close

कतै तपाईँका छोराछोरी अनलाइनमा अश्लील सामग्री हेर्दै त छैनन् ?

टेकपाना टेकपाना

फागुन २९, २०७९ १९:२२

कतै तपाईँका छोराछोरी अनलाइनमा अश्लील सामग्री हेर्दै त छैनन् ?

काठमाडौं । इन्टरनेट तथा सूचना प्रविधिको प्रयोग बढिरहँदा अभिभावकका लागि ‘डिजिटल सेफ्टी’ एक चुनौती बनिरहेको छ । इन्टरनेटमा पाइने अश्लील सामग्री, विभिन्न स्क्याम लगायतका कारण अभिभावक आफ्नो बच्चालाई डिजिटल डिभाइस दिन डराएका छन् । हुन त नेपालमा सरकारले अश्लील कन्टेन्ट प्रतिबन्धित छ । तर डिजिटल दुनियाँमा यस्ता सामग्री पूर्ण रुपमा रोक्न असम्भव जस्तै बनेको छ ।

अभिभावकले बालबालिकासँगै बसेर पूरै दिन उनीहरूको गतिविधिलाई हेर्न वा नियन्त्रण गर्न सक्दैनन् । फलस्वरुप बालबालिकाहरु अनलाइनमा ठगिने, साइबर क्राइममा फस्ने लगायतका जाेखिममा पर्न सक्छन् । तर अभिभावकहरुले केही कुरामा ध्यान दिने हो यो जाेखिमलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ ।

प्यारेन्टल कन्ट्रोल

मोबाइल तथा ल्यापटपमा हुने यो फिचरबाट बालबालिकाहरूलाई अश्लील सामग्री वा निषेधित सामग्रीको पहुँचबाट रोक्न सकिन्छ । विन्डोज, म्याक जस्ता अपरेटिङ सिस्टमसमेत रहेको यो फिचरको प्रयोगबाट अभिभावकले वेबसाइट बन्द गर्ने, स्क्रिन टाइमको सीमा निर्धारण गर्ने, अनावश्यक सामग्रीमा रोक्ने जस्ता काम गर्छन् ।  

ब्राउजर एक्सटेन्सन

प्राय: हरेक ब्राउजरबाट प्रयोगकर्ताले वेबपेजहरुलाई फिल्टर गर्न सक्छन् । यसबाहेक नआवश्यक वा अश्लील सामग्री बन्द गर्नका लागि विभिन्न एक्सटेन्सनहरु पनि रहेका छन् । ब्लकसाइट नामक एक्सटेन्सनले यस्तै काम गर्छ । यस एक्सटेन्सनलाई ब्राउजरमा एड (add) गरेपछि विभिन्न सामग्रीहरु फिल्टर गर्न सकिन्छ । यसको एन्ड्रोइड र आईओएस दुवैमा एप उपलब्ध छ । 

गुगलको सेफसर्च

सर्च इन्जिन गुगलमा भएको सेफसर्च (SafeSearch)बाट पनि कन्टेन्टहरुको फिल्टर गर्न सकिन्छ । यसको प्रयोग गर्दा पोर्नोग्राफी, भायलेन्स जस्ता कन्टेन्टलाई इन्टरनेट सर्चबाट हटाउन सकिन्छ । 

गुगलको सेटिङमा गएर सजिलैसँग सेफसर्चलाई ‘अन’ गर्न सकिन्छ । बालबालिकालाई अश्चिल सामग्रीहरुबाट बचाउनका लागि यो पनि राम्रो विकल्प हो ।

युट्युबको रेस्ट्रिक्टेड मोड

युट्युबमा भएको रेस्ट्रिक्टेड मोडले अश्लील भिडिओ कन्टेन्टहरूलाई फिडमा आउनबाट रोक्छ । युट्युबको यो फिचर वेब र मोबाइल एप दुवैमा उपबल्ध छ । अभिभावकले युट्युबमा रहेको फिचर अन गर्दिदा बालबालिकाहरुलाई सुरक्षित रुपमा युट्युबमा भिडिओ हेर्न मद्दत पुग्छ । 

गुगलको फ्यामिली लिङ्क

बालबालिकाहरुमा ‘हेल्थी डिजिटल ह्याबिट’ निर्माण गर्न र उनीहरुको अनलाइन सुरक्षा गर्न गुगलले निर्माण गरेको मोबाइल एप हो, गुगल फ्यामिली लिङ्क । 

यसमा बच्चाले डिभाइसमा कति समय बिताए, उनीहरु कुन स्थानबाट मोबाइल फोन प्रयोग गरिरहेका छन् जस्ता कुरा थाहा पाउन सकिन्छ । यस एपबाट बच्चाले कुनै पनि एप डाउनलोड गर्न अघि अभिभावको अनुमति चाहिने बनाउन सकिन्छ । त्यस्तै यसै एपको प्रयोग गरेर अभिभावकले विभिन्न वेबसाइट तथा एक्सटेन्सनहरु ब्लक गर्दिन सक्छन् । यो एप एन्ड्रोइड र आईएस दुवैमा उपलब्ध छ ।

सेक्युरिटी सफ्टवेयर

अश्लील र अनावश्यक कन्टेन्ट रोक्न र बन्द गर्न‍ एन्टीभाइरस‍  सफ्टवेयर डाउनलोड गर्न सकिन्छ । नोर्टन, ट्रेन्ड माइक्रो, म्याकफी, क्यास्परस्की लगायतका एन्टीभाइरस सफ्टवेयरहरूमा यो फिचर उपलब्ध छ  ।

पछिल्लो अध्यावधिक: फागुन २९, २०७९ २१:१४