close

आईफोनको स्टाटस बारमा देखिने थोप्लो अर्थको के होला ?

टेकपाना टेकपाना

माघ ९, २०७९ १७:३५

आईफोनको स्टाटस बारमा देखिने थोप्लो अर्थको के होला ?

काठमाडौँ । यदि तपाईँ आईफोन प्रयोगकर्ता हुनुहुन्छ भने स्टाटस बारमा पक्कै पनि खैरो रङको डट देख्नुभएको होला । ​आईफोनमा कुनै एप प्रयोग गरिरहँदा वा कल गर्दा खैरो डट देखिन्छ ।

फोनमा यस्ताे डट देखिनुको अर्थ हुन्छ, तपाईँले जुन एप प्रयोग गरिरहनु भएको छ, सो एपले माइक्रोफोन प्रयोग गरिरहेको छ । विशेषगरी कुनै थर्ड पार्टी एप, कल गर्दा वा सिरीका माध्यमबाट मेसेज लेख्दा खैरो डट देखिन्छ ।

खैरो डट देखेको बेला स्क्रोल गरेर तल सार्नुभयो भने माइक्रोफोन कुन एपले प्रयोग गरिरहेको छ भन्ने देखिन्छ ।

त्यस्तै खैरो डट देखिएको ठाउँमा हरियो डट देखिनुको अर्थ के होला ?

तपाईँले केही एप प्रयोग गर्दा खैरो डट देखिएको ठाउँमा हरियो डट पनि देखिन्छ ।

स्टाटस बारमा हरियो डट देखिनुको अर्थ हुन्छ, त्यस समयमा फोनको क्यामेरा प्रयोग भइरहेको छ । कतिपय अवस्थामा तपाईँको कुनै एपले गोप्य रूपमा क्यामेरा प्रयोग गरिहरेको हुनसक्छ ।

त्यस्तो अवस्थामा उक्त डटका माध्यमबाट क्यामेरा प्रयोग भए/नभएको थाहा पाउन सक्नुहुन्छ ।

 

कुन एपले क्यामेरा वा माइक्रोफोन प्रयोग गरिरहेको छ भन्ने कसरी थाहा पाउने ?

तपाईँले फोनमा त्यस्तो डट देख्दा सोही डटमा औँला राखेर तल सार्नुहोस् । त्यसपछि सबैभन्दा माथि त्यस समयमा क्यामेरा वा माइक्रोफोन के-के प्रयोग भइरहेको छ भन्ने देखिन्छ ।

आईफोनमा मात्र नभई एन्ड्रोइडमा पनि यस्तो संकेत देखिन्छ । 

विशेषगरी क्यामेरा प्रयोग भएको अवस्थामा स्टाटस बारमा हरियो संकेत देख्न सकिन्छ । स्टाटस बारमा हरियो डट देख्दा सोही डटमा औँला राखेर तल सार्दा माथि क्यामेराको आइकन देखिन्छ । 

 

त्यसमा ट्याप गर्दा फोनको क्यामेरा कुन एपले प्रयोग गरिरहेको छ भन्ने थाहा पाउन सकिन्छ ।

 

यस्ता संकेत किन महत्त्वपूर्ण छन् ?

मानौं तपाईँ अर्को व्यक्तिलाई थाहै नदिई साउन्ड रेकर्ड गर्दै हुनुहुन्छ । त्यस्तो बेला एप हाइड गरेर स्क्रिनमा होमपेज मात्र देखिएको हुनसक्छ । यस्तो अवस्थामा स्टाटस बारमा खैरो डट देख्नुभयो भने साउन्ड रेकर्ड भइरहेको छ भन्ने कुरामा विश्वस्त हुन सक्नुहुन्छ ।

त्यस्तै तपाईँले कुनै एप डाउनलोड गर्नुभयो । तपाईँले डाउनलोड गरेको एपको सम्बन्ध क्यामेरा वा माइक्रोफोनसँग छैन । तर, एप प्रयोग गर्दा हरियो वा खैरो डट देखिएका छन् भने सो एपमा शंका गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: माघ ९, २०७९ १८:१९