close

मनी लाउन्डरिङमा फसेको त्रास देखाउँदै ठग्ने नेपाली महिला र भारतीय पुरुष पक्राउ

टेकपाना टेकपाना

माघ १५, २०७९ १७:५२

मनी लाउन्डरिङमा फसेको त्रास देखाउँदै ठग्ने नेपाली महिला र भारतीय पुरुष पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक मेसेञ्जरमार्फत ठगी गर्ने दुई जनालाई साइबर ब्यूरोले पक्राउ गरेको छ । प्रहरीले बकताराभिट्टा खरबारी दार्जिलिङका ४० वर्षीय मोहम्मद हाकिम र झापा मेचीनगर १३ कि ३७ वर्षीय बिममाया मगरलाई उक्त आरोपमा पक्राउ गरेको हो ।

ब्यूरोका अनुसार उनीहरूले पीडितलाई फेसबुक मेसेञ्जरमा आफू सिरियामा कार्यरत अमेरिकन आर्मी भएको र आफूसँग धेरै अमेरिकी डलर रहेको भन्दै मेसेज गर्ने गरेका थिए ।

"म उक्त रकम तपाईँलाई पठाइदिन्छु भनि रकमको फोटो समेत खिची पठाइ विभिन्न लोभ लालच देखाएर प्रलोभन पारिएको  थियो," ब्यूरोको प्रेस विज्ञप्तिमा घटना विवरण खुलाउँदै भनिएको छ, "तपाईँलाई मैले उपहार पठाइदिएको छु, एक दुई दिनपछि आइपुग्छ, रिसिभ गर्नु होला भनि उपहार पठाएको जस्तो भान पर्ने गरी सोको भर्पाई पठाइएको थियो ।"

पीडितले आफूलाई तपाईँको रकम आवश्यक छैन भनि जवाफ पठाउँदा उनीहरूले इन्टरनेसनल मोनेट्री फन्ड (आईएमएफ) को फन्ड अप्रुभल सर्टिफिकेटको फोटो दुरुपयोग गरी मनी लाउन्डरिङमा फसिसकेको भन्दै धम्की दिए ।

त्यसबाट छुट्कारा पाउन ह्वाट्सएपमा पठाएको बैङ्क खातामा रकम जम्मा गर्न भन्दै डर त्रासमा पारी विभिन्न मितिमा मोबाइल बैङ्किङमार्फत रकम पठाउन लगाई ठगी गरेको बताइएको छ ।

साइबर ब्यूरोले पक्राउ परेका हाकिम र मगरमाथि विद्युतीय माध्यम सम्बद्ध ठगी अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ सहमति लिई ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।  

पछिल्लो अध्यावधिक: माघ १५, २०७९ १७:५३