close

भर्चुअल र्‍याम के हो, अनि मोबाइलमा कसरी प्रयोग गर्ने ?

टेकपाना टेकपाना

फागुन ९, २०७९ १२:५१

भर्चुअल र्‍याम के हो, अनि मोबाइलमा कसरी प्रयोग गर्ने ?

काठमाडौं । आजभोलि अधिकांश एन्ड्राेइड डिभाइसमा भर्चुअल र्‍याम उपलब्ध हुन थालेकाे छ । फोनअनुसार 'भर्चुअल र्‍याम' लाई फरक-फरक नाम दिइएको पाइन्छ । 'एक्सटेन्डेड र्‍याम', 'र्‍याम प्लस' वा 'डीआरई' जे भनेपनि सबै 'भर्चुअल र्‍याम' नै हुन् ।

स्मार्टफाेन निर्माताले २ जीबी, ३ जीबी, ५ जीबी र ७ जीबीसम्मकाे भर्चुअल र्‍याम उपलब्ध गराइरहेका छन् । पछिल्लो समय बजारमा आएका जेडटीई, वनप्लस, भिभो, अनर, ओप्पो, रियलमी, आईकूजस्ता फोनमा भर्चुअल र्‍यामको सुविधा छ ।

उसो भए भर्चुअल र्‍याम के हो त ? यसले कसरी काम गर्छ ? आज यसै विषयमा जानकारी दिँदै छौँ:

र्‍याम के हो ?
र्‍याण्डम एक्सेस मेमोरी (random access memory) को छोटो रुप हो र्‍याम । यसलाई सजिलोसँग बुझ्ने हो भने यो एक प्रकारको अस्थायी रूपमा डेटा स्टोर गर्ने मेमोरी हो ।

जब तपाईंको फोनमा कुनै एप वा वेबसाइट रन हुन्छ, त्यसको डेटा यसले अस्थायी रूपमा स्टोर गरेर राख्छ । ता कि उक्त एप्लिकेसनलाई छिटो प्रयोग तथा एक्सेस गर्न सकियोस् ।

यदि तपाईँ फोनमा एकसाथ धेरै एप्लिकेसन प्रयोग गर्नुहुन्छ र एउटा एप्लिकेसनबाट अर्कोमा फास्ट शिफ्ट हुन चाहनुहुन्छ भने यो सबै काम र्‍यामकै कारण सम्भव हुन्छ ।

यसको अर्थ तपाईँले जसै आफ्नो स्मार्टफोनमा कुनै एप अन गर्नुहुन्छ, तत्कालै उक्त एप्लिकेसन र्‍याममा लोड हुने गर्छ । यस्तो एप र्‍याममा त्यतिखेरसम्म रहन्छ, जबसम्म तपाईं उक्त एपलाई बन्द गर्नुहुन्न वा फोनलाई रिस्टार्ट गर्नुहुन्न ।

यसर्थ सामान्य रूपमा बुझ्दा र्‍याममा एप्लिकेसनको डेटा अस्थायी रूपमा स्टोर हुने गर्छ । यो एक प्रकारको अस्थायी स्टोरेजका लागि उपयोग हुने मेमोरी हो ।

भर्चुअल र्‍याम के हो ? 

सामान्य रुपमा बुझ्दा तपाईँको डिभाइसमा भएको र्‍याम तपाईँका लागि पर्याप्त भएन भने भर्चुअल र्‍याम, जुन सफ्टवेयरबाट सञ्चालित हुन्छ, प्रयोग गर्न सकिन्छ । 

यो त्यस्तो र्‍याम हो, जसलाई फोनको इन्टर्नल स्टोरेजबाट सापटी लिइएको हुन्छ । तपाईँले थप एपहरू रन गर्नुभयो, तर तपाईँको डिभाइसमा भएको र्‍याम अन्य एपले प्रयोग गरिरहेका छन् भने त्यस्तो अवस्थामा सफ्टवेयरमा उपलब्ध भर्चुअल र्‍याम प्रयोग गर्न सकिन्छ । 

अर्थात् उक्त एप प्रयोग गर्नका लागि आवश्यक अतिरिक्त र्‍याम इन्टर्नल स्टोरेजबाट सापटी लिइन्छ । यसमा डिभाइस वा सफ्टवेयर अपडेटअनुसार बढीमा कति जीबी र्‍याम उपलब्ध गराउन सकिन्छ भन्ने निर्धारण हुन्छ ।

उदाहरणका लागि मान्नुस्, तपाईँको डिभाइसमा ६ जीबी र्‍याम छ र तपाईँको डिभाइसले ३ जीबीसम्म भर्चुअल र्‍याम प्रयोग गर्न सक्छ । 

यसमा तपाईँले ६ जीबी र्‍याम खपत गर्ने १० ओटा एप ब्याकग्राउन्डमा चलाउनुभयो । उक्त १० ओटा एपले तपाईँको डिभाइसमा भएको र्‍याम सबै खपत गरेका छन् ।

अब तपाईँले नयाँ एप खोल्नुभयो, उदाहरणका लागि मान्नुस् फेसबुक खोल्नुभयो । उक्त एपका लागि मोबाइलमा र्‍याम खाली छैन । 

यस्तोमा मोबाइल सिस्टमले इन्टरनेट स्टोरेजबाट फेसबुकलाई पुग्ने र्‍याम सापटी लिन्छ । र, एपलाई सहजै लोड गर्न वा प्रयोग गर्न सकिने बनाउँछ । यसको साधारण अवधारणा यही नै हो । 

तर, भर्चुअल र्‍याम भौतिक र्‍यामभन्दा 'स्लो' हुने भएकाले डिभाइसको सिस्टमले स्वत: फास्ट चलाउनुपर्ने एपलाई भौतिक र्‍याममा राखेर छिट्टै रिफ्रेस नहुने वा कम र्‍याम खपत गर्ने स्थिर (धेरै डेटा खपत नहुने वा बारम्बार लोड हुन आवश्यक नपर्ने) एपलाई भर्चुअल र्‍याममा शिफ्ट गर्छ । 

माथिको उदाहरणलाई पुनः यहाँ जोडौँ । यदि अन्य १० ओटा एप रिफ्रेश वा अपडेट भइरहने एप हुन् भने त्यस्तो बेलामा सिस्टमले फेसबुकलाई भर्चुअल र्‍याममा नै राख्छ, जसले गर्दा फेसबुक 'स्लो' चल्छ ।

भर्चुअल र्‍याम कसरी प्रयोग गर्न सकिन्छ ? 

भर्चुअल र्‍याम प्रयोग गर्न डिभाइसमा इन्टर्नल स्टोरेज खाली हुनुपर्छ । यदि तपाईँको डिभाइसमा इन्टर्नल स्टोरेज खाली छैन भने भर्चुअल र्‍याम नाममा मात्र सीमित हुन्छ । 

यो डिभाइस निर्माता कम्पनीले सफ्टवेयर अपडेटमार्फत उपलब्ध गराउने फिचर हो । त्यसैले यदि अहिले तपाईँको डिभाइसमा भर्चुअल र्‍याम छैन भने निकट भविष्यमा सफ्टवेयर अपडेटमार्फत उपलब्ध हुनसक्छ । 

धेरैजसो अवस्थामा हाम्रा सामान्य कामका लागि फोनमा भएको ४ जीबी, ६ जीबी वा ८ जीबी नै पर्याप्त हुन्छ । यदि तपाईँ अनलाइन गेम खेल्नुहुन्छ वा डेटा र स्टोरेज बढी खपत गर्ने एप प्रयोग गर्नुहुन्छ भने त्यस्तो अवस्थामा अतिरिक्त र्‍याम भएको डिभाइस आवश्यक पर्न सक्छ ।

भर्चुअल र्‍यामको अवधारणा पीसी (पर्सनल कम्प्युटर) बाट लिइएको हो । पीसीले भर्चुअल र्‍यामकै कन्सेप्टमा काम गरेको हुन्छ । बजारमा स्मार्टफोनले बढी हिस्सा ओगट्न थालेपछि स्मार्टफोन निर्माता कम्पनीले यो फिचर समावेश गर्न थालेका हुन् ।

पछिल्लो अध्यावधिक: फागुन ९, २०७९ १३:७