close

अनेकौं 'रोडब्लक' ले सरकारी वेबसाइट खोल्नै मुस्किल

हिक्मत आचार्य हिक्मत आचार्य

फागुन ५, २०७९ १६:२७

अनेकौं 'रोडब्लक' ले सरकारी वेबसाइट खोल्नै मुस्किल

काठमाडौं । वेबसाइटमा प्रयोगकर्तालाई अडाइराख्न युजर इन्टरफेस (यूआई) महत्त्वपूर्ण पक्ष मानिन्छ । वेबसाइटको कलर, फन्ट, डिजाइन लगायत सूक्ष्म कुराले प्रयोगकर्ता आकर्षण गर्न ठूलो भूमिका खेल्छन् । तर, नेपालका सरकारी वेबसाइट भने प्रयोग गर्नै सकस पर्नेगरी तयार पारेको पाइन्छ ।

सरकारी कार्यालयले अनलाइनबाटै विभिन्न किसिमका सार्वजनिक सेवा प्रदान गर्न भन्दै वेबसाइट सञ्चालन गरिरहेका छन् । तर सेवाग्राहीले भिजिट गर्ने यस्ता वेबसाइटको 'ल्यान्डिङ पेज' धेरैका लागि टाउको दु:खाइको विषय बन्ने गरेकाे छ ।

कुनै पनि वेबसाइट खाेल्दा सबैभन्दा पहिले जुन पेज खुल्छ, त्यसैलाई ल्यान्डिङ पेज भनिन्छ । यस्ताे पेजमा राखिने 'राेडब्लक' वा सूचनाले अधिकांश प्रयोगकर्ताको प्रयोग अनुभव नै खल्लो बनाएको छ ।

वेबसाइट तथा सफ्टवेयर निर्माण कम्पनी स्वीभ्ट टेक्नोलोजीका यूआई/यूएक्स हेड राहुल गुप्ता भन्छन्, "सरकारी वेबसाइटको ल्यान्डिङ पेजमा देखिने अनावश्यक नोटिसले युजर एक्सपिरियन्स बिगारिरहेकाे छ । अझ अनलाइनकाे साधारण ज्ञानमात्रै भएका सेवाग्राहीले सरकारी वेबसाइटमा धेरै झन्झट व्यहाेरिरहेका छन् । ''

यही कुरामा सहमति जनाउँदै हाम्रोपात्रोका ग्राफिक्स डिजाइनर आनन्दकुमार महर्जन पनि ल्यान्डिङ पेजमा छरिएर आउने सूचनाले प्रयाेगकर्ता 'फ्रस्टेटेड' बन्ने गरेकाे सुनाउँछन् । 

हाल प्राय: सबै सरकारी वेबसाइट खोल्दा रोडब्लक देखिन्छ, जसमा कार्यालयका सूचना राखिन्छन् । कतिपय वेबसाइटमा चार ओटासम्म रोडब्लक राखिएको छ, जुन स्वतः स्किप नहुने भएकाले प्रयोगकर्ताले नै हटाउनुपर्ने हुन्छ ।

गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सहरी विकास मन्त्रालय, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्रसाइट सूचना तथा प्रसारण विभाग लगायतका वेबसाइटमा अनुपयुक्त ल्यान्डिङ पेज देखिन्छ ।

वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७८ ले सबै सरकारी कार्यालयमा एउटै डिजाइनको वेबसाइट बनाउनुपर्ने व्यवस्था गरेपनि अधिकांश वेबसाइट प्रयाेगकर्तामैत्री बन्न सकेका छैनन् ।

सूचना प्रविधि विभाग लगायत अन्य केही सरकारी वेबसाइटमा नयाँ डिजाइन लागू भएकाे साे विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले बताए । अन्य निकायकाे वेबसाइटमा पनि निर्देशिका अनुसारकाे डिजाइन लागू गराउने प्रयास भइरहेकाे उनले सुनाए ।

"सबै सरकारी कार्यालयका वेबसाइटको डिजाइन एउटै भए यस्ता समस्या हट्दै जानेछन्," उनले भने, "त्यसबाहेक पनि हामीले युजर एक्सपिरियन्सलाई विशेष ध्यान दिएका छौँ ।"

युजर इन्टरफेसका सन्दर्भमा सरकारी कार्यालय जिम्मेवार नभएकाे स्वीभ्ट टेक्नोलोजीका गुप्ताको भनाइ छ ।

"नेपालको सरकारी साइटको यूआई पनि त्यति राम्रो छैन । ​वेबसाटइहरू उस्तै छन् तर, यूआईमा कसैले पनि काम गरिरहेको देखिँदैन," उनी भन्छन्, "प्रयोगकर्तालाई वेबसाइटमा 'इन्टरयाक्ट' गर्न सरकारी कार्यालय सफल छैनन् । यसमा धेरै कुरा सुधार गर्नुपर्नेछ ।''

सरकारी वेबसाइटमा बटनको पोजिसन, काम गर्ने प्रोसेस पनि लामो र झन्झटिलो भएको उनको अनुभव छ ।

वेबसाइटमा प्रयोगकर्तालाई आकर्षण गर्ने सबैभन्दा मुख्य कुरा ल्यान्डिङ पेज भएकाे हाम्राेपात्राेका महर्जनकाे तर्क छ । ​तर ल्यान्डिङ पेजमा देखिने अनावश्यक राेडब्लक र सूचनाले प्रयोगकर्ताको अनुभव खल्लो बनाइरहेकाे उनी बताउँछन् ।

 "ल्यान्डिङ पेज खोल्दा त्यसमा नोटिसको पप-अप आउँछ," स्वीभ्ट टेक्नोलोजीका गुप्ता भन्छन्, "त्यसमा सुरुमै पप-अप देखाउनु हुँदैन । पेज स्क्रोल गर्दै गएपछि बीचमा त्यस्ता सूचना राख्दा राम्रो हुन्छ ।"

यता हाम्राेपात्राेका महर्जन वेबसाइटमा फुल पेज नोटिस नराखेर आधा वा सानो बनाएर राख्दा प्रयोगकर्तालाई झन्झट नलाग्ने भनाइ राख्छन् । "दायाँ वा बायाँतर्फ सानो आइकन राखेर त्यसैमा नोटिस देखाउन पनि सकिन्छ," उनी भन्छन्, "यसाे गर्दा प्रयोगकर्ता नोटिस के रहेछ भन्ने जान्न चाह्यो भने त्यहीँ गएर क्लिक गर्न सक्ने भयाे ।"

त्यस्तै पप-अपमा देखिने सूचनाको क्रस चिह्नमा क्लिक गर्दा पनि केही सूचना हटाउनै प्रयाेगकर्तालाई​ सकस परिरहेकाे छ । छेउछाउ खोजेर क्लिक गर्दा मात्र राेडब्लक हट्ने बाध्यता छ । यस्तोमा स्किप लेखेको वा क्रस चिन्ह राखेको ठाउँमा क्लिक गर्दा विज्ञापन सोझै हट्ने व्यवस्था मिलाउन सकिने उनीहरू बताउँछन् ।

''यसैगरी विज्ञापन केही समयको अन्तरालमा स्वतः हट्ने व्यवस्था मिलाउन सकिन्छ । यदि धेरै समय लाग्ने सूचना समावेश गरिएको छ भने उक्त सूचना कहाँ क्लिक गर्दा पढ्न सकिन्छ भन्ने देखाउनुपर्थ्याे,'' यूएक्स कामकाे पनि अनुभव संगालेका महर्जन भन्छन् ।

पप-अपमा आएका धेरै नोटिस स्किप गर्दै जाँदा प्रयोगकर्ता निराश हुने विभिन्न अध्ययनले देखाएको छ । त्यस्तै पप-अप नोटिसमा स्किप गर्ने चिन्ह वा सङ्केत पनि एउटै ठाउँमा राखिएको पाइँदैन, जसले गर्दा प्रयोगकर्तालाई स्किप बटन खोज्नै समस्या भइरहेको हुन्छ ।

"हामीले यूआई, यूएक्स डिजाइनको तालिम लिँदा तल दायाँतर्फ राख्न सुझाव दिइएको हुन्छ । किनभने सबैभन्दा पहिले मानिसको आँखा र औंला नै त्यही जान्छ," गुप्ता भन्छन् ।

यही भनाइमा समर्थन जनाउँदै महर्जन भने स्किप बटन रातोमा सेतो हुनुपर्नेमा जोड दिन्छन् । यदि स्किप गर्ने अप्सन खोज्नुपर्ने झन्झट भयो भने युजर एक्सपिरियन्स बिग्रिने अध्ययनले देखाएको उनीहरूको भनाइ छ ।

यसैगरी वेबसाइटमा एउटै व्यक्तिले बारम्बार साइट भिजिट गर्दा त्यही पप-अप नोटिस देखाइरहन्छ । यसरी एउटै सूचना बारम्बार देख्दा प्रयोगकर्ताको अनुभव खराब हुन सक्छ । त्यसैले वेबसाइटमा कुकिज सेभ गर्ने अप्सन समावेश गर्नुपर्नेमा राहुलको सुझाव छ ।

"यदि हामीले वेबसाइटभित्र गइसकेपछि पुनः रिफ्रेश गर्‍यौं भने फेरी त्यही नोटिस देखाउँछ । त्यसैले बारम्बार एउटै नोटिस देखाउँदा पनि प्रयाेगकर्ता डिस्ट्रयाक्ट हुन्छन्," गुप्ता भन्छन्, "वेबसाइटले कुकिज सेभ गर्ने विकल्प दिएर हरेक पटक रिफ्रेश गर्दा नोटिस नदेखिने बनाउन सकिन्छ ।"

यस्तो अवस्थामा कतिपय संवेदनशील वा महत्त्वपूर्ण सूचना राख्नुपर्ने हुनसक्छ । त्यसैले त्यस्ता सूचना पहिले नै देखाए पनि बारम्बार देखाउन नहुने उनीहरू बताउँछन् ।

"सरकारका कतिपय महत्त्वपूर्ण सूचना पनि हुन्छन्," महर्जन भन्छन्, "जसलाई सबैभन्दा पहिले नै देखाउनुपर्ने हुनसक्छ । तर, एउटै प्रयोगकर्तालाई हरेक पटक त्यस्ता पप-अप नोटिस देखाउँदा त्यसले युजर एक्सपिरियसन्सलाई खराब बनाउँछ ।"

सूचनालाई केही समयमा स्वतः हट्न मिल्ने बनाउन सके यसकाे तत्काल समाधान हुने उनकाे भनाइ छ । ''उदाहरणका लागि सूचना देखिएको तीन वा पाँच सेकेन्डमा पेजबाट गायब हुने बनाउनुपर्छ । यदि कुनै सूचना लामो छ वा पढ्न समय लाग्ने छ भने उक्त सूचना कहाँ गएर पढ्न सकिन्छ भने जानकारी दिन सकिन्छ,'' उनी भन्छन् ।

ल्यान्डिङ पेजमा कि कुनै सूचना नै नराख्ने र यदि राख्नै परे एउटा मात्रै सूचना राख्न गुप्ता सुझाव दिन्छन् ।

"यदि धेरै नोटिस छन् भने तलपट्टि एउटै पेजमा सबै नोटिस राख्न सकिन्छ," उनी भन्छन् , "जसले गर्दा प्रयोगकर्तालाई एक पटक मात्र स्किप गर्दा पनि पुग्ने भयो ।''

यही कुरामा महर्जनको सुझाव छ, "यदि धेरै नोटिस राख्नुपर्‍यो भने स्लाइड बनाएर राख्न सकिन्छ । यसमा एकपटक स्किप गर्दा सबै नोटिस एकै पटकमा हट्छन् ।" 

सरकारी वेबसाइट भिजिट गर्ने अधिकांश नेपाली नै हुन्छन् । तर, केही वेबसाइट विदेशीले पनि भिजिट गरिरहेका हुन सक्छन् । जसले गर्दा वेबसाइटको भाषा पनि महत्त्वपूर्ण पक्ष हो । तर ल्यान्डिङ पेजमा अधिकांश शब्द अङ्ग्रेजीमै लेखिएको हुन्छ । अङ्ग्रेजी नबुझ्नेलाई नोटिस कसरी हटाउने भन्ने तरिका थाहा नहुन सक्छ ।

त्यसैले वेबसाइट डेभलपमेन्टकै क्रममा विभिन्न भाषाको अप्सन राख्नुपर्नेमा गुप्ता जोड दिन्छन् ।  

वेबसाइटको सुरुमै भाषा स्वीच (switch) गर्ने विकल्प हुँदैन । त्यसैले वेबसाइटको सुरुवातमै भाषा परिवर्तन गर्ने सुविधा हुनुपर्ने महर्जन बताउँछन् ।

"नेपाल बहुभाषी भएको देश हो," उनी भन्छन्, "जुन भाषाको समुदाय धेरै छन्, तिनै भाषामा वेबसाइटका कन्टेन्ट उपलब्ध गराउनुपर्छ ।"

त्यस्तै ल्यान्डिङ पेजमा हुने स्किपमा पनि चर्चित भाषाका शब्दहरू राख्न सकिन्छ । यस्तोमा सबैभन्दा पहिले नै उपयुक्त भाषा छान्ने विशेषता भयो भने युजर एक्सपिरियन्समा सुधार पुग्ने उनीहरूको अपेक्षा छ ।

"यदि नेपाली सेवाग्राहीले उक्त वेबसाइट भिजिट गरेको छ भने उसले बुझ्नेगरी 'साझा भाषामा हटाउनुहोस्' वा 'मुख्य वेबसाइटमा जानुहोस्' जस्ता बटन राख्न सकिन्छ । अङ्ग्रेजी भाषाका लागि त 'स्किप' भन्ने अप्सन छँदै छ," गुप्ता भन्छन् ।

यस्ता पप-अप नोटिस सबैमा राख्नुपर्छ भन्ने हुँदैन । धेरै महत्त्वपूर्ण र समय सान्दर्भिक नोटिस छन् भने मात्र त्यसरी पप-अपमा राख्दा राम्रो हुने उनी बताउँछन् ।

साथै नोटिसको छुट्‍टै सेक्सन बनाएर सबै सूचना एउटै क्याटेगाेरीमा राख्दा धेरै प्रयोगकर्तालाई सहज हुने उनकाे भनाइ छ ।

"त्यसमा पनि महत्त्वपूर्ण र समय सान्दर्भिक नोटिस फिल्टर गरेर राख्ने व्यवस्था मिलाउन सकिन्छ," महर्जन थप्छन् ।

त्यस्तै वेबसाइटमा 'शो एड्स' को स्वीच राखेर पनि वेबसाइटबाट अनावश्यक सूचना हटाउन सकिने उनी सुनाउँछन् ।

उनी भन्छन्, "सरकारी साइट भिजिट गर्ने प्रयोगकर्तालाई नोटिस आवश्यक छैन भने उक्त स्वीचबाट नोटिस नदेखिने बनाउन सकियो । यसले युजर एक्सपिरियन्सलाई सुधार गर्न सक्छ ।"

देशको डिजिटल सिस्टम कत्तिको प्रभावकारी छ भन्ने कुरा सरकारी वेबसाइटले देखाएका हुन्छन् । केही कुरामा त वेबसाइटले नै देशको प्रतिनिधित्व गर्छन् । त्यसैले सरकारी वेबसाइट स्तरीय र प्रयाेगकर्तामैत्री बनाउनुपर्नेमा उनीहरू जाेड दिन्छन् ।

सरकारी वेबसाइटको ल्यान्डिङ पेजले पारेको समस्या एउटा पक्ष भयो । त्यसबाहेक पनि यस्ता वेबसाइटमा सेवाग्राहीले काम गर्दा अनेक समस्या भोग्नुपर्छ ।

विशेषगरी फारम भर्नुपर्दा युनिकोड लेख्नुपर्ने, कतैबाट कपी पेस्ट गर्दा नमिल्ने समस्याले धेरै सेवाग्राहीहरू अरुलाई नै कामको जिम्मा दिने गर्छन् ।

सरकारी निकायका वेबसाइटमा एकरुपता ल्याएर स-साना कमजोरी सुधार्न सकियो भने त्यसले प्रयोगकर्ताको अनुभव बढाउने उनीहरूको विश्वास छ ।

पछिल्लो अध्यावधिक: फागुन ५, २०७९ १७:२६