close

किन ढिलो भइरहेको छ टेलिकमको फाइभजी ?

टेकपाना टेकपाना

चैत ७, २०७९ १२:३७

किन ढिलो भइरहेको छ टेलिकमको फाइभजी ?

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई फाइभजी परीक्षणका २६ मेगाहर्ज ब्यान्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सी दिएको छ  । त्यसपछि टेलिकमले आपूर्तिकर्तासँग विभिन्न वार्ता  र छलफल गरी सबै कुरा टुङ्ग्यायो ।

त्यसपछिको सामान आयात गर्नुपर्ने थियो । यसमा बाटोमा लाग्ने समयको कुरा आउँछ, केही नभए पनि दुई/तीन महिना लाग्छ । त्यसपछि यहाँ आएर जडान गर्नुपर्ने काम हुन्छ । 

फोरजीभन्दा फाइभजीमा अलिकति क्षमता वा अन्य हिसाबले गर्नुपर्ने कामको आवश्यकता बढी हुन्छ । उदाहरणका लागि: फाइभजीमा ट्रान्समिसनदेखि लिएर पावर पनि बढी लाग्छ । 

फोरजीको बीटीएसले भन्दा फाइभजीको बीटीएसले धेरै ऊर्जा खपत गर्छ । त्यस्तै पूर्वाधार तयार गर्नुपर्ने हुन्छ । हाम्रो फाइभजीको र्‍यान आपूर्तिकर्ता एउटा छ भने कोर भेन्डर अर्को छ । दुवैलाई आपसमा जोड्नुपर्ने हुन्छ । 

यसरी आवद्ध गर्नका लागि परीक्षण हुन्छ, त्यसले पनि समय लिन्छ । अन्तिममा आएर पुन: परीक्षण गरिसकेपछि सर्वसाधारणलाई त्यसको अनुभव गर्न दिनुपर्ने हुन्छ । 

कुनै मोडलको फोनमा फाइभजी चल्छ भने पनि त्यसमा फाइभजी चलाउनका लागि सम्बन्धित निर्माता कम्पनीसँग छुट्टै परीक्षण गराएर अनबोर्ड गर्नुपर्छ । विभिन्न सफ्टवेयर तथा प्याच राख्नुपर्ने हुन्छ । त्यसपछि मात्रै फाइभजी चल्छ । 

सन् २०१७ मा टेलिकमले थ्रीजी चलिरहेको १८०० मेगाहर्ज (ब्यान्ड थ्री) मा फोरजी ल्यायो । त्यसबेला आईफोनमा परीक्षणका लागि एप्पलसँग लामो छलफल भएको थियो । त्यसपछि टेलिकमले २०१९ मा ठूलो परिमाणमा फोरजी लञ्च गर्‍यो । ‍

त्यसबेला नयाँ ब्यान्ड ल्यायो । त्यो ब्यान्ड ८०० मेगाहर्ज (ब्यान्ड २०) थियो । हामीले सोचेका थियौँ कि सन् २०१७ मा आईफोनमा फोरजी परीक्षण गरिसक्यौं ।

तर हामीले ८०० मेगाहर्जमा चलाउन फेरि परीक्षण गर्नुपर्‍यो । किन भने कम्पनीले सुरुमा १८०० मेगाहर्ज मात्रै खोलिदिएको रहेछ । भनेपछि यो फाइभजी हाम्रोलागि नितान्त नौलो चिज हो ।

मोबाइल निर्माताहरूले फाइभजी सपोर्ट गर्ने डिभाइस बनाएता पनि नेटवर्क अपरेटरको सिस्टम कस्तो छ भन्ने कुरा नबुझिकन त्यसमा फाइभजी खोल्दैनन् । अर्थात् फाइभजी चल्ने सबै कुरा तयारी अवस्थामा राखेर पठाउँदैनन् ।

टुजी, थ्रीजीमा यहाँको नेटवर्कमा जोड्ने बित्तिकै ल्याच हुन्छ, मोबाइलमा चल्छ । तर फोरजी र फाइभजीमा विशेष परीक्षण गरेपछि मात्रै ह्यान्डसेटहरूमा चल्ने रहेछ ।

यसकारण  नेपालमा लिड टाइम (कुनै प्रक्रिया सुरु गरेदेखि सम्पन्न हुन लाग्ने समय) ले गर्दा फाइभजी टेस्ट ढिलो हुन गएको हो । अहिले आईफोनसँग वार्ता भइरहेको छ ।

ठ्याक्कै फाइभजी चलिहाल्ने सेट भनेको साओमीको पछिल्लो पोको मोडलको फोन एउटा छ । अरु सेट जस्तै: ओप्पो, एप्पल, सामसङ आदिमा टेस्टको काम भइरहेको छ । यो परीक्षण सफल भयो भने सर्वसाधारणले पनि चलाउन पाउने गरी फाइभजी सुरु गर्ने योजनामा छौं ।

नेपाल टेलिकम जस्तो सीमित जनशक्ति वा त्यति धेरै एक्सपोज नभएको कम्पनीका लागि फाइभजी नितान्त नयाँ प्रविधि हो । यस विषयमा बुझ्न समय लाग्छ । यसलाई अपनाउन पनि समय लाग्छ । 

नयाँ प्रविधि भएकाले समयमै लक्ष्य प्राप्त गर्ने कार्यमा असर पारेको हो । तर यो एकपटक सुरु भएपछि हामीसँग फाइभजीका लागि बेस स्टेसनहरू करिब करिब तयारीमा अवस्थामा नै छन् ।  तर मुख्य गरेर फाइभजी सपोर्ट गर्ने डिभाइसहरू छैनन् ।

डिभाइस नहुँदाको अवस्थामा सर्वसाधारणले समेत चलाउन पाउने गरी फाइभजी सुरु गर्ने हो भने भोलि हामीले नै गाली खान्छौं । तर हाम्रो कारण भन्दा पनि नेटवर्क सपोर्ट गर्ने डिभाइस नभएर परीक्षणमा ढिलाइ भएको हो ।

टेलिकम भनेको फाइभजी नेटवर्कको आधा भाग मात्र हो । प्रयोगकर्ताको डिभाइस अर्को आधा भाग हो । अब प्रयोगकर्ताको डिभाइसले नै सपोर्ट नगरेपछि गाली खाने भनेको टेलिकमले हो ।

‘टेलिकमले फाइभजी सुरु गर्‍यौं भनेर गफ दियो, खै त मेरोमा चलेको ?’ भनेर प्रयोगकर्ताले भन्छन् । त्यसैले पूरा तयारी नभइकन अर्थात अपरिपक्व अवस्थामै लञ्च गर्नु त्यति बुद्धिमत्तापूर्ण हुँदैन ।

त्यसैकारण हामी सही समयको पर्खाइमा छौं । जसले गर्दा प्रयोगकर्ताहरूले फाइभजीलाई राम्रोसँग अनुभव गर्न सकून् । टेलिकमले पनि गाली पनि खानु नपरोस् । प्रयोगकर्तालाई पनि समस्या नहोस् । 

केही समय अगाडि भारतमा त्यहाँका तीन ओटा सेवाप्रदायक भोडाफोन आइडिया, एयरटेल भारती र रिलायन्स जिओले त्यहाँको टेलिकम विभागसँग डिभाइस इकोसिस्टममा सहयोग गर्नुपर्ने माग राखेका थिए ।

भारतमा फाइभजीको टेस्ट, ट्रायल गरेर व्यापारिक रुपमा लञ्च गरेको तीन चार महिनापछि मात्रै आईफोनमा फाइभजी चलेको थियो । किनभने उनीहरूले परीक्षणमा लामो समय खर्चिएका थिए ।  त्यसैले यो साधारण प्रक्रिया हो । 

आईफोन मूल्यवान ब्रान्ड हो । उसले आफ्नो सेटमा जुन पायो त्यही नेटवर्क इनेबल गर्दैन ।

सम्बन्धित मोबाइल सेवाप्रदायकले राम्रो गुणस्तरको नेटवर्क दिएको छ भन्ने कुराको सुनिश्चितता भएपछि मात्रै उनीहरूले आफ्ना सेटहरूमा फाइभजी चल्न सक्ने बनाउँछन् । अन्यथा खराब अथवा कमसल नेटवर्कका कारण आफ्नो ब्रान्डिङ नघटोस् भन्नेमा उनीहरूको चासो हुन्छ ।  

नेपाल टेलिकमको नेटवर्क आईडी हुन्छ, ४२०१ हो । त्यसपछि बल्ल आईफोन जस्ता मोबाइल निर्माताले आफ्ना फोनमा फाइभजी नेटवर्क चलाउन अनुमति दिन्छन् ।

भारतमै चार/पाँच महिना लाग्यो भने नेपाल त सानो देश हो । सानो देशको आवश्यकतालाई ठूला ठूला मोबाइल निर्माताहरूले टेर्दा पनि टेर्दैनन् । सबैभन्दा दु:खको कुरा यो हो ।

 

फ्रिक्वेन्सी 

२६०० मेगाहर्ज फ्रिक्वेन्सी कभरेजको हिसाबले राम्रो हो । किनकि फ्रिक्वेन्सी जति तल्लो ब्यान्डको हुन्छ, त्यसको कभरेज त्यति नै बढी हुन्छ । जब कभरेज बढी हुन्छ, थोरै टावर राखे पनि पुग्छ । 

हामीले फ्रिक्वेन्सी छनोट गर्दा सोच्नु पर्ने अर्को कुरा इन्टरफ्रेन्स (जुध्ने) समस्या पनि हो । भारतमा २.६ गिगाहर्ज फ्रिक्वेन्सी चलाउने भनेको भोडाफोन आइडियाले मात्र हो । 

अरुले चलाएका छैनन्। हामी विराटनगर, विरगञ्ज जस्ता नाकामा २.६ गिगाहर्जमा फाइभजी चलाउँदा होसियार भएनौं भने इन्टरफ्रेन्सको सम्भावना रहन्छ ।  

मेरो बुझाईमा २६०० मेगाहर्ज ब्यान्ड हाम्रो लागि उचित हुन्छ । तल्लो फ्रिक्वेन्सीमा जाँदा हाम्रो जस्तो देशलाई थोरै बीटीएस भए पुग्छ ।

फाइभजी सहरमा मात्र चलाएर पनि भएन । पहाडी इलाकामा कभरेजका लागि एक गिगाहर्ज भन्दा कम जस्तै ७०० मेगाहर्जको लो फ्रिक्वेन्सी ब्यान्ड उपयुक्त हुन्छ ।

 

ह्यान्डसेट इकोसिस्टम

हामी आफैंले ह्यान्डसेट बनाउँदैनौ । विदेशी कम्पनी पनि आफैँ यहाँ आएर ह्यान्डसेट बनाउने पनि होइन । उनीहरूले बनाए भने यहाँ चाहिने फ्रिक्वेन्सीलाई इनेबल गरेर बनाउँथे होला । 

भारतमा धेरै प्रख्यात फ्रिक्वेन्सी ३.५ गिगाहर्ज  हो ।  तर त्यहाँ २.६ गिगाहर्जको पेनिट्रेसन न्यून छ ।

पहिले भारतमा फोरजी सुरु गर्दा विशेष गरेर ब्यान्ड फाइभ अर्थात् ८५० मेगाहर्ज, ब्यान्ड ४० अर्थात् २३०० मेगाहर्ज र ब्यान्ड थ्री अर्थात् १८०० मेगाहर्ज गरी तीन ओटा ब्यान्डमा जोड दिइएको थियो ।

यी तीन ओटा ब्यान्ड सपोर्ट गर्ने ह्यान्डसेट मात्र भारतमा बन्छन् । अब भारतबाट ती ह्यान्डसेटहरू नेपालमा ल्याउँदा उल्लेखित ब्यान्ड यहाँ छैनन् भने चल्दैनन् । यसकारण इकोसिस्टमा पनि ध्यान दिनुपर्छ । 

तर इकोसिस्टम भन्दै गर्दा भारतको अवस्था के छ भनेर हेर्न जरुरी छैन । जस्तैं: हामीले सुरु गर्दा ब्यान्ड २० अर्थात् ८०० मेगाहर्जमा फोरजी चलाउँदा इकोसिस्टम नै थिएन ।

हाम्रो नेटवर्क केही समय खाली बस्यो ।  प्राधिकरणसँगको सहकार्यपछि बल्ल ब्यान्ड ट्वान्टीको इकोसिस्टम बन्दै छ ।  अहिले ब्यान्ड ट्वान्टीमा धेरै नै ह्यान्डसेट बढिरहेका छन् ।

 

भेन्डर लक-इन र लगानीको प्रश्न

सन् २०१७ मा हामीले फोरजी सुरु गर्‍यौँ । यदि हामी भेन्डर लक स्थितिमा भइदिएको भए सायद सन् २०१९ मा टेन्डर गर्दैन थ्यौँ होला ।

किनभने सन् २०१९ मा आएर फेरि रि-टेन्डर गरेर हामीले फोरजीका लागि ताजा म्यान्डेट लिएर अगाडि बढ्यौँ । यदि हामी भेन्डर लक भनेर गएको भए पुरानो जुन सिस्टम छ,  त्यसलाई नै विस्तार गरेर लैजान्थ्यौँ होला ।

हामीसँग त्यो क्षमता थियो । यद्यपि खुल्ला प्रतिस्पर्धा गरौं भनेर नेपालभर नेटवर्क विस्तार गर्न  हामीले पुनः सन् २०१९ मा ग्लोबल टेन्डर गरेका थियौं ।

अहिले फाइभजीमा भइरहेको ढिलाई भेन्डरले भन्दा पनि अन्यौलताका कारणले हो । फोरजीको तुलनामा फाइभमा धेरै गुणा बढी लगानी चाहिन्छ ।

किनभने क्षमता र प्रविधि अनुसार फोरजीको भन्दा  फाइभजी धेरै उन्नत छ । फाइभजीको लगानी फोरजीको भन्दा धेरै ठूलो हुन्छ । प्रतिफल सुनिश्चित भएपछि मात्रै लगानी गर्ने कुरा आउँछ । 

यो ठूलो लगानीलाई विस्तारै फोरजीबाट फाइभजीमा जाँदा कम गर्न सकिन्छ । फाइभजी लञ्च गर्दा सुरुमा प्रयोगकर्ता धेरै हुँदैनन् । फोरजीमै बढी हुन्छन् । भनेपछि हामी विस्तारै फोरजीबाट फाइभजीमा जान सक्छौं । 

 

केही साता अघि राजधानीमा आयोजित एक अन्तरक्रियामा नेपाल टेलिकमका उपप्रबनधक सुजितआनन्द मल्लले व्यक्त गरेको विचारको सम्पादित अंश । 

पछिल्लो अध्यावधिक: चैत ७, २०७९ १८:३९