काठमाडौं । चर्चित एआई टुल च्याटजीपीटी निर्माता ओपनएआईले यस वर्षको मध्यसम्मममा आफ्नो नयाँ मोडल जीपीटी-५ सार्वजनिक गर्ने भएको छ । आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (एजीआई) को चर्चा चलिरहँदा ओपनएआईले जीपीटी-५ सार्वजनिक गर्ने मिति नजिकिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिजनेस इन्साइडरले ओपनएआईको स्रोतलाई उदृत गर्दै अहिले केही सीमित व्यक्तिले जीपीटी-५ अनुभव गर्न पाएको उल्लेख गरेको छ । ती व्यक्तीहरूले जीपीटी-५ वास्तवमै धेरै राम्रो भएको भनेर बताएको बिजनेस इन्साइडरले लेखेको छ । साथै यस मोडेलले कम्पनीका विभिन्न काम स्वचालित रुपमा गर्न क्षमता राख्ने समेत बताएको इन्साइडरले जनाएको छ ।
जीपीटी-५ हाल ठ्याक्कै यही मितिमा सार्वजनिक हुने भनेर निश्चित भने भएको छैन । हाल कम्पनीले मोडेललाई तालिम दिइरहेको र तालिम पश्चात सुरक्षाको परीक्षण गरिने बताइएको छ । त्यसपछि मात्र ओपनएआईले यस मोडेललाई सार्वजनिक रुपमा उपलब्ध गराउने छ ।
तर हाल कहिलेसम्म तालिम र सुरक्षा परीक्षणको काम सक्ने भनेर खुलाइएको छैन । त्यसो हुँदा जीपीटी-५ सार्वजनिक हुने मिति धकेलिन भने सक्नेछ ।
कम्पनीले गत वर्ष मात्रै जीपीटी-४ सार्वजनिक गरेको थियो, जुन गति र शुद्धता दुवै हिसाबमा जीपीटी-३ भन्दा निकै उत्कृष्ट थियो ।