close

एन्ड्रोइड डिभाइसमा यसरी हटाउनुहोस् क्यास

टेकपाना टेकपाना

माघ १२, २०७९ १४:०

एन्ड्रोइड डिभाइसमा यसरी हटाउनुहोस् क्यास

काठमाडौं । यदि तपाईँले आफ्नो एन्ड्रोइड फोन अथवा ट्याबलेट स्लो भएको महसुस गर्नुभएको छ भने यो समस्याको समाधान आफैंले गर्न सक्नुहुन्छ । यसको पहिलो समाधानको रुपमा तपाईँले गर्ने काम भनेको मोबाइल रिस्टार्ट हो । त्यस्तै अर्को गर्न सकिने काम भनेको मोबाइलको स्टोरेज खाली गर्नु हाे ।

कतिपय अवस्थामा यी उपायले काम गर्छन् । तर यो दीर्घकालीन समाधान भने होइन । सबैभन्दा महत्त्वपूर्ण काम हो, डिभाइसको क्यास क्लियर गर्नु ।

यसले तपाईँको डिभाइसमा भएको अनावश्यक डेटा डिलिट गर्न सहयोग गर्छ । हाम्रो डिभाइसमा विभिन्न एप, लिंक तथा ब्राउजरहरूको क्यास डेटा हुने गर्छन् । ती क्यास डेटालाई हटाउने तरिका यहाँ उल्लेख गरिएको छ । 

एपको क्यास डेटा हटाउने तरिका: 

१. आफ्नो फोन वा ट्याबलेटमा इन्स्टल गरिएका एपको सूची हेर्नुहोस् 

आफ्नो डिभाइसमा इन्स्टल भएका एपहरूको सूची हेर्नेको लागि आफ्नो मोबाइलको सेटिङमा जानुहोस् र स्टोरेजमा क्लिक गर्नुहोस् । यसपछि 'एप' अप्सनमा क्लिक गर्नुहोस् । केही फोनहरूमा भने स्टोरेजमा नगई सोझै सेटिङ एपभित्रै एप्स भन्ने अप्सन पाउन सकिन्छ । अथवा मोबाइलको सर्च बक्समा गएर एप टाइप गरेर पनि उक्त सूची पाउन सकिन्छ । 

सामान्यतः एपहरू साइज अनुसार नै मिलेर बसेको हुन्छ । यदि यसो  छैन भने मोबाइलको दाहिनेपट्टि सबैभन्दा माथि भएको तीनओटा थोप्लामा क्लिक गरेर 'सर्ट बाइ साइज' मा क्लिक गरेर पनि सबैभन्दा धेरै साइज भएकोदेखि कम साइज भएको एपको सूची मिलाउन सकिन्छ । 

२. एपको क्यास क्लियर गर्नुहोस् 

आफ्नो एपको सूचीमा भएको कुनै पनि एप छनोट गर्नुहोस् र उक्त एपमा क्लिक गर्नुहोस् । यसपछि तपाईँले उक्तको साइज, प्रयोगकर्ताको डेटा, क्यासको साइज, कुल स्टोरेज लगायतका विवरणहरू देख्न सक्नुहुन्छ । पेजको सबैभन्दा माथि भने दुईओटा अप्सन हुनेछन्; क्लियर स्टोरेज र क्लियर क्यास ।

यसमा क्लियर क्यास अप्सनमा क्लिक गर्नुहोस् । यसरी नै प्रत्येक एपको क्यास हटाउन सकिन्छ । 

क्रोमको क्यास हटाउने तरिका 

- फोन वा ट्याब्लेटमा भएको क्रोम एप ओपन गर्नुहोस् 

- स्क्रिनको सबैभन्दा माथि दाहिनेतिर रहेको तीनओटा थोप्लामा क्लिक गर्नुहोस् 

- हिस्ट्री अप्सनमा क्लिक गरेर 'क्लियर ब्राउजिङ डेटा' मा क्लिक गर्नुहोस् । यहाँ विभिन्न अप्सनहरू आउँछन्  जहाँ कस्तो प्रकारको डेटा स्टोर भएको छ र यसले कस्ता प्रकारका विवरण स्टोर गरेको छ भन्ने लगायतका विवरणहरू दिइएको हुन्छ । सोही विवरणको आधारमा आफूलाई आवश्यक नभएको डेटा हटाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: माघ १३, २०७९ ९:१२