close

भीपीएन प्रयोग गर्दा गुगलले कसरी थाहा पाउँछ तपाईंको लोकेसन ?

टेकपाना टेकपाना

माघ ११, २०७९ १४:२९

भीपीएन प्रयोग गर्दा गुगलले कसरी थाहा पाउँछ तपाईंको लोकेसन ?

काठमाडौं । भीपीएन अर्थात् भर्चुअल प्राइभेट नेटवर्क प्रयोग गर्नुकाे मुख्य उद्देश्य नै आफ्नो वास्तविक आईपी एड्रेस लुकाएर अन्य कुनै आईपी एड्रेसमार्फत कुनै साइटमा पहुँच बनाउनु हो ।

यसले तपाईँको पहिचानलाई लुकाउन मद्दत त गर्छ, तर यसले तपाईँलाई अन्य कुनै लोकेसनमा देखाउन पनि सक्छ । त्यसैले कहिले तपाईँले गुगल म्याप खोल्दा अन्यभन्दा भीपीएनले आफ्नै लोकेसन देखाउँदा तपाईँ चकित पर्न सक्नुहुन्छ ।

कहिलेकाहीँ गुगल सर्च गर्दा भीपीएनको लोकेसन र भाषाभन्दा यसले तपाईँकै वास्तविक लोकेसन र तपाईँकै भाषा देखाउन पनि सक्छ ।  तर भीपीएन प्रयोग गर्दा पनि आखिर गुगललाई कसरी थाहा हुन्छ तपाईँको वास्तविक लोकेसन ? 

यसको एउटा कारण भनेको गुगलले अन्य वेबसाइट र एपहरूले जस्तो एउटै आईपी एड्रेसको भरमा तपाईँलाई ट्रयाक गर्दैन ।

विभिन्न विज्ञापनसम्म तपाईँको पहुँच पुर्‍याउनको लागि पनि गुगलले तपाईँको आईपी एड्रेसबाहेक अन्य कुरालाई पनि ट्रयाक गरेर तपाईँको लोकेसन पत्ता लगाउँछ ।  

भीपीएन प्रयोग गर्दा पनि गुगललाई कसरी थाहा हुन्छ तपाईँको वास्तविक लोकेसन ? 

१. तपाईँको फोन र ट्याब्लेटमा भएको जीपीएस 

तपाईँको फोन वा ट्याब्लेटमा रहेको जीपीएस प्रणालीमार्फत गुगलले तपाईँको वास्तविक स्थान थाहा पाउन सक्छ ।

गुगल म्याप वा अन्य म्यापिङ टुलहरूलाई तपाईँको डिभाइसमा पहुँच दिनु भनेको गुगललाई तपाईँको लोकेसनको बारेमा जानकारी दिनु हो ।

तपाईँले सो म्यापिङ टुलहरू बन्द नगर्दासम्म गुगलले सहजै तपाईँको वास्तविक लोकेसन पत्ता लगाउन सक्छन् । 

 

२. वाई-फाई लोकेसन ट्रयाकिङ 

गुगलले तपाईँको लोकेसन पत्ता लगाउनका लागि 'वाई-फाई लोकेसन ट्रयाकिङ' नामक जियोलोकेसन प्रणाली प्रयोग गर्छ । यो जीपीएस प्रणालीजस्तै हुन्छ । यसले तपाईँको वाई-फाई नेटवर्क र एक्सेस पोइन्टमार्फत लोकेसन पत्ता लगाउन सक्छ ।

गुगलसँग विश्वमा भएका सम्पू्र्ण वाई-फाई नेटवर्कको तथ्याङ्क संकलित भएका कारण पनि यो सहज भएको हो । तपाईँले एकपटक लगइन गरेको वाई-फाई नेटवर्क गुगलमा स्टोर भइसकेको हुन्छ ।

यसले गर्दा यदि तपाईँ सो वाई-फाई नेटवर्कमा जोडिनुभएको छैन भने पनि गुगलले तपाईँको लोकेसन ट्रयाक गर्न सक्छ । 

३. डिभाइसमा स्टोर भएका कुकिज 

कुकिज भनेको वेबसाइटहरूले पछिका दिनमा कुनै पनि कुरा सर्च गर्दा ठ्याक्कै भेटिनेगरी स्टोर गरिएको डेटा हो ।

यस्ता कुकिजले तपाईँको लगइन तथा अकाउन्ट सेटिङको विवरणसँगै तपाईँले सर्च गरेका विवरणहरूको विषयमा पनि जानकारी राख्दछ ।

यसले आधारभूत जानकारी मात्र भण्डारण गर्दैन, तपाईंका स्थान विवरण पनि भण्डारण गर्छन्, जसले गुगललाई तपाईं कहाँ हुनुहुन्छ भनेर जान्न मद्दत गर्न सक्छ ।  

४. तपाईँको गुगल अकाउन्ट 

के तपाईँसँग गुगल अकाउन्ट छ ? पक्कै पनि गुगल अकाउन्ट नभएको धेरै कम व्यक्ति होलान् । गुगल अकाउन्ट अथवा तपाईँको जिमेल नै लोकेसन ट्रयाकिङको मुख्य कारक हुनसक्छ ।

गुगल अकाउन्टबाट गुगलले तपाईँको लोकेसन ट्रयाक गर्नसक्ने विभिन्न कारणहरू छन्:

- यदि तपाईँको डिभाइसमा गुगल अकाउन्ट पहिले नै साइनअप गरिएको छ र तपाईँले पछि भीपीएन कनेक्ट गर्नुभएको छ भने गुगलले पहिले नै तपाईँको लोकेसन पत्ता लगाउन सकिने अवस्था हुन्छ । 

- गुगल अकाउन्ट साइनअप भएको डिभाइसमा सर्च भएका लोकेसनहरू पनि गुगलले पहिले नै स्टोर गरिसकेको हुन्छ । यसले गर्दा पनि पछि भीपीएन प्रयोग गर्दा यसले खास केही फरक पार्दैन । 

- गुगल म्यापमा पहिले नै आफ्नो घर अथवा कामको एड्रेस प्रयोग गर्दा पनि लोकेसन थाहा हुन्छ । 

- डिभाइसमा लोकेसन हिस्ट्री इनेबल गरेर राख्दा पनि भीपीएनले खास काम गर्दैन ।

यद्यपि यसको अर्थ भीपीएनले काम नै गर्दैन भन्ने चाँही होइन । भीपीएनले तपाईँको लोकेसन ट्रयाक गर्न असहज भने बनाएको हुन्छ  ।

पछिल्लो अध्यावधिक: माघ ११, २०७९ १४:४३