close

'नेपाली गर्ल चाहिन्छ ?' भन्दै मेसेज पठाएर बैंक खाता ह्याक, ८ जना पक्राउ

टेकपाना टेकपाना

माघ २१, २०७९ ९:३६

'नेपाली गर्ल चाहिन्छ ?' भन्दै मेसेज पठाएर बैंक खाता ह्याक, ८ जना पक्राउ

काठमाडौं । पछिल्लो समय 'नेपाली गर्ल' नामको मालवेयर फैलिएपछि विभिन्न बैंकका ग्राहकको खाता ह्याक हुन थालेको छ । यो एपीके फाइलका कारण एकपछि अर्को गर्दै मोबाइल बैंकिङ, डिजिटल वालेट तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरू ठगिन थालेका छन् ।

हालै प्रहरीले 'नेपाली गर्ल' नामको मालिसियस एपमार्फत विभिन्न व्यक्तिको बैंक खाता ह्याक गर्ने एक गिरोह नै पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साका अजय चौधरी, राजु पटेल, साहिल परवेज, दिनेश राउत, शिवशंकर राउत, रौतहटकी रविना चौंधरी, बाराका सन्तोष कुँवर, सप्तरीका दिलीप चौंधरी र भारत बिहार प्रदेशका अवधेश कुमार रहेका छन् ।

उनीहरूलाई काठमाडौं र मकवानपुरको विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता दीपक भारतीले बताए । ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एसिया बैंकको खाता ह्याक गरी विभिन्न व्यक्तिका नामका ईसेवा र खल्ती वालेटमा चार लाख बढी रकम ट्रान्सफर गरेको उजुरी दिएपछि अनुसन्धानका क्रममा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट ९ थान मोबाइल, १ थान ल्यापटप र ५ थान एटीएम कार्ड पनि बरामद गरिएको छ । उनीहरु आफैंले यस्ताे एप बनाएर २० जनाभन्दा धेरैलाई ठगी गरेको पाइएकाे प्रवक्ता भारतीले टेकपानालाई जानकारी दिए ।

उनका अनुसार आरोपितमाथि थप अनुसन्धान भइरहेको छ ।

'नेपाली गर्ल' नामको एपीकेमार्फत मोबाइल तथा सामाजिक सञ्जालमा लिंक पठाउने र सो लिंक क्लिक गरेमा डिभाइसमा यस्तो मालवेयर स्वतः इन्स्टल भई बैंकिङ खातामा ह्याकरले पहुँच पाउँछन् । यस्ताे लिंकमा क्लिक गर्दा प्रयोगकर्ताले थाहै नपाई उनीहरूको डेटा ह्याकरको हातमा पुग्न सक्छ ।

एकपटक एपीके फाइल मोबाइलमा इन्स्टल भइसकेपछि यसले फोनमा मालिसियस कोड छोड्ने र फोनको सबै प्रणाली नै आफ्नो कब्जामा लिनसक्ने साइबर सुरक्षा जानकारहरूले बताएका छन् ।

नेपाली गर्ल भाइरस फैलिएपछि विभिन्न बैंक तथा वित्तीय संस्था तथा भुक्तानी सेवाप्रदायकले आफ्ना ग्राहकलाई सचेत गराइरहेका छन् । 

गत बुधबार नबिल बैंकले जारी गरेकाे एक सूचनामा भनिएकाे छ, "विभिन्न सामाजिक सञ्जालमा अज्ञात नम्बरबाट लिङ्क क्लिक तथा एप इन्स्टल गर्नुहोस् भनेर मेसेज आउने गरेको पाइएको छ । यस्ता लिङ्क क्लिक वा एप इन्स्टल गर्दा तपाईंको मोबाइल बैंकिङमा रहेका संवेदनशील जानकारीहरू र अन्य डिजिटल प्लेटफर्महरू ह्याक भई दुरुपयोग हुनसक्ने भएकाले यस्ता ठगीबाट टाढा रहन र सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछौं ।"

सम्बन्धित समाचार: 'नेपाली गर्ल'को नाममा यसरी फैलिँदैछ खतरनाक एपीके, जुनसुकै बेला रित्तिन सक्छ तपाईँको बैङ्क खाता

पछिल्लो अध्यावधिक: माघ २१, २०७९ १०:१७