close

ईसेवाको कर्मचारी हुँ भन्दै १६ लाख बढी ठगी गरेको आरोपमा एक जना पक्राउ

टेकपाना टेकपाना

माघ १३, २०७९ १७:१४

ईसेवाको कर्मचारी हुँ भन्दै १६ लाख बढी ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ । ईसेवाको कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटका १९ वर्षीय शुभम साह रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार साहले आफूले ईसेवा आईडी बैंक खातासँग लिङ्कअप तथा खाता नवीकरण, केवाईसी फर्म अपडेट, स्टेटमेन्ट भेरिफाई, सेक्युअर ट्रान्सफर चार्ज नलाग्ने जस्ता विविध कार्य गर्ने भन्दै सर्वसाधारणलाई झुक्याउने गर्थे ।

त्यसपछि पीडितलाई विभिन्न मोबाइल नम्बरबाट झुक्यानमा पारी फोन सम्पर्क ओटीपी कोड माग्थे । यसरी पीडितको वालेटमा पहुँच पाइसकेपछि लिङ्क भएको बैङ्कमा पहुँच बनाएर रकम आफ्नो खातामा ट्रान्सफर गर्थे ।

उनले यसरी ठगी गरिरहेको भन्दै ३५ ओटा निवेदन परेपछि प्रहरीले खोजी कार्य अगाडि बढाएको थियो । प्रारम्भिक अनुसन्धानबाट साहले पीडित निवेदकले भनेको जस्तै गतिविधि गरेकाे पाइएकाे प्रहरीले उल्लेख गरेको छ ।

उनले ईसेवाका ग्राहकलाई आफू ईसेवाको मेनेजर भएको भन्दै प्रयोगकर्तालाई बोनसको लोभ देखाएर ओटीपी कोड हात पारेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

उनलाई ३५ जना पीडितको १६ लाख १३ हजार रुपैयाँ ठगी गरेको बताइएको छ । पक्राउ परेका साहबाट प्रहरीले एउटा बाइक, दुई ओटा मोबाइल, १० ओटा सिमकार्ड, तीन ओटा सिम, एउटा नागरिकता र एउटा सवारी चालक अनुमति पत्र बरामद गरेको छ ।

साहलाई पक्राउ गरी ठगी कसूरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: माघ १३, २०७९ १७:१४