close

'ई-पासपोर्ट बनाउन नसक्दा वैज्ञानिकको अन्तर्राष्ट्रिय भेलामा जाने टुङ्गो लागेन'

टेकपाना टेकपाना

माघ १८, २०७९ २१:२७

'ई-पासपोर्ट बनाउन नसक्दा वैज्ञानिकको अन्तर्राष्ट्रिय भेलामा जाने टुङ्गो लागेन'

काठमाडौं । भूगर्भविद् रञ्जनकुमार दाहाल मार्चको पहिलो हप्तामा एक वैज्ञानिक भेलामा सहभागी हुने तयारीमा छन् । यो वैदेशिक कार्यक्रममा जान उनी आफ्नो राहदानी नवीकरण गर्ने प्रयास गरिरहेका छन् । तर राहदानी विभागको वेबसाइटमा निरन्तर समस्या आउँदा उनले अनलाइन आवेदन बुझाउन सकिरहेका छैनन् ।

दाहालको पुरानो राहदानीको सबै पाना सकिएपछि उनी नयाँ राहदानीका लागि आवेदन दिने प्रयासमा छन् । तर विभागको वेबसाइट नचल्दा अनलाइन आवेदन नै दिन नपाएपछि सामाजिक सञ्जालमा उनले आक्रोश पोखे ।

'मैले आफ्नो पासपोर्ट बनाउन सकिनँ ! देशको प्रतिनिधित्व गर्दै वैज्ञानिक भेलामा जानु छ । तर पासपोर्टको पेज सकिएको छ ! अब मैले के गरुँ ? कसलाई भनौं ? कुनै उपाय भए मेसेज इनबक्स गरिदिनुहुन सबैलाई अनुरोध गर्दछु ! अनलाइनमा फर्म भर्न सकिँदैन ! सर्भर बिजी छ रे ! यसबारे सरकारका सूचनाहरु मैले पढेको छु ।'

पटक-पटक प्रयास गर्दा पनि साइट नचलेपछि दाहाल अन्याेलमा छन् ।

'साइटमा धेरै ट्राफिक भएका कारण सर्भर बिजी भएकोले केही समयपछि प्रयास गर्नको लागि आग्रह गरेका छन् । तर साइट भने चलेको छैन,' टेकपानासँग कुरा गर्दै उनले भने, 'मार्चको पहिलो हप्तामा हुने कार्यक्रमका लागि जानुपर्ने छ, तर पासपोर्टको टुङ्गो लगाउन सकेको छैन ।'

सरकारले अत्यावश्यक परेकाका लागि छिटो राहदानी उपलब्ध गराउने भनेपनि आवेदन नै दिन नसकेपछि अगाडिको काम कसरी गर्छ भन्ने उनको प्रश्न छ । उनी अझै पनि अन्य साथीहरूको सहयोगमा राहदानीका लागि अनलाइन आवेदन दिने प्रयासमा छन् ।

राहदानी विभागले राहदानीको अनलाइन आवेदनलाई व्यवस्थापन गर्न नयाँ योजना बनाएर अगाडि बढे पनि समस्या भने जस्ताको तस्तै छ । माघ १६ गतेदेखि लागू हुने गरी विभागले प्रतिदिन एक महिनाका लागि १५०० आवेदन लिने व्यवस्था ल्याएको छ । यद्यपि अहिले पनि विभागको साइटमा पहुँच सहज हुन सकेको छैन ।

पछिल्लो अध्यावधिक: माघ १८, २०७९ २१:३४