काठमाडौं । प्रविधिमा लगानी गर्ने (टेक इन्भेस्टर) भारतीय नागरिक अनुपम मित्तलले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित नारायण राजवंशीलाई सहयोग गर्ने भएका छन् । उनले किक्रेटर राजवंशीलाई ब्याट सहयोग गर्ने बताएका हुन् ।
एसिया कप क्रिकेट अन्तर्गत भदौ १३ मा पाकिस्तान विरुद्धको खेलपछि राजवंशीले आफूसँग म्याच खेल्न ब्याट नभएको बताएका थिए । नेटमा अभ्यास गर्नलाई जसोतसो काम चल्ने भएपनि म्याचको बेला साथीको ब्याटले खेल्नु पर्ने र धेरै समय कुशल भुर्तेलको ब्याट प्रयोग गर्ने गरेको उनले बताएका थिए ।
उनको यो कुरा आईसीसी एसिया क्रिकेट नामक ह्यान्डलबाट पोस्ट गरिएको थियो । त्यसैमा जवाफ दिँदै मित्तलले राजंवशीलाई सहयोग गर्ने बताएका हुन् ।
Supporting talented players like him through sponsorships would be a great way to appreciate their dedication and potential, Sir🙏
मित्तलले हिजो (सेप्टेम्बर ११) उक्त पोस्टमा ‘सहयोग त गर्ने तर ब्याट वा के हो?’ भनेर रिप्लाई गरेका थिए । उक्त ह्यान्डलबाट ‘राजवंशी जस्तो प्रतिभाशाली खेलाडीहरूलाई सहयोग गर्नु उनीहरूको समर्पण र क्षमतालाई कदर गर्ने राम्रो तरिका हो’ भनेर मित्तललाई उत्तर दिइएको थियो ।
त्यसपछि ‘मसँग सम्पर्क गराउनु, म ब्याट सहयोग गर्छु’ भनेर मित्तलले लेखेका छन्। उक्त ह्यान्डलले राजवंशीलाई त्यो खबर पुर्याइसकेको र उनले चाँडै सम्पर्क गर्ने उत्तर दिइएको छ ।
मित्तल भारतको पिपल ग्रुपका संस्थापक हुन् । यस ग्रुपले भारतमा केही प्रसिद्ध प्रविधि कम्पनीहरू सञ्चालन गर्ने गर्छ । जसमा सादी, मकन, मोबाङ्गो जस्ता कम्पनी छन् । त्यस्तै ह्याकरअर्थ, इन्स्टा लाइभ्ली, इन्टरएक्टिभ एभेन्यूज जस्ता कम्पनीमा पनि उनकाे लगानी रहेको छ ।