close

अबदेखि सबै सरकारी वेबसाइट एउटै स्वरुपमा, कार्यान्वयनमा आयो प्रणाली

टेकपाना टेकपाना

फागुन १६, २०७९ १६:४

अबदेखि सबै सरकारी वेबसाइट एउटै स्वरुपमा, कार्यान्वयनमा आयो प्रणाली

काठमाडाैं । आजदेखि वेब मनिटरिङ सिस्टमसहितको एकीकृत सरकारी वेबसाइट व्यवस्थापन प्रणाली सञ्चालनमा आएकाे छ । याेसँगै अब सम्पूर्ण सरकारी कार्यालयको वेबसाइटकाे डिजाइन एउटै हुने भएकाे छ ।

सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७८ बमोजिम सबै सरकारी निकायहरूको वेबसाइटहरू बीच एकरुपता कायम गर्ने याेजनाका साथ सूचना प्रविधि विभागले यसकाे सुरुवात गरेकाे हाे ।

यस प्रणालीमार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय एवं अन्तर्गतका सूचना तथा प्रसारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र मुद्रण विभागका वेबसाइट एउटै स्वरुपमा विकास भएका छन् ।

यस प्रणालीको प्रयोग गरी सरकारी निकायले सूचना प्रविधिसम्बन्धी दक्ष जनशक्ति नभएता पनि उपलब्ध जनशक्तिको मद्दतले आ-आफ्ना निकायगत वेबसाइटहरु सहजै निःशुल्क एवं सुरक्षित रुपमा विकास गर्न सकिने विभागले जनाएकाे छ । 

यसले निकायगत रुपमा वेबसाइट विकास, अद्यावधिक एवं सपोर्टका लागि वर्षेनि गरिने खर्चको बचत हुने अपेक्षा गरिएकाे छ। सरकारी निकायले आ-आफ्ना कार्यालयसँग सम्बन्धित सूचना तथा जानकारी निकायगत वेबसाइटमार्फत सरल एवं सहज रुपमा प्रकाशनमा ल्याउनसक्ने छन् ।

विभागका अनुसार यसका लागि वेबसाइटसम्बन्धी आधारभूत स्थापित एवं प्रचलित उत्तम अभ्यासहरू र विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका सरकारी निकायका वेबसाइटहरुको समेत अध्ययन तथा अनुसन्धानपछि विकास गरिएको हो । 

यस प्रणालीबाट सिर्जना गरिएका वेबसाइटहरू अपाङ्गतामैत्री हुनुका साथै बारम्बार सोधिने प्रश्न, गुनासो व्यवस्थापन, स्वचालित सहायक (च्याटबट) लगायतका विशेषतासहितका हुनेछन् ।

सरकारी निकायका वेबसाइट मोबाइलको माध्यमबाट समेत हेर्न मिल्नेगरी छुट्टै मोबाइल एपको पनि सँगै विकास गरिएको छ । 

सूचना प्रविधि विभागले निकायगत वेवबसाइट व्यवस्थापन गर्नका लागि सरकारी निकायलाई प्रणाली व्यवस्थापक (Admin User) उपलब्ध गराउनेछ। सोही प्रयोगकर्ता मार्फत सम्बन्धित निकायले आफ्नो वेबसाइटमा मेनु र उप मेनुहरू थपघट गर्न नारा तथा लोगो राख्न, ग्यालरी भिडिओ र ब्यानरजस्ता मिडिया फाइलहरू व्यवस्थापन गर्न, कर्मचारीको विवरणहरू, संगठन संरचना लगायतका कार्य गर्न सकिने छ । 

साथै यसमा सबै सरकारी निकायहरुको वेबसाइट/वेब एप्लिकेसनको निरन्तर निगरानी गरी ह्याक अथवा वेबसाइट डाउन हुनसक्ने जोखिम न्यून गर्न सोको तत्काल जानकारी गराउन विकास गरिएको वेब मनिटरिङ प्रणालीसमेत आजदेखि सञ्चालनमा ल्याइएको विभागले जनाएको छ ।

पछिल्लो अध्यावधिक: फागुन १६, २०७९ १६:२२