close

के अब गेमिङ फोनको भविष्य छैन ?

टेकपाना टेकपाना

चैत ११, २०७९ १७:५६

के अब गेमिङ फोनको भविष्य छैन ?

काठमाडौं । बजारमा नयाँ फोन सार्वजनिक हुने क्रम जारी छ । चाँडै नै रेड्मी नोट १२ टर्बो, रियलमी जीटी नियो एसई, मेजु २० सिरिज, अनर प्ले ७० सिरिजका फाेन सार्वजनिक हुँदैछन् । साथै आईक्युओओ जेड सेभेन, ओप्पो फाइन्ड एक्स सिक्स, ह्वावे पी६०, ह्वावे मेट एक्सथ्री हालै सार्वजनिक भएका फोन हुन् ।

सन् २०२३ को तीन महिनामा धेरै स्मार्टफोन सार्वजनिक भइसकेका छन् । यी सबै सामान्य र फोल्ड गर्न मिल्ने फोन हुन् । यद्यपि यी गेमिङ फाेन हाेइनन् । कम्पनीहरू गेमिङभन्दा अन्य फोनलाई बढी जाेड दिइरहेका छन् ।

२०२३ मा गेमिङ फोनका निर्माता शान्त देखिएका छन् । हालै लेनाेभोले आफ्नो 'लिजन' गेमिङ फोनको कारोबार बन्द गर्ने घोषणा गरेको छ । लेनोभोले आधिकारिक रूपमा नै लिजन सिरिजका गेमिङ स्मार्टफोन अब निर्माण नहुने पुष्टि गरेको छ ।

साथै बजारकाे अर्को गेमिङ फोन ब्रान्ड 'ब्ल्याक शार्क' पनि अहिले निष्क्रिय  छ । कम्पनीले आफ्नो पुरानो कामलाई विस्तार गर्न सकिरहेको छैन भने कुनै नयाँ स्मार्टफोन सार्वजनिक गर्न सकेको छैन । केही रिपाेर्टअनुसार यो कम्पनीले पनि आफ्नो उत्पादन कटौती गर्दैछ । कम्पनीले सन् २०२२ को अगस्टदेखि अहिलेसम्म पाँचपटक कर्मचारी कटौती गरेको छ ।

गेमिङ फोनहरू किन टिक्न सकिरहेको छैनन् ?

गेमिङ फोनले खासै बजार नपाउनुको एउटा मुख्य कारण हार्डवेयर हो । अन्य फ्ल्यागशिप फोनहरूको हार्डवेयरसँग अहिले पनि प्रो गेमिङ मोबाइल फोनले प्रतिस्पर्धा गर्न सकेका छैनन् ।

हालै सार्वजनिक भएको वनप्लस एस टु र अन्य वनप्लसका मिडरेन्जदेखि हाई-इन्ड फोनहरूको मूल्य र लेनोभोको लिजन वाई सेभेन्टीको मूल्य करिब उस्तै छ । 

यी दुवै स्मार्टफोनमा स्न्यापड्रागन ८ प्लस प्रोसेसर प्रयोग गरिएको छ । वनप्लस एस टुमा 'LPDDR5X' स्टोरेज प्रयोग गरिएको छ, जसले लेनाेभोको लिजन वाई सेभेन्टीमा भएको 'LPDDR5' स्टोरेजले भन्दा पनि उत्कृष्ट स्टोरेज क्षमता राख्दछ । 

अन्य सामान्य फोनहरू र गेमिङ फोनहरूमा हुने फिचरमा खास केही फरक भेटिँदैन । यसबाहेक गेमिङ फोनहरूले प्राय: राम्रो फोनको अनुभवका लागि फोनको डिजाइनलाई भने वास्ता गरेको पाइँदैन । यसले गर्दा लुक्स नै नराम्रो हुँदा मानिसहरू यसप्रति आकर्षित हुँदैनन् । 

यसरी सबै फिचर एउटै हुँदै गर्दा अन्य फोनको तुलनामा गेमिङ फोनहरू महँगो हुने गरेका छन् । गेमिङका लागि कोर चिपहरू प्रयोग गर्दा फोनको उत्पादन लागत बढेपछि फोनको मूल्य पनि बढी पर्न गएको हो । 

साथै गेमिङ फोनहरूले मूल्यलाई सन्तुलन गर्न क्यामेरामा त्यति मेहनत नगरेपछि पनि यसले प्रयोगकर्तालाई आकर्षित गर्न सकेको देखिँदैन । यी र यस्तै कारण गेमिङ फाेनमा प्रयाेगकर्ताकाे चासाे कम देखिएकाे छ । यसले गेमिङ फाेनकाे भविष्यमाथि नै प्रश्न उठाएकाे विश्लेषण गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: चैत ११, २०७९ २०:४०