close

आज राष्ट्रिय नवप्रवर्तन सम्मेलन हुँदै

टेकपाना टेकपाना

माघ १०, २०७९ ९:३८

आज राष्ट्रिय नवप्रवर्तन सम्मेलन हुँदै

काठमाडौं । आज नेपालमै पहिलो पटक राष्ट्रिय नवप्रवर्तन सम्मेलन हुँदै छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले द एसिया फाउन्डेसन र यूके एडसँगको सहकार्यमा नवप्रवर्तन सम्मेलन गर्न लागेको हो ।

सम्मेलनका क्रममा विज्ञान, प्रविधि र नवप्रवर्तन नीति, राष्ट्रिय नवप्रवर्तन प्रणाली सम्बन्धी फ्रेमवर्क र विश्व नवप्रवर्तन सूचाङ्क तथा राष्ट्रिय नवप्रवर्तन सूचाङ्क जस्ता विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

यो कार्यक्रमले प्राज्ञिक क्षेत्र, सरकार र सेवा क्षेत्रमा क्रियाशील अभ्यासकर्तालाई एक ठाउँमा ल्याउने बताइएकाे छ । देशमा अनुसन्धान र विकासलाई बढावा दिन, दिगो विकास लक्ष्य हासिल गर्न, नवप्रवर्तनका प्रतिभाहरूलाई एक स्थानमा ल्याउन तथा उनीहरूको भूमिकालाई विस्तार गर्न र विश्व नवप्रवर्तन सूचाङ्कमा नेपालको स्थान सुधार गर्ने बाटो पहिल्याउन राष्ट्रिय नवप्रवर्तन सम्मेलन आवश्यक रहेको आयोजककाे भनाइ छ ।

सम्मेलनका क्रममा नवप्रवर्तनको क्षेत्रमा क्रियाशील प्रतिभा प्रदर्शनका साथै नवप्रवर्तक र लगानीकर्तालाई प्रोत्साहन गरिने बताइएको छ । एक दिने यो सम्मेलन भर्चुअल तथा भौतिक उपस्थिति दुवैको मिश्रित ढाँचामा सञ्चालन हुनेछ ।

सम्मेलनका क्रममा प्यानल डिस्कसन, विज्ञहरूको प्रस्तुति तथा अन्य प्रदर्शनीहरू रहनेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को प्रमुख आतिथ्यता रहने कार्यक्रममा यूएनडीपीका आवासीय प्रतिनिधि आयश्नी मेडागाङ्गोडा-ल्याबे विशिष्ट अतिथि रहने नास्टले जनाएको छ ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापा, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्य, रिकास्टका पूर्व कार्यकारी निर्देशक डा. रामेश्वर अधिकारी लगायत वक्ताको रूपमा रहनेछन् ।

यसका साथै अन्य वक्तामा योङ इनोभेसन ल्याबका सीईओ विभुषण विष्ट, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेल, महिला उद्यमी महासङ्घकी अध्यक्ष निरु रायमाझी खत्री, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्राध्यापक डा. गोविन्द नेपाल, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, नास्टका प्राज्ञ डा. रमेशकुमार मास्के, राष्ट्रिय आविष्कार केन्दरका अध्यक्ष महावीर पुन, एफवान सफ्टका सीईओ सुवास शर्मा, नास्टका प्रविधि सङ्काय प्रमुख डा. रविन्द्र ढकाल लगायत रहेका छन् ।

पहिलो राष्ट्रिय नवप्रवर्तन सम्मेलनले सरकार, उद्योग र शैक्षिक क्षेत्रका व्यक्तिहरूलाई एकै स्थानमा ल्याउने उद्देश्य राखेको छ । सम्मेलनले सिकाइ आदानप्रदान गर्नुका साथै छलफल तथा सम्वाद वृद्धि गर्न र सरोकारवालाहरूबीच नीतिगत सल्लाह सुझाव लेनदेनको मौका नास्टको विश्वास छ ।

सम्मेलन स्थलमा सातै प्रदेशबाट प्रतिनिधित्व गरेका विभिन्न २० ओटा नवप्रवर्तनको प्रदर्शनी समेत हुनेछ ।

सम्मेलनको मिडिया पार्टनर रहेको टेकपानाले आफ्नो फेसबुक पेज र युट्युब च्यानलमा कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्नेछ ।

पछिल्लो अध्यावधिक: माघ १०, २०७९ ११:३४