close

स्कुल गएका छोराछोरीका गतिविधि मोबाइलमै हेर्न पाउँछन् हल्दिबारीका अभिभावक

सञ्जीवन राई सञ्जीवन राई

चैत १२, २०७९ १९:२७

स्कुल गएका छोराछोरीका गतिविधि मोबाइलमै हेर्न पाउँछन् हल्दिबारीका अभिभावक

काठमाडौं । मोबाइल फोन एकअर्कासँग कुराकानी गर्ने, रमाइलो गर्ने, गेम खेल्ने अथवा सामाजिक सञ्जाल प्रयोग गर्ने साधन मात्र रहेन । विद्यालयमा आफ्ना छोराछोरी के गर्दैछन् भनेर हेर्ने माध्यम बन्दै गएको छ ।

झापा जिल्लाको हल्दीबारी गाउँपालिकाले ‘सामुदायिक विद्यालयहरूमा सीसीटीभी क्यामेरा सञ्चालन’ नामक कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  गाउँपालिकामा सामुदायिक, निजी र धार्मिक गरी कूल २९ विद्यालय छन् । 

ती मध्ये १७ ओटा सामुदायिक विद्यालयमा यो कार्यक्रम लागू गरिएको हो । यससँगै अभिभावकले आफ्नो स्मार्टफोनबाटै विद्यालयमा जडान गरिएको सीसीटीभी क्यामेराले खिच्ने भिडि‌ओहरू हेर्न सक्छन् । 

उद्देश्य शैक्षिक सुधार ल्याउने उद्देश्यकासाथ यो कार्यक्रम सञ्चालन  गरिएको गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले बताए । शैक्षिक अनुगमनमा समेत सहज होस् भनेर यस्तो व्यवस्था गरिएको हो ।

“विद्यालय अनुगमनको जिम्मेवारी अभिभावकको पनि हो,” उनले भने, “यसले अभिभावकलाई आफ्ना बालिबालिकाको निगरानी गर्न पनि सहज बनाउनेछ र शैक्षिक गुणस्तरमा सुधार ल्याउनेछ ।”

विद्यालयमा लगानी गरेर मात्र नहुने, निगरानी पनि आवश्यक पर्ने भएकाले प्रविधिको प्रयोग गरिएको वडा नं. ४ का अध्यक्ष सन्तकुमार थापाले सुनाए । “हाम्रो वडा भित्रका दुई ओटा विद्यालयहरूमा यो कार्यक्रम लागू गर्दा सकारात्मक प्रतिक्रिया आएको छ,” उनले भने । 

हल्दीबारी गाउँपालिकालाई यो योजना कार्यान्वयन गर्न करिब तीन वर्ष लाग्यो । यसका लागि सुरुमा सबै सामुदायिक विद्यालयमा इन्टरनेटको व्यवस्था गर्‍यो । त्यसपछि ती विद्यालयहरूमा सीसीटीभी क्यामेरा जडान गरियो । 

यसरी यही आर्थिक वर्षदेखि गाउँपालिकाले एपबाट विद्यालयका गतिविधि अवलोकन गर्ने व्यवस्था सञ्चालनमा ल्याएको हो ।

यसका लागि कूल २४ लाख रुपैयाँ जति खर्च भएको अध्यक्ष लिङ्देनले जानकारी दिए । त्यस्तै सफ्टवेयर नवीकरणका लागि वार्षिक तीन लाख रुपैयाँ लाग्ने पनि उनले सुनाए ।

 

कक्षा कोठामै सीसीटीभी क्यामेरा !

गाउँपालिकाले कक्षाकोठामा सीसीटीभी जडान गरेको भन्दै निकै चर्चा भयो । तर गाउँपालिकाले कक्षाकोठामा भने कुनै पनि सीसीटीभी क्यामेरा जडान नगरेको अध्यक्ष लिङ्देनले स्पष्ट पारे । 

“विद्यार्थी र शिक्षकलाई मानसिक असर नपरोस् भनेर हामीले कक्षा कोठामा सीसीटीभी जडान गरेका छैनौं,” उनले अगाडि भने, “गाउँपालिकाको एउटा नमुना विद्यालयले आफ्नो आन्तरिक स्रोतबाट कक्षाकोठामा सीसीटीभी राखेको हो । जुन हाम्रो प्रणालीमा समेटिएको छैन । कक्षाकोठामा सीसीटीभी जडान गर्ने हाम्रो कुनै योजना छैन । ” 

वडा नम्बर २ मा रहेको हल्दीबारी माध्यमिक विद्यालय गाउँपालिकाकै नमूना विद्यालय हो । उक्त विद्यालयले पाँच वर्ष अगाडि नै कक्षाकोठामा सीसीटीभी क्यामेरा जडान गरेको थियो । त्यही विद्यालयको फोटो वा भिडिओहरूले सामाजिक सञ्जालमा चर्चामा आएका हुन् । 

“नमूना विद्यालयको निर्देशिकामै शिक्षक/विद्यार्थीको गतिविधि प्रत्यक्ष निगरानी हुनेगरी सीसीटीभी क्यामेरा जडान गर्नुपर्ने व्यवस्था छ,” हल्दीबारीका प्रधानाध्यापक टङ्क पाख्रिनले भने, “हामीले त्यही आधारमा कक्षाकोठामा क्यामेरा जडान गरेका हौं ।”

पाँच वर्ष अगाडि कक्षाकोठामा हुने तोडफोड, अनैतिक गतिविधिमाथि निगरानी गर्न विद्यालयले त्यस्तो कदम लिएको उनले सुनाउँछन् । सुरुवाती समयमा उक्त विषयमा विवाद देखिए पनि सीसीटीभीले गर्दा अहिलेसम्म कुनै पनि विद्यार्थी वा शिक्षकलाई समस्या नभएको प्रअ पाख्रिनको दाबी छ ।

“विद्यालयको यो कदमलाई विद्यार्थी, अभिभावक, शिक्षक सबैले सकारात्मक रूपमा लिएका छन्,” उनले भने । कक्षाकोठामा जडित सीसीटीभी क्याेमराको भिडिओ विद्यालयले अभिभावकलाई उपलब्ध गराएको छैन ।

यद्यपि विद्यालयले गाउँपालिकाद्वारा जडित क्यामेराहरूको भिडि‌ओ भने विस्तारै अभिभावकहरूलाई उपलब्ध गराउन थालेको  छ ।

 

यसरी होला त गुणस्तर सुधार ?

हालै मात्र सञ्चालन भएको यो व्यवस्थाले शिक्षामा सुधार गर्छ कि गर्दैन भनेर अहिले नै निर्क्यौल गर्नु हतारो हुने हल्दीबारी ४ स्थित महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक चक्रबहादुर बस्नेत बताउँछन् ।

“म आफैं कार्यालयको कामले बाहिर हुँदा विद्यालयमा के भइरहेको छ भनेर हेर्न सक्छु । यो मानेमा राम्रो हो,” उनी थप्छन्, “तर यो व्यवस्था लागू भएपनि विद्यालयमा अहिले नै त्यस्तो कुनै तात्त्विक भिन्नता भने देखिएको छैन ।”

हल्दीबारी माध्यामिक विद्यालयका प्रधानाध्यापक पाख्रिन यसले विद्यार्थीलाई अनुशासित बनाउने तर्क गर्छन् ।

“अभिभावकले जहाँबाट पनि आफूलाई हेर्न सक्ने भएकाले मैले राम्रो गर्नुपर्छ भनेर विद्यार्थी सचेत हुन्छन्,” उनी भन्छन्, “शिक्षकहरूलाई पनि कक्षा राम्रोसँग सञ्चालन गर्नुपर्छ, पढाए जस्तो मात्र गर्नुहुँदैन, माथिल्लो तहबाट निगरानीमा छु भनेर सचेत हुन्छन् । यसले गर्दा शिक्षामा केही न केही सुधार अवश्य हुनेछ ।”

वडा नम्बर ३ का स्थानीय तेजबहादुर बस्नेत मोबाइलबाट विद्यालयका गतिविधि‍ देख्न पाउँदा सुरुमा आफू अचम्मित भएको सुनाउँछन् । उनका दुई सन्तान त्यही वडामा रहेको लक्ष्मी माविमा ‍पढिरहेका छन् । उनी आफूलाई गाउँपालिकाले गरेको यो व्यवस्था निकै राम्रो लागेको बताउँछन् । 
 

यसरी हुन्छ विद्यालय अनुगमन 

यो व्यवस्थाको लागू भएपछि अभिभावकहरूले आफ्नै मोबाइल फोनमार्फत विद्यालयमा हुने गतिविधि अवलोकन गर्न पाउँछन् । त्यस्तै गाउँपालिकाको शिक्षा शाखा, सम्बन्धित वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति लगायतले पनि हरपल विद्यालयमाथि निगरानी राख्न सक्छन् । 

विद्यालयमा छोराछोरी कति बेला आउँछन्, विद्यालयमा कस्तो क्रियाकलाप भइरहेको छ जस्ता कुराहरू अभिभावकले पनि हेर्न सकून् भनेर यस्तो व्यवस्था गरिएको हो ।

यो व्यवस्थापछि विद्यालयमा पूरा समय नबसी विद्यार्थीहरू घर जाने समस्या हटेको, शिक्षक समयमा कक्षाकोठामा गएको जस्ता सुधारका सङ्केत देखिन थालेको गाउँपालिकाको मूल्याङ्कन छ ।

गाउँपालिका भित्रका कुनै पनि सामुदायिक विद्यालयमा आफ्ना सन्तान पढाइरहेका अभिभावकले वडा कार्यालय वा गाउँपालिका कार्यालयमा गएर एप चलाउनका लागि निवेदन दिनुपर्छ ।

जसमा अभिभावकले आफ्नो नाम, फोन नम्बर आदि उपलब्ध गराउनु पर्ने हुन्छ । योसँगै सीसीटीभीको भिडिओ फुटेज दुरुपयोग गर्दिनँ भनेर सर्त समेत स्वीकार गर्नुपर्छ । 

यो व्यवस्था दुरुपयोग हुन नदिन गाउँपालिकाले सूचना प्रविधि अधिकृतको संयोजकत्वमा ‘इलेक्ट्रोनिक्स डिभाइस व्यवस्थापन समिति’ बनाएको छ । उक्त समितिमा विद्यालयमा भएका कम्प्युटर शिक्षक, वडा कार्यालयका कम्प्युटर अधिकृतहरू छन् । 

सोही समितिले अभिभावकहरूलाई ‘सेक्युरिटी भिडिओ फर स्मार्ट लाइफ - ईजिभिज्’ (EZVIZ) नामक एपको युजरनेम बनाइदिन्छन् । त्यसमा अभिभावकहरूलाई सीसीटीभी क्यामेराको लाइभ मोनिटरिङ भिडिओ शेयर गरिएको हुन्छ । उनीहरूले त्यसै एप मार्फत विद्यालयको गतिविधि हेर्न सक्छन् । 

 

कत्तिको छ जोखिम ? 

विद्यालयका भिडिओ फुटेजहरू दुरुपयोग हुनसक्ने बारे गाउँपालिका सचेत छ । आधिकारिक अभिभावकले मात्र विद्यालय निगरानीमा पहुँच पाउँछन् ।

विद्यालयको गतिविधि फोनमा हेर्दा कुनै कुरा चित्त नबुझेको विषयमा अभिभावकले शिक्षकलाई सोझै खबरदारी गर्न नपाउने गाउँपालिका अध्यक्ष लिङ्देन बताउँछन् ।

“कुनै अभिभावक वा जनप्रतिनिधिले सीसीटीभीको भिडिओमा शिक्षकले गल्ती गरे भनेर सोझै फोन गर्न पाउनुहुन्न,” उनले अगाडि भने, “यसका लागि हामीले विद्यालयहरूमा सुझाव पेटिकाहरू राखेका छौं । त्यहाँ उहाँहरूले सुझाव दिनुपर्ने हुन्छ । अनि शिक्षा शाखा, शिक्षा समितिमा त्यस विषयमा  छलफल हुन्छ ।”

पछिल्लो अध्यावधिक: चैत १२, २०७९ १९:२७