close

शिक्षामा कसरी प्रयोग गर्ने च्याट जीपीटी ?

टेकपाना टेकपाना

माघ १२, २०७९ १४:१९

शिक्षामा कसरी प्रयोग गर्ने च्याट जीपीटी ?

काठमाडौं । ‌ओपेन एआई नामक कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी सञ्चालनमा ल्याएको च्याटबट ‘च्याटजीपीटी’ अहिले चर्चामा छ । यसले केही टेक्स्ट कमान्डमा नै निबन्ध लेख्नेदेखि प्रोग्रामिङका लागि कोड लेख्नेसम्मका काम गर्छ ।

यसकारण यस प्लेटफर्मबारे सकारात्मक/नकारात्मक दुवै खालका टिप्पणीहरु आइरहेका छ्न् । न्यू योर्कजस्ता ठूला सहरका  सार्वजनिक विद्यालयले यसको प्रयोगमा रोक नै लगाएका छन् ।

त्यस्तै यसको प्रयोग केही नराम्रा काममा समेत हुन थालेको छ । तर यति हुँदाहुँदै पनि च्याटजीपीटीलाई विभिन्न सकारात्मक कामका लागि प्रयोग गर्न सकिन्छ ।

शिक्षा क्षेत्रमा निम्न काममा च्याटजीपीटी प्रयोग गर्न सकिन्छ: 

१. व्याकरण, शब्दावली र वाक्य संरचनामा सुझाव पाउन

च्याटजीपीटीको प्रयोग गरेर हामीले लेखेको वाक्यहरूको संरचना, त्यसमा प्रयोग भएको व्याकरण र शब्दावलीमा सुधार गर्न सकिन्छ । यसले लेखनमा सुधार गर्नसमेत सहयोग गर्छ । तर, यसले दिने सबै सुझाव आफ्नो लेखमा प्रयोग गर्दा भने सचेत हुनुपर्छ । 

२. निबन्धमा सुझाव पाउन

आफूले लेखेको निबन्ध यसमा पेस्ट गरी सुझाव माग्दा केही सल्लाह दिने गर्छ । हेर्दा सामान्य लागे पनि यसबाट निबन्धको ढाँचा, शब्द चयन आदि सुधार गर्न निकै उपयोगी हुन्छ । 

३. नयाँ विचारको सिर्जना

आफू एक्लै भएको बेलामा च्याटजीपीटी प्रयोग गरी कुनै पनि कुरामा मन्थन गर्न सकिन्छ । यसो गर्दा नयाँ विचार सिर्जना हुन सक्छ । कक्षाकोठामा छलफल गरेजस्तो त नहोला, तर यसबाट धेरै फाइदा लिन सकिन्छ ।

४. बहस/छलफल सिर्जना

विद्यार्थीको बौद्धिक क्षमता वृद्धि गर्न बहस तथा छलफल आवश्यक पर्छ । च्याटजीपिटीको प्रयोगबाट विद्यार्थीको मौलिक तर्कलाई अझ बलियो बनाउन सकिन्छ ।

त्यहाँ सामग्रीमा केन्द्रित प्रतिक्रिया आउने भएकाले बहस/छलफलमा थप मद्दत पुग्न सक्छ । यसले विद्यार्थीको लेखन र संशोधन प्रक्रियामा समेत मद्दत गर्न सक्छ ।

५. लेखन सीप सिक्न

गुगलमा सामान्य सर्च गर्दा सटीक उत्तर प्राप्त हुन्छ । त्यहाँ कुनै पनि भूमिका लेखिएर आउँदैन । तर त्यसको सट्टा च्याटजीपीटीमा भूमिकासहित उत्तर आउँछ ।

यसबाट विद्यार्थीले लिखित उत्तर दिने तरिका सिक्न सक्छन् । त्योसँगै यसबाट अन्य विविध लेखनीका सीपसमेत सिक्न सकिन्छ । जस्तो; यसले कविता, गीत आदि लेख्ने पनि गर्दछ । 

यी बाहेक अन्य काममा पनि यसलाई प्रयोग गर्न सकिन्छ । तर विद्यार्थी पूर्ण रूपमा यसमा भर भने पर्नुहुन्न । यसलाई वैकल्पिक स्रोतका रुपमा मात्र प्रयोग गर्नुपर्छ ।

पछिल्लो अध्यावधिक: माघ १२, २०७९ १४:१९