close

नेपाली डोमेनमै पोर्न साइट सञ्चालन, सरकारदेखि डोमेन रजिस्ट्री सबै बेखबर

हिक्मत आचार्य हिक्मत आचार्य

माघ १०, २०७९ २१:४०

नेपाली डोमेनमै पोर्न साइट सञ्चालन, सरकारदेखि डोमेन रजिस्ट्री सबै बेखबर

काठमाडौँ । नेपाली डोमेन डटएनपी (.np) मै खुलेआम पोर्न वेबसाइट सञ्चालन भइरहेको पाइएको छ । काण्ड डटकम डटएनपी नामक डोमेनमा अश्लील साइट सञ्चालनमा देखिएको हो ।

सन् २०२० मा दर्ता भएको यो वेबसाइटमा अश्लील कथा, अडियो तथा भिडिओ सामग्री राख्नुका साथै त्यसमार्फत पोर्न सामग्री बिक्री वितरण समेत हुने गरेका छन् । त्यसअघि अन्य नामबाट याे वेबसाइट सञ्चालन गरिएको यसका सञ्चालक विकास गुरुङ बताउँछन् ।

आफूले आधिकारिक नागरिकता दिएर सो डोमेन नेम लिएको उनको दाबी छ ।

"मान्छेको नाममा डोमेन दर्ता गर्दा नागरिकता माग्छ," उनी भन्छन्, "हामीले सम्पूर्ण प्रक्रिया पूरा गरेर डोमेन लिएका हौँ ।"

नेपालमा अश्लील वेबसाइटहरू प्रतिबन्धित छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १२१ लाई आधार मानेर यस्तो प्रतिबन्ध लगाइएको हो ।

उक्त दफाले यौनजन्य अश्लील सामग्रीको आदानप्रदान, प्रकाशन र प्रसारणमाथि बन्देज लगाएको छ । तर, नेपाली डोमेनमा सञ्चालित उक्त वेबसाइटमाथि भने कुनै पनि सरकारी निकायको नजर परेको छैन । यसबारे सञ्चालक आफैँ पनि जानकार छन् ।

उनी भन्छन्, "यो पुरानो डोमेन हो । त्यसमा वार्निङ देखाइएको छ । तर, पछिल्लो समयमा नेपालमा यस्तो गर्नु गैरकानूनी हो ।"

"अहिले नेपालको कानूनले चाहिँ यस्ता वेबसाइट प्रतिबन्ध लगाएको छ । पहिले पहिले चाहिँ त्यस्तो थिएन," उनी थप्छन् ।

गैरकानूनी भएको थाहा पाउँदा पाउँदै पनि वार्निङ दिएको भरमा गुरुङ उक्त साइट सञ्चालन गर्दै आएका छन् । नेपाल दूरसञ्चार प्रधिकरणले भने उक्त वेबसाइट बारेको जानकारी आफूलाई नभएको जनाएको छ ।

"यस्ता वेबसाइटहरू हामी बन्द गर्दै जान्छौँ, उनीहरू डोमेन परिवर्तन गरिरहन्छन्," प्राधिकरणका सह-प्रवक्ता अच्युतानन्द मिश्र भन्छन्, "अब हामी तत्कालै यो वेबसाइट नि बन्द गर्छौँ ।"

कसरी सम्भव भयो यस्तो डोमेन नेम लिन ?

अन्तर्राष्ट्रिय डोमेन एक्सटेन्सन डटकम लिनका लागि कुनै आधिकारिक कागजपत्र आवश्यक पर्दैन । तर, डटकम डटएनपी एक्सटेन्सन लिनका लागि भने आधिकारिक कागजपत्र बुझाउनु पर्छ ।

नेपाली डोमेन रजिस्ट्री मर्कन्टाइलका अनुसार कम्पनीका लागि डोमेन नेम लिन कम्पनी दर्ताको प्रमाण-पत्र आवश्यक हुन्छ । त्यस्तै व्यक्तिगत डोमेननेम लिन नागरिकता चाहिन्छ ।

विकास गुरुङको आफन्तको नाम कन्दा गुरुङ रहेछ । उनले सोही नागरिकताका आधारमा डोमेन नेम लिएको बताएका छन् ।

व्यक्तिगत प्रयोजनका लागि लिएको सो डोमेन नेम दुरुपयोग भएको मर्कन्टाइलका कर्मचारीले बताए । नाम नखुलाउने सर्तमा उनी भन्छन्, "हामीले सबै विवरण जाँच गरेर मात्र डोमेन नेम उपलब्ध गराइरहेका हुन्छौँ ।

यसमा नक्कली नामभन्दा पनि स्पेलिङले फरक पारेको हुनसक्छ । तर, यो डोमेन नेममा अश्लील सामाग्री राखेको छ भने दुरुपयोग भइरहेको छ ।" डोमेन नेम उपलब्ध गराइसकेपछि मर्कन्टाइलले डोमेन नेम सक्रिय छ वा छैन भन्ने मात्र जाँच गर्ने ती कर्मचारीले जनाए ।

पछिल्लो अध्यावधिक: माघ १०, २०७९ २१:४०