close

एनसीएचएलको भुक्तानी प्रणालीमा जोडियो इन्फोडेभलपर्स

टेकपाना टेकपाना

फागुन १७, २०७९ १३:३

एनसीएचएलको भुक्तानी प्रणालीमा जोडियो इन्फोडेभलपर्स

काठमाडौं । इन्फोडेभलपर्स प्रा.लि. र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको छ । योसँगै अब इन्फोडेभलपर्ससँग आबद्ध सहकारी संस्थाहरुले आफ्नो बैंक तथा वित्तीय संस्थामार्फत एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरू प्रयोग गरी भुक्तानी गर्नसक्ने भएका छन् ।

सम्झौता पत्रमा इन्फोडेभलपर्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।

सम्झौतासँगै इन्फोडेभलपर्सको कोर सिस्टम प्रयोग गरिरहेका विभिन्न सहकारी संस्थाहरुले आफ्ना 'क', 'ख' र 'ग' वर्गका बैंक वित्तीय संस्थाहरुमा रहेको खातामा सजिलै रकम प्राप्त गर्न सकिने र त्यसैगरी खाताबाट नै आफ्नो सेटलमेन्ट बैंकमार्फत बैंक वित्तीय संस्थामा रहेको हितग्राहीको खातामा सजिलै फण्ड ट्रान्सफर तथा अन्य भुक्तानीहरु गर्न सकिने व्यवस्था मिलाइने कम्पनीले जनाएको छ ।

उक्त सेवालाई सहकारी संस्थाले उपलब्ध गराएको मोबाइल बैंकिङ एपमार्फत पनि विस्तार गर्न सकिने बताइएको छ ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/ पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ८० भन्दा बढी गैर-बैंकिङ संस्थाहरु अप्रत्यक्ष/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।    

 

पछिल्लो अध्यावधिक: फागुन १७, २०७९ १३:३