close

चार महिनामा साढे १४ लाख मोबाइल सेटको आईएमईआई दर्ता

टेकपाना टेकपाना

माघ १८, २०७९ १३:३७

चार महिनामा साढे १४ लाख मोबाइल सेटको आईएमईआई दर्ता

काठमाडौँ । नेपालमा चार महिनाको अवधिमा साढे १४ लाख बढी माेबाइल सेटकाे आईएमईआई नम्बर दर्ता भएको पाइएकाे छ । नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार एक प्रतिवेदन जारी गर्दै आर्थिक वर्ष २०७९-८० को पहिलो चौमासिक (साउन-कात्तिक) अवधिमा याे संख्यामा आईएमईआई दर्ता भएकाे जानकारी दिएकाे छ ।

मोबाइल सेटमा जतिओटा सिम सपोर्ट हुन्छन्, त्यसका त्यति नै आईएमईआई नम्बर हुने गर्छन् । अधिकांश एन्ड्रोइड वा बारफोनमा दुईओटा सिम प्रयोग गर्न सकिन्छ । तर, एप्पलको सन्दर्भमा भने आईफोन ११ अघिका फोनमा एउटा मात्र सिम लाग्छ । त्यसपछिका फोनमा ई-सिम र भौतिक सिम गरी दुई ओटा सिम सपोर्ट हुन्छन् ।

सो प्रतिवेदनअनुसार नेपालमा साउनदेखि कात्तिकसम्म कुल १४ लाख ५२ हजार ४५० ओटा आईएमईआई दर्ता भएको छ, जसमध्ये आयातकर्ताले २८ लाख ७४ हजार ७१३ आईएमईआई दर्ता गरेका छन् ।

यो अवधिमा व्यक्तिगत तर्फबाट कूल ३० हजार १८७ आईएईआई दर्ता भएको छ ।

आयातकर्ताले साउन महिनामा नाै नाख ८ हजार ५०४ ओटा आईएमईआई दर्ता गरेका छन् भने व्यक्तिगत तर्फबाट सो महिनामा एक हजार १८१ आईएमईआई दर्ता भएको छ ।

यसैगरी भदाै महिनामा ११ लाख १३ हजार ५६ आईएमईआई आयतकर्तामार्फत दर्ता भएको छ । व्यक्तिगत तर्फबाट सो अवधिमा १५ हजार ८२१ आईएमईआई दर्ता भएको देखिन्छ । त्यस्तै असोज महिनामा आयातकर्ता मार्फत सात लाख ४६ हजार ५३५ आईएमईआई दर्ता भएको थियो भने व्यक्तिगत तर्फबाट सो महिनामा १३ हजार १८५ आईएमईआई दर्ता भएका थिए ।

यस्तै कात्तिक महिनामा आयातकर्ताले एक लाख छ हजार ६१८ आईएमईआई दर्ता गरेका थिए । व्यक्तिगत तर्फबाट सो अवधिमा एउटा सेटको पनि आईएमईआई दर्ता नभएको दूरसञ्चार प्राधिकरणले उल्लेख गरेको छ ।

यो विवरणलाई हेर्ने हो भने प्रति महिना औसतमा तीन लाख ६३ हजार ११३ आईएमईआई दर्ता भएको देखिन्छ ।

पछिल्लो अध्यावधिक: माघ १८, २०७९ १३:४२