close

२०० मेगापिक्सेल क्यामेरासहित सामसङको महङ्गो फोन सार्वजनिक, कत्तिको देला आईफोनलाई टक्कर ?

टेकपाना टेकपाना

माघ १९, २०७९ ११:४७

२०० मेगापिक्सेल क्यामेरासहित सामसङको महङ्गो फोन सार्वजनिक, कत्तिको देला आईफोनलाई टक्कर ?

काठमाडौँ । सामसङको बहुप्रतिक्षित फ्ल्यागशिप स्मार्टफोन सिरिज एस २३ सार्वजनिक भएको छ । कम्पनीले बुधबार आयोजित अनप्याक्ड इभेन्ट मार्फत उक्त सिरिजका फोन बजारमा ल्याएको हो । 

एस २३, एस २३ प्लस र एस २३ अल्ट्रा गरी तीन मोडेलमा सार्वजनिक भएको यो सिरिजमा कम्पनीले क्यामेरा र गेमिङ क्षमतालाई सुधारिको दाबी गरेको छ । सबै मोडेलमा १२० हर्ज रिफ्रेश रेट भएको कोर्निङ गोरिल्ला ग्लास भिक्टस टु प्रोटेक्सन सहित डाइनामिक एमोलेड डिस्प्ले दिइएको छ ।

अन्डर डिस्प्ले अल्ट्रासोनिक फिङ्गरप्रिन्ट रहेको यो सिरिजमा एक्सिलेरोमिटर, जाइरो, प्रोक्सिमिटी, कम्पास तथा ब्यारोमिटर जस्ता आधारभूत सेन्सरहरू रहेका छन् । कम्पनीका अनुसार सबै फोनमा डेस्कटप अनुभवका लागि सामसङ वायरलेस डेस्क र सामसङ डेस्क राखिएको छ । 

कम्पनीले एस २३ को सुरुवाती मूल्य ७९९ डलर (करिब एक लाख चार हजार ४९३ रुपैयाँ) राखेको छ भने एस २३ प्लसका लागि सुरुवाती मूल्य १००० डलर (करिब एक लाख तीस हजार ७८० रुपैयाँ ) तोकेको छ ।

यसमा सबैभन्दा बढी विशेषता र आकर्षक मानिएको एस २३ अल्ट्राको सुरुवाती मूल्य भने १२०० डलर (करिब एक लाख ५६ हजार ९३६ रुपैयाँ ) छ ।

 

सामसङ एस २३

सामसङ एस २३ मा ६.१ इन्चको डिस्प्ले छ ।  एन्ड्रोइड १३ र वन यूआई ५.१ मा आधारित यो फोन क्वाल्कम एसएम ८५५० स्नापड्रागन ८ जेन टु चिपसेटद्वारा सञ्चालित छ । यो चिपसेटलाई कम्पनीले संसारकै शक्तिशाली चिपसेट भएको दाबी गरेको छ ।

त्यस्तै आठ जीबी र्‍याम रहेको यो फोन १२८ जीबी, २५६ जीबी र ५१५ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सामसङ एस २३ को आधारभूत मोडेलमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १० मेगापिक्सेलको टेलिफोटो लेन्स र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा दिइएको छ । सेल्फी पारखीका लागि यस मोडेलमा १२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा समावेश गरिएको छ ।

३९०० एमएएच ब्याट्री क्षमता भएको यो फोन चार्ज गर्न २५ वाटको तारयुक्त चार्जर उपलब्ध गराउने कम्पनीले बताएको छ । जसले फोनलाई आधा घण्टामै ५० प्रतिशत चार्ज गर्न सक्छ । यससँगै कम्पनीले १० वाटको वायरलेस चार्जर र ४.५ वाट रिभर्स वायरलेस चार्जर समेत उपलब्ध गराउने छ ।

यो फोनको सुरुवाती मूल्य ७९९ डलर (करिब एक लाख ४ हजार ४९३ रुपैयाँ) रहेको छ । फेब्रुअरी १७ बाट प्रि-अर्डर गर्न सकिने यो फोन बजारमा कहिले उपलब्ध हुन्छ भन्ने कुरा भने अझै स्पष्ट खुलाइएको छैन ।

 

सामसङ एस २३ प्लस

सामसङ एस २३ प्लसमा ६.६ इन्च आकारको डिस्प्ले राखिएको छ । एन्ड्रोइड १३ र वन यूआई ५.१ मा आधारित यो फोन क्वाल्कम एसएम ८५५० स्नापड्रागन ८ जेन टु चिपसेटमार्फत सञ्चालित छ । यो चिपसेटलाई कम्पनीले संसारकै शक्तिशाली चिपसेटका रूपमा दाबी गरेको छ ।

त्यस्तै आठ जीबी र्‍याममा उपलब्ध हुने यो फोन २५६ जीबी र ५१५ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । सामसङ एस २३ प्लस मोडेलमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १० मेगापिक्सेलको टेलिफोटो र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा राखिएको छ ।

सेल्फी पारखीका लागि यो मोडेलमा १२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ । ४७०० एमएएच ब्याट्री क्षमताको यो फोन चार्ज गर्न ४५ वाट वायर्ड चार्जर उपलब्ध गराउने कम्पनीले बताएको छ । जसले फोनलाई आधा घण्टामै ६५ प्रतिशत चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।

यससँगै कम्पनीले १० वाटको वायरलेस चार्जर र ४.५ वाट रिभर्स वायरलेस चार्जर उपलब्ध गराउने भएको छ । यो फोनको सुरुवाती मूल्य ९९९.९९ डलर (करिब एक लाख ३० हजार ७७८ रुपैयाँ) रहेको छ ।

फेब्रुअरी १७ बाट प्रिअर्डर गर्न सकिने यो फोन पनि बजारमा कहिले उपलब्ध हुन्छ भन्ने खुलाइएको छैन ।

सामसङ एस २३ अल्ट्रा

सामसङ एस २३ अल्ट्रामा ६.८ इन्चको डिस्प्ले छ । एन्ड्रोइड १३ र वन यूआई ५.१ मा आधारित यो फोन क्वाल्कम एसएम ८५५० एसी स्नापड्रागन ८ जेन टु चिपसेटद्वारा सञ्चालित छ ।

यो चिपसेटलाई कम्पनीले संसारकै शक्तिशाली चिपसेटका रूपमा दाबी गरेको छ । त्यस्तै र्‍यामका लागि ८ जीबी र १२ जीबी गरी दुई विकल्पमा उपलब्ध हुने यो फोन २५६ जीबी, ५१५ जीबी, र एक टीबी इन्टर्नल स्टोरेज भेरियन्टमा पाउन सकिने बताइएको छ ।

सामसङ एस २३ को अल्ट्रा मोडेलमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा, १० मेगापिक्सेलको टेलिफोटो र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा राखिएको छ । सेल्फी पारखीका लागि यो मोडेलमा १२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा समावेश गरिएको छ ।

कम्पनीका अनुसार यो मोडेलमा अल्ट्रा वाइड ब्यान्ड (यूडब्लूबी) सपोर्ट रहेको छ ।

५००० एमएएच ब्याट्री क्षमता भएको यो फोन चार्ज गर्न ४५ वाटको तारयुक्त चार्जर उपलब्ध गराउने कम्पनीले बताएको छ । जसले फोनलाई आधा घण्टामै ६५ प्रतिशत चार्ज गर्न सकिनेछ ।

यससँगै कम्पनीले १० वाटको वायरलेस चार्जर र ४.५ वाटको रिभर्स वायरलेस चार्जर समेत दिने छ । यो फोनको सुरुवाती मूल्य ११९९.९९ डलर (करिब एक लाख ५६ हजार ९३४ रुपैयाँ) राखिएको छ । फेब्रुअरी १५ बाट प्रि-अर्डर गर्न सकिने यो फोन बजारमा कहिले उपलब्ध हुन्छ भन्ने खुलाइएको छैन ।

 

 

पछिल्लो अध्यावधिक: माघ १९, २०७९ ११:४७