close

एलजीबीटीक्यूआई युवाहरूको जीवन दर्शाउने वेब सिरिज 'बिकमिङ' सार्वजनिक

टेकपाना टेकपाना

माघ १०, २०७९ १०:५७

एलजीबीटीक्यूआई युवाहरूको जीवन दर्शाउने वेब सिरिज 'बिकमिङ' सार्वजनिक

काठमाडौं । एलजीबीटीक्यूआई युवाको कथा र उनीहरूको सामाजिक स्वीकार्यताको खोजीलाई समेटेर 'बिकमिङ' नामक वेब सिरिज सार्वजनिक गरिएको छ । सेभ द चिल्ड्रेन र ब्लु डायमन्ड सोसाइटी (बीडीएस)ले निर्माण गरेकाे यो वेब सिरिजमा एलजीबीटीक्यूआई समुदायका युवाको कथा समेटिएको छ ।

एलजीबीटीक्यूआई समुदायका युवाले आफ्नो पहिचान स्वीकार्न भागेका सामना र चुनौतीलाई उजागर गरिएको वेब सिरिजकी निर्देशक लुनिभा तुलाधरले बताइन् ।

वेब सिरिजको पटकथा तथा ढाँचा विकास गर्न एलजीबीटीक्यूआई युवासँग परामर्श, तथा कलाकार, लेखक, अभिनेता र अनुसन्धानकर्ताहरूसँग रचनात्मक सत्रहरूको आयोजना गरिएको उनले बताइन् ।

“हामीले एलजीबीटीक्यूआई समुदायका धेरै युवाहरू र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई नजिकबाट चिन्ने सहयोगीहरूसँग मिलेर विभिन्न कार्यशालाहरू गर्‍याैं । यसले हामीलाई एलजीबीटीक्यूआई युवाको वास्तविक जीवन प्रतिबिम्बित गर्ने कथा बनाउन मद्दत गरेको छ,'' तुलाधरले भनिन् ।

वेब सिरिज उत्पादनमा कलाकार लगायत ६० प्रतिशत एलजीबीटीक्यूआई समुदायका सदस्यहरूको संलग्नता रहको छ । सेभ द चिल्ड्रेनको सामाजिक व्यवहार परिवर्तनका लागि सञ्चार कार्यक्रम अन्तर्गत तयार पारिएको वेब सिरिज बिकमिङले एलजीबीटीक्यूआई समुदायसम्बन्धी रोचक तरिकाले जानकारी प्रदान गर्दै यस समुदायप्रतिको सामाजिक दृष्टिकोण परिवर्तन गर्ने उद्देश्य राखेको छ ।

यो वेब सिरिजले समाज तथा सञ्चारमाध्यममा वर्षौंदेखि रहिआएको एलजीबीटीक्यूआई समुदायको संकीर्ण चित्रणको विरुद्धमा गई मानवीय ढंगबाट एलजीबीटीक्यूआई समुदायका युवाहरूको कथा प्रस्तुत गर्दै उनीहरूलाई 'रोल मोडेल'को रूपमा अगाडी ल्याउँछ,'' सेभ द चिल्ड्रेनकी राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले भनिन् ।

सेभ द चिल्ड्रेन नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको वेब सिरिजमा लुनिभा तुलाधर, अमर दाहाल, अदिति शेर्पा, निर्भिक भट्टराई, युनिस गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ । 

 

पछिल्लो अध्यावधिक: माघ १०, २०७९ ११:३६