close

अब सेवाप्रदायकले ग्राहकलाई न्यूनतम इन्टरनेट स्पिडको ग्यारेन्टी गर्नुपर्ने

टेकपाना टेकपाना

फागुन २, २०७९ ११:१६

अब सेवाप्रदायकले ग्राहकलाई न्यूनतम इन्टरनेट स्पिडको ग्यारेन्टी गर्नुपर्ने

काठमाडौं । अब इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले आफ्ना ग्राहकलाई न्यूनतम स्पिडको ग्यारेन्टी दिनुपर्ने भएको छ । दूरसञ्चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली, २०७९ जारी गर्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो व्यवस्था गरिएको हो ।

जारी विनियमावली आगामी १ वैशाखदेखि लागू हुने बताइएको छ । विनियमावलीको अनुसूची १ अ अन्तर्गत दूरसञ्चार सेवा सञ्चालन गर्दा कायम गर्नुपर्ने न्यूनतम गुणस्तर सम्बन्धी व्यवस्था गरिएको छ । जसअन्तर्गत बुँदा ङ (४) मार्फत फिक्स्ड लाइन इन्टरनेट स्पीडको न्यूनतम प्रत्याभूति गरिएको छ ।

यसअनुसार ग्राहकले खरिद गरेको इन्टरनेट सेवाको स्पिडको तुलनामा सेवा व्यस्त रहने समयमा ग्राहकले प्राप्त गर्नुपर्ने न्यूनतम स्पिड ग्यारेन्टी गरिएको हो ।

"सेवाप्रदायकले ग्राहकसँग गर्ने खरिद सम्झौतामा शेयर्ड ब्यान्डविथ उपलब्ध गराएको अवस्थामा ग्राहकले खरिद गरेको सेवाको स्पिड, शेयरिङ रेसियो तथा ग्राहकले प्राप्त गर्ने स्पीडको न्यूनतम प्रत्याभूतिको विवरण त्यस्तो सम्झौतामा उल्लेख गर्नुपर्नेछ," विनियमावलीमा भनिएको छ ।

नयाँ व्यवस्था अनुसार नेटवर्क व्यस्त रहने समयमा समेत ग्राहकले खरिद गरेको न्यूनतम स्पीड प्राप्त गर्ने अधिकार राख्नेछन् । उदाहरणका लागि १०० एमबीपीएसको शेयर्ड इन्टरनेट ब्यान्डविथ खरिद गरेका ग्राहकले सोको शोको शेयरिङ रेसियो १ः४ भएको खण्डमा ग्राहकले न्यूनतम २५ एमबीपीएस स्पिड प्राप्त गर्नुपर्नेछ ।

यसरी निर्धारित न्यूनतम स्पिडको इन्टरनेट सेवा ग्यारेन्टी गर्न नसक्ने सेवाप्रदायकले ग्राहकलाई क्षतिपूर्ति दिनुपर्ने कानूनी व्यवस्था समेत विनियमावलीले गरेको  छ ।

पछिल्लो अध्यावधिक: फागुन २, २०७९ ११:१८