close

अनलाइन लगानीको नाममा नेपाली ठग्ने चिनियाँ ‘र्‍याकेट’माथि यस्तो थियो प्रहरीको सर्च अपरेसन

टेकपाना टेकपाना

चैत १६, २०७९ १३:२९

अनलाइन लगानीको नाममा नेपाली ठग्ने चिनियाँ ‘र्‍याकेट’माथि यस्तो थियो प्रहरीको सर्च अपरेसन

काठमाडौं । एक साताअघिको कुरा हो । एक जना पीडित अनलाइनमा लगानी गर्दा आफूबाट ४८ लाख ठगिएको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा निवेदन दिन आए । 

कार्यालयमा आउने अनेक निवेदनमध्ये ठगीको यो निवेदन प्रहरीलाई अलिक अनौठो लाग्यो । पीडितले दिएका जानकारी मात्रले पनि यो घटनाको जग जटिल रहेको अनुमान लगाउन सकिन्थ्यो । 

कार्यालयका प्रमुख एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) डा मनोज केसी घटनालाई आफूहरूले गम्भीर रूपमा लिएर त्यसको जगसम्म पुग्ने योजना बनाएको सुनाए । “यसका लागि हामीले विस्तृतमा अनुसन्धान गर्नुपर्ने आवश्यकता थियो," उनी भन्छन् ।

पीडितले केकस्ता वेबसाइटमा कसरी पैसा लगानी गरेका थिए भन्ने कुराको जानकारी छँदै थियो । त्यसपछि पहिलो चरणमा पैसा प्राप्त गर्न कुन अकाउन्ट प्रयोग भएको छ भन्ने कुराको पहिचान प्रहरीले गर्‍यो ।

जसमा सबैभन्दा पहिला एनआईसी एसिया बैंकमा खोलिएका चार ओटा बैंक अकाउन्ट सतहमा आए । "ती चारै बैंक खाताबाट कसरी कारोबार भयो भन्ने कुरा हेर्दै जाँदा एउटा ठूलो ‘र्‍याकेट’ (जबरजस्ती वा धम्कीपूर्ण हिसाबले पैसा असुल्ने आपराधिक कार्य) नै सञ्चालन रहेको देखियो," केसी अगाडि भन्छन् ।

त्यसपछि ती चार ओटा अकाउन्ट कसको नाममा खोलिएका रहेछन् भन्ने कुरामाथि अनुसन्धान केन्द्रित भयो । त्यसबाट एउटा गिरोहलाई बैंक अकाउन्ट दिएर सहयोग गर्ने र कमिसन लिने चार जनाको पहिचान खुल्यो । प्रहरीका अनुसार उक्त गिरोहलाई बैंक अकाउन्ट दिने नेपालीले हरेक पटक रकम निकाल्दा दश हजार रुपैयाँ कमिसन पाउँथे । 

यसरी कमिसनको लोभमा आफ्नो बैंक अकाउन्टमा आएको रकम दिने व्यक्ति हुन् दोलखाका ४६ वर्षीय बुद्धिराज श्रेष्ठ, नुवाकोटका २९ वर्षीय इन्द्र तामाङ र ३६ वर्षीय राजकुमार लामा तथा काठमाडौंका २५ वर्षीय प्रयास भण्डारी । कुन बैंकबाट रकम झिक्छन् भन्ने कुरा नियालिरहेको प्रहरीले रकम झिक्न आएको मौका छोपी ती चारै जनापक्राउ परे ।

ती चार जनाले बैंकबाट आएको रकम दोलखा घर भइ काठमाडौं बस्दै आएका २६ वर्षीय अर्जुन श्रेष्ठलाई दिन्थे । जो नेपालीलाई यो घटनामा जोड्ने मुख्य एजेन्ट भएको प्रहरीले जनाएको छ । 

चिनियाँ नागरिकले अनलाइनमा लगानी गर्न भन्दै ठगी गरेको रकम तिनै चार ओटा बैंक खातामा आउँथ्यो । यसरी नेपालीको बैंक अकाउन्टमा आएको रकम चिनियाँ नागरिकलाई दिने काम तिनै अर्जुन श्रेष्ठले गर्थे । 

यही काम गर्न उनलाई चिनियाँले एउटा स्कुटर समेत किनिदिएका थिए । अर्जुनलाई पक्राउ गरेपछि प्रहरीले बुढानीलकण्ठ, महादेवखोला र चण्डोलमा कार्यालय खोलेर ठगी गर्दै आएका नौ जना चिनियाँ नागरिकलाई पक्राउ गर्‍यो ।

त्यसपछि प्रहरीले कर्मचारीका रूपमा रूपमा काम गर्दै आएका अन्य पाँच जना नेपाली महिलालाई पनि पक्राउ गर्‍यो । ठगी कार्यका लागि खोलिएका कार्यालय छानबिन गर्दै जाँदा उनीहरूले कसरी ठगी गर्छन् भन्ने कुरा बल्ल सतहमा आयो ।

 

उजुरी गर्न डराउँछन् ठगिएका पीडित 

यो ठगीको घटनामा चिनियाँहरूले पीडित नेपालीलाई अनौठो तरिकाले भ्रममा राख्थे । जसले गर्दा पीडित स्वयम् आफूले अपराध गरिरहेको अनुभव हुन्थ्यो । त्यो कुरा थाहा पाउन यहाँ क्लिक गरेर तपाईंले यो ठगीको शैलीबारे बुझ्नुपर्ने हुन्छ । 

अनलाइनमा लगानी गरेर कसरी आम्दानी गर्न सकिन्छ भन्ने कुरा उक्त गिरोहले सिकाइसकेपछि पीडित लगानी गरेर काम सुरु गर्छन् । सुरुमा उनीहरूलाई १४ दिनमा लगानी गरेको रकमको ३० प्रतिशत मुनाफा बैंक खातामै आउँछ ।

तर, लगानी बढाउँदै गएपछि अन्तिम अवस्थामा उक्त गिरोहले पीडित प्रहरीको फन्दामा परेको भन्दै डर त्रास देखाउँछ । उनीहरू यतिसम्म विश्वस्त हुन्छन् कि जति रकम गुमेको भए पनि आफू लुटिएको होइन बरु आफैंले गैर कानूनी काम गरेको सोच्न थाल्छन् । यही कमजोरीको फाइदा उठाउँदै चिनियाँ नागरिक नेपालीबाट लाखौं रकम ठगी गर्छन् ।

प्रहरीको अनुसन्धानबाट पछिल्लो डेढ महिनाको अवधिमा मात्रै चिनियाँले एक करोड ६४ लाख बढी रकम ठगी गरेको देखिएको छ । जसमध्ये हालसम्म एक जना पीडित मात्रै प्रहरीकहाँ पुगेका हुन् । चिनियाँ नागरिकले जुन बैंक अकाउन्टमा कमिसन पठाउँथे, त्यसैका आधारमा प्रहरी आफैं पीडित खोजिरहेको छ । 

 

जोसुकै पनि फस्नसक्ने जाल

लगानी मार्फत आम्दानी गर्ने चाहना धेरैको हुन्छ । त्यसमा पनि ‘लगानी गरेको १४ दिनमै ३० प्रतिशत नाफा हुने व्यापार’ । अनलाइनबाट आम्दानी गर्न सकिने भन्दै विभिन्न समाचार आइरहने भएकाले नेपालीहरू यस्ता ‘स्क्याम’ (ठगी) मा सजिलै फस्न पुग्छन् । 

चिनियाँले ठग्नका लागि बनाएको वेबसाइट निकै भरपर्दो जस्तो देखिन्छ । सुरुवाती नाफाबाट आएको ३० प्रतिशत रकम पाएपछि पीडित आम्दानीका लागि थप लगानी गर्न उत्साहित हुन्छन् ।

यसरी पीडितले ठूलो मात्रामा लगानी गरिसकेपछि पीडकले नै पीडितलाई गैर कानूनी काम गरिरहेको भन्दै भ्रममा पार्छन् र उनीहरूले लगानी गरेको भनिएको रकम लुट्छन् । 

पछिल्लो समय नेपालमा यस्ता अनलाइन ठगीका घटना तीव्र गतिमा बढिरहेका छन् । आर्थिक वर्ष २०७९/८० को पुस महिनासम्म अनलाइनमा लगानी गर्ने नाममा ठगिएको भन्दै ६३ जनाले कार्यालयमा निवेदन दिएका छन् । प्रहरीका अनुसार उनीहरूबाट ५२ लाख ६४ हजार २५७ रुपैयाँ बराबरको ठगी भएको छ ।  

पछिल्लो अध्यावधिक: चैत १६, २०७९ १३:२९