close

पहिलो पटक एकैदिनमा १२ अर्बले बढ्यो मार्क जुकरबर्गको सम्पत्ति

टेकपाना टेकपाना

माघ २०, २०७९ ८:९

पहिलो पटक एकैदिनमा १२ अर्बले बढ्यो मार्क जुकरबर्गको सम्पत्ति

काठमाडौँ । मेटाका संस्थापक मार्क जुकरबर्गको सम्पत्ति पहिलो पटक एकदिनमा १२ अर्बले बढेको छ । उनको कुल सम्पत्ति ६७.६ अर्ब डलर रहेकोमा बिहीबार १२.४ अर्बले बढ्दा ६७.६ अर्ब पुगेको हो ।

फोर्ब्स म्यागाजिनका अनुसार उनको कम्पनी मेटाको शेयर २३ प्रतिशत वृद्धि हुँदा उनको सम्पत्तिमा पनि उल्लेखनीय वृद्धि भएको हो । अहिले मेटा नाम रहेको जुकरबर्गको कम्पनी फेसबुक पहिलो पटक सन् २०१२ मा पब्लिक कम्पनी भएको थियो । त्यो समयदेखि कम्पनीको शेयर मूल्य सबैभन्दा पहिलो पटक यो सङ्ख्याले वृद्धि भएको छ ।

कुनै समय जुकरबर्ग विश्वका शिर्ष १० धनाड्यहरूमा पर्थे । उनले आफ्नो कम्पनी रिब्रान्ड गर्दै मेटा नाम राखेपछि उनको कम्पनीको शेयर लगातार खस्किरहेको थियो । मेटाको शेयर मूल्य घट्नुका पनि विविध कारण छन् । 

विशेषगरी प्रविधिको दुनियाँमा नयाँ काम गरि चर्चामा आइरहने मार्क जुकरबर्गको मेटाभर्स परियोजना असफल हुँदा उनी घाटामा गएको धेरैको तर्क छ । त्यसबाहेक पनि बजारमा राम्रो प्रभाव पारेको उनको कम्पनी फेसबुकको प्रतिद्वन्द्वीका रूपमा टिकटकको उदय भयो । त्यसपछि कम्पनीको मूल्य लगातार ओरालो लागिरहेको थियो ।

मेटाको शेयरमा उल्लेखनीय वृद्धि हुँदा जुकरबर्ग अहिले विश्वका धनाड्यको १६ औँ स्थानमा छन् । सेप्टेम्बर २०२१ मा १३६ अर्ब डलरका साथ जुकरबर्ग शीर्ष तेस्रो स्थानमा थिए ।

मेटाको अधिकांश शेयर जुकरबर्गसँग भएकाले उनको सम्पत्ति कम्पनीको शेयरमा निर्भर हुन्छ । हालसालै मात्र कम्पनी घाटामा गएको भन्दै मेटाले ११ हजार कर्मचारी बर्खास्त गरेको थियो । 

त्यस्तै २०२२ मा वार्षिक नाफा ४१ प्रतिशतले घटेको कम्पनीको वार्षिक प्रतिवेदनमा उल्लेख छ । उनको कम्पनी मेटाको भर्चुअल तथा अगमेन्टेड रियालिटी आर्म, रियालिटी ल्याबका कारण कम्पनीले हरेक त्रैमासिकमा ४.३ अर्ब डलर घाटा ब्यहोर्दै आएको छ । 

त्यस्तै कम्पनीले अघिल्लो वर्षको तुलनामा २०२२ को अन्तिम चौमासिकमा कम्पनीको आम्दानी ४.५ प्रतिशतले घटेको उल्लेख गरेको थियो ।

बिहीबार मेटाको शेयर मूल्य २३ प्रतिशतले वृद्धि भएको थियो । जुन जुलाई २०१३ पछि सबैभन्दा बढी अंकले वृद्धि भएको हो । यद्यपि कम्पनीको अहिलेको शेयर मूल्य २०२१ सेप्टेम्बरको भन्दा ५१ प्रतिशत कम हो । इतिहासमा मेटाको शेयर सबैभन्दा बढी सेप्टेम्बर २०२१ मा पुगेको थियो ।

 

पछिल्लो अध्यावधिक: माघ २०, २०७९ ९:१६