close

क्यानडाको प्राइभेट इक्विटी फर्मले किन्यो चर्चित एडल्ट वेबसाइट ‘पोर्नहब’

टेकपाना टेकपाना

चैत ४, २०७९ ९:३७

क्यानडाको प्राइभेट इक्विटी फर्मले किन्यो चर्चित एडल्ट वेबसाइट ‘पोर्नहब’

काठमाडाैं । पोर्नहबसहित विभिन्न एडल्ट वेबसाइट सञ्चालन गरिरहेको माइन्डगिकको स्वामित्व क्यानडाको प्राइभेट इक्विटी फर्मले खरिद गरेको छ । हालै 'इथिकल क्यापिटल पार्टनर्स’ (ईसीपी) नामक क्यानडाको प्राइभेट इक्विटी फर्मले माइन्डगिक अधिग्रहण गरेको हाे ।

तर कम्पनीको खरिद मूल्य भने खुलाइएकाे छैन । यसअघि माइन्डगिकमा कार्यरत कर्मचारीहरूलाई नै कम्पनीका गतिविधि सञ्चालन गर्ने र त्यसको व्यवस्थापन इथिकल क्यापिटल पार्टनर्सले गर्ने फाइनान्सियल टाइम्सकाे समाचारमा उल्लेख छ ।

तर माइन्डगिकका कार्यकारीहरूमा को को छन् भन्ने विषय भने सार्वजनिक भएको छैन । माइन्डगिकले सञ्चालन गरेका पोर्न वेबसाइट जति चर्चित छन्, त्योभन्दा बढी विवादित छन् ।

विशेषगरी यसले बाल यौन दुर्व्यवहार सामग्रीसहित अवैध सामग्री अपलोड गर्न र हेर्न प्रयोगकर्तालाई अनुमति दिएकोमा आलोचना हुने गरेकाे छ । 

सन् २०२० मा भिसा र मास्टरकार्डले कम्पनीको पोर्नहब वेबसाइटसँग काम गर्न बन्द गरेकाे थिए, जसले गर्दा अधिकांश भिडिओहरू हटाइयो र एक्टरहरूका लागि एज भेरिफिकेसन सिस्टम (उमेर प्रमाणीकरण प्रणाली) लागू गरियो । 

त्यस्तै विभिन्न देशमा पोर्नहबमाथि प्रतिबन्ध लागेको छ भने युट्युब, फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालले पोर्नहबलाई आफ्नो प्लेटफर्ममा पहुँच दिन रोक लगाएका छन् ।

त्यसाे त पाेर्नहब र माइन्डगिक विरूद्ध  विभिन्न देशमा मुद्दा पनि चलिरहेकाे छ । जानाजान बलात्कार, बाल यौन दुर्व्यवहार, रिभेन्ज पोर्न (बदला लिनका लागि राखिने सेक्स भिडिओ) र अन्य प्रकारका सहमतिबिनाका यौन कार्यबाट कम्पनीले नाफा आर्जन गरिरहेको लगायतका आरोपमा माइन्डगिकले यस्ताे कानूनी मुद्दा खेपिरहेकाे छ ।

पछिल्लो अध्यावधिक: चैत ४, २०७९ १०:१३