमार्फत चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई सय दुई अर्ब भन्दा बढीको कारोबार फर्छ्यौट भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडले संस्थागत ग्राहका लागि ल्याएको अनलाइन भुक्तानी प्रणाली प्रति उच्च आकर्षण देखिएको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा यसमार्फत कूल एक सय नौ अर्ब रुपैयाँ बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको थियो । गत वर्षको तुलनमा दोब्बरले वृद्धि हुँदै चालू आर्थिक वर्षको छ महिनामै कम्पनीले नयाँ रेकर्ड राख्न सफल भएको हो ।

कर्पोरट-पे मार्फत बैंक तथा वित्तीय संस्थाका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरूले सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्छन् । जसले गर्दा पछिल्लो समयमा यसको प्रयोग उल्लेख्य मात्रामा वृद्धि हुँदै गएको हो ।

हाल ४४ ओटा बैङ्क तथा वित्तीय संस्थामार्फत उक्त प्रणालीमा बैङ्‍क/वित्तीय संस्थाका ६१ सय भन्दा बढी व्यावसायिक ग्राहकहरू आबद्ध भएको उल्लेख छ । यो प्रणाली मार्फत रकम ट्रान्सफर, तलब भुक्तानी, बिक्रेताको भुक्तानी, नेपाल सरकारको राजस्व भुक्तानी लगायतका विभिन्न भुक्तानी गर्न सकिन्छ ।

यस प्रणालीमा युटिलिटी तथा क्रेडिटरलाई एकमुस्ट भुक्तानी, नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्रको भुक्तानी, बीमा समितिको इजाजत पत्रको नवीकरणको भुक्तानी, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानीहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

साथै यो प्रणालीको एउटै प्लेटफर्ममा एक भन्दा बढी बैंक खाताहरू लिङ्क गरी कारोबार गर्न सकिने व्यवस्था समेत रहेको छ । जसबाट ग्राहकलाई कारोबार गर्न थप सहज भएको कम्पनीको भनाई छ ।

कम्पनीका अनुसार यस प्रणालीमा रियल टाइममा प्रति कारोबार २० लाख रुपैयाँसम्म र नन्–रियल टाइम २० करोड रुपैयाँसम्मको कारोबार गर्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: माघ ८, २०७९ १५:१४