close

गेम खेल्दै विज्ञान विषय पढ्न सघाउने ५ वेबसाइट

टेकपाना टेकपाना

माघ १२, २०७९ १९:११

गेम खेल्दै विज्ञान विषय पढ्न सघाउने ५ वेबसाइट

काठमाडौं । बालबालिकाहरूलाई विज्ञान विषयमा रुचि जगाउन मद्दत गर्ने विभिन्न वेबसाइट अनलाइनमा उपलब्ध छन्,  जहाँ उनीहरुले विज्ञानसम्बन्धी रमाइलो खेल खेल्दै सिक्न सक्छन् ।

विज्ञान विषयका सामान्य नियमहरू खेलको माध्यमबाट सिकाइ गर्न यस्ता वेबसाइट निकै उपयोगी हुन्छन् ।  आज हामी यिनै विकल्पमध्ये पाँच वेबसाइटबारे जानकारी दिँदै छौँ । 

एबीसीया

बालबालिकालाई विभिन्न खेलको माध्यमबाट यस वेबसाइटमा विज्ञान, गणित, सामाजिक अध्ययन, कला आदिबारे सिकाइन्छ । यसमा विज्ञानसम्बन्धी केही रोचक खेल छन् ।

जस्तो: सौर्य प्रणाली, पाँच इन्द्रिय, अस्थिपन्जर प्रणाली आदिका बारेमा खेल रहेका छन् । विज्ञानबाहेक कार रेसिङ, बिँगो आदि खेलसमेत यहाँ उपलब्ध छन् । 

पीबीएस किड्स 

याे वेबसाइटमा बालबालिकामैत्री विज्ञानका खेल छन् । बालबालिकालाई सिर्जनात्मक तरिकाले विज्ञानका कुरा सिकाउन वेबसाइटमा अन्तरिक्ष, जीव विज्ञान, भूगोलशास्त्र, भौतिक विज्ञान लगायतका खेल छन् ।

त्यस्तै यहाँ बालबालिकाले एबीसी गेम, राइमिङ गेम, फुड गेम लगायतका खेल पनि खेल्न सक्छन् । 

 

ब्रेन पप

बालबालिकाका लागि यस वेबसाइटमा विभिन्न खेल उपलब्ध छन् । यहाँ कक्षागत हिसाबले ती खेलहरूको विभाजन गरिएको छ । विज्ञानबाहेक गणित, कला, इन्जिनियरिङ, अंग्रेजी, सामाजिक अध्ययन विषयसम्बन्धित खेल पनि उपलब्ध छन् ।


 

शेपर्ड साइन्स

विज्ञानका विभिन्न शाखाअनुसार यो वेबसाइटमा खेल राखिएका छन् । जस्तो; यस वेबसाइटमा फुड चेन गेम, एनिमल सेल गेम, एनिमल डाइट गेम, प्लान्ट सेल गेम लगायत धेरै प्रकारका खेल खेल्न सकिन्छ । 

 

मिस्टर नुस्बौम

यस वेबसाइटको ‘साइन्स सेक्सन’ मा विज्ञानका ३० भन्दा बढी खेलहरू छन् । ती खेललाई कक्षा, खेलको स्वरूप आदिका आधारमा चयन (फिल्टर) गर्न सकिन्छ ।

त्यस्तै यस वेबसाइटमा विज्ञानबाहेक अन्य खेल पनि रहेका छन् । 


 

पछिल्लो अध्यावधिक: माघ १३, २०७९ ८:१४