close

फोनका दुईमध्ये एमडीएमएसमा एउटा मात्र आईएमईआई दर्ता छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

जेठ १७, २०८० १८:१३

फोनका दुईमध्ये एमडीएमएसमा एउटा मात्र आईएमईआई दर्ता छ ? यसो गर्नुहोस्

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चालनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता नभएका फोन देशभित्र नचल्ने गरी ‘लक’ गर्ने तयारी भइरहेको छ । १५ जेठ २०८० सम्म प्रयोगमा रहेका, तर उक्त सिस्टममा दर्ता नभएका फोनहरू निश्चित शुल्क बुझाएर असार मसान्तसम्म दर्ता गर्न सकिने व्यवस्था सरकारले  गरेको छ ।

असार मसान्तपछि एमडीएमएसमा दर्ता नरहेका फोनमा नेपालभित्र नचल्ने गरी ‘लक’ लाग्ने बताइएको छ । सपोर्ट गर्ने सिम कार्डको सङ्ख्या अनुसार मोबाइलमा आईएमईआई एकदेखि दुई ओटा हुन सक्छन् । त्यस्तो अवस्थामा प्रत्येक आईएमईआई दर्ता गर्नुपर्ने व्यवस्था एमडीएमएसमा गरिएको छ । 

जसले गर्दा तपाईंको फोनमा दुई ओटा आईएमईआई रहेका छन् तर एउटा मात्र दर्ता छ भने दर्ता नभएको आईएमईआई स्लटमा लक लाग्नेछ र त्यसमा नेपाली मोबाइल सेवाप्रदायकको सिम कार्ड चल्ने छैन । यदि दुई ओटा सिम कार्ड लाग्ने मोबाइलको एउटा मात्र आईएमईआई दर्ता छ भने अर्को कसरी दर्ता गर्ने ? आज हामी तपाईंलाई त्यसको उपाय बारे बताउँदै छौं । 

अर्को आईएमईआई कसरी दर्ता गर्ने ?

नेपाल दूरसञ्चार प्राधिकरणले दुई ओटा सिम कार्ड लाग्ने मोबाइलको एउटा आईएमईआई एमडीएमएसमा दर्ता छ भने अर्को आईएमईआई निःशुल्क रूपमा दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ ।  

त्यसका लागि सबैभन्दा पहिला एमडीएमएस डट एनटीए डट जीओभी डट एनपी स्ल्यास डुअल-रजिस्ट्रेसन जानुहोस् अथवा  यहाँ क्लिक गर्नुहोस् ।

त्यसपछि त्यहाँ तपाईंले दुई ओटा बक्सः आईएमईआई १ र आईएमईआई २ देख्नु हुनेछ । 

अब उल्लेखित क्रम अनुसार तपाईंको मोबाइलका दुवै आईएमईआई राखेर दायाँतर्फ रहेको ‘चेक आईएमईआई’ बटनमा थिच्नुहोस् । आफ्नो मोबाइलको आईएमईआई थाहा छैन भने *#06# डायल गरेर पत्ता लगाउन सक्नु हुनेछ ।

यति गरेपछि नयाँ फाराम खुल्छ । त्यसमा आफ्नो फोनको ब्रान्ड, मोडल र फोनका दुवै आईएमईआई नम्बर देखिने फोटो वा स्क्रिनशट अपलोड गरी अन्तिममा रहेको सबमिट बटनमा दबाउनुहोस् । 

यति गरेपछि तपाईंका दुवै आईएमईआई एमडीएमएसमा दर्ता हुनेछन् र पपअपमा 'रजिस्ट्रेसन सक्सेसफुल' लेखिएको सन्देश देखिनेछ । 

मोबाइल एमडीएमएसमा दर्ता छ कि छैन, थाहा पाउने तरिका

-यसका लागि सबैभन्दा पहिला एमडीएमएस डट एनटीए डट जीओभी डट एनपीमा खोल्नुहोस् अथवा यहाँ क्लिक गरी नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस पोर्टलमा जानुहोस् । 

-त्यहाँ थोरै तलतर्फ जानुहोस् र बायाँतर्फ दिइएको बक्समा आफ्नो मोबाइलको आईएमईआई नम्बर राखेर 'खोज्नुहोस्' लेखिएको निलो बटनमा दबाउनुहोस् । यदि तपाईंलाई आफ्नो मोबाइलको आईएमईआई नम्बर थाहा छैन भने *#06# डायल गरी चेक गर्न सक्नुहुन्छ । 

-यदि तपाईंको मोबाइल एमडीएमएसमा दर्ता रहेछ भने त्यसको जानकारी पपअप विन्डोमा देखिन्छ । अन्यथा दर्ता नभएको जानकारी सहित दर्ताका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनले लिङ्क सहितको विन्डो खुल्छ ।

पछिल्लो अध्यावधिक: जेठ १७, २०८० १८:४२